उत्तर काेरियाले अाफ्नाे भनार्इअनुसार परमाणु निसशस्त्रीकरणमा सम्पूर्ण काम गरिनसकेकाे भन्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले विदेशमन्त्री माइक पोम्पियोको उत्तरकाे भ्रमण तत्कालका लागि रद्द गरिदिएका छन् । राष्ट्रपति ट्रम्पको निर्देशनपछि उनको प्रस्तावित यात्रा रद्द भएको हो ।

अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत कोरियाली प्रायद्वीपले आफूलाई परमाणु हतियार मुक्त गर्ने दिशामा पर्याप्त अघि नबढाएको आरोप लगाएका छन् । यसका साथै उनले अमेरिका र चीनबीच व्यापारिक किचलो पैदा भएका कारण उत्तर कोरियामाथि पर्याप्त दबाब नबनाएको बताए ।
यद्यपी, जूनमा उत्तर कोरियाली नेता किम जोंग उनसँग सम्मेलनमा भाग लिएपछि ट्रम्पले उत्तर कोरियासँग कुनै परमाणु खतरा नभएको बताएका थिए ।तर त्यसपछि आएका रिपोर्ट अनुसार उत्तर कोरियाले आफ्नो परमाणु स्थललाई बन्द गरेका छैनन् ।
हालै एक अज्ञात अमेरिकी अधिकारीले वासिङ्टन पोष्टलाई दिएको जानकारी अनुसार उत्तर कोरियाले नयाँ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल तयार गरिरहेको छ ।
संयुक्त राष्ट्रको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम जारी राखेको बारे जानकारी दिएको छ । माइक पोम्पियो उत्तर कोरियाका लागि नियुक्त विशेष दूत स्टिफन बिगनसँग अर्को हप्ता उत्तर कोरिया भ्रमणमा जाने तयारीमा थिए ।
यो विदेशमन्त्रीको चौथो भ्रमण हुनेथियो । यद्यपी, किम जोंग उनसँग पोम्पियो भेट हुने कार्यक्रम थिएन । तर अब ट्रम्पले पोम्पियो उत्तर कोरिया नजाने बताइसकेका छन् ।
यसबारे गरिएका तीन ट्वीटमध्ये दोस्रोमा ट्रम्पले चीनलाई पनि निशाना बनाए । उनले भने, ‘व्यापारबारे हाम्रो कडा नीतिका कारण मलाई लाग्दैन कि चीन परमाणु हतियार मुक्त गर्ने दिशामा त्यसरी नै मद्दत गरिरहेको छ जसरी उसले पहिले गर्दै आएको थियो ।’
यद्यपी, दुई दिन अघि मात्र ट्रम्पले भनेका थिए कि ‘उत्तर कोरियाका लागि चीनले निकै सहयोगी भूमिका खेलिरहेको छ ।’
अब कहिले जालान् पोम्पियो ?
अमेरिकी राष्ट्रपतिले ट्वीट गरेका छन्, ‘पोम्पियोले निकट भविष्यमा उत्तर कोरिया जाने योजना बनाउन सक्छन् । शायद त्यतिबेला जब चीनसँग हाम्रो व्यापारिक सम्बन्ध सुल्झिनेछ । त्यतिबेला म अध्यक्ष किमलाई शुभकामनाा पठाउन चाहन्छु । उनीसँग चाँडै भेट हुँदा मलाई खुसी लाग्नेछ ।’
ट्रम्पले सिंगापुरमा किम जोंग उनसँग भेटेर आएपछि ट्वीटरमा लेखेका थिए, ‘उत्तर कोरियासँग अब कुनै परमाणु खतरा छैन । अब सबैले सुरक्षित महसुस गर्न सक्छन् ।’
तर सिंगापुरमा भएको प्रगतिविपरित ताजा स्थिती परिवर्तन भइरहेको देख्न सकिन्छ । सिंगापुर सम्मेलनदेखि अहिलेसम्म ट्रम्प र किमको सम्बन्धमा विभिन्न उतार–चढाव आएका छन् ।







