हालै सार्वजनिक भएको एक तथ्यांकले चिनियाँ नागरिकले हप्ताको औसत ४६ घन्टा काम गर्ने तथ्य देखाएको छ । चीनको हप्ताको औसत काम गर्ने समय अमेरिकाको भन्दा १० घन्टा बढी, बेलायतको भन्दा ९ घन्टा बढी र अस्ट्रेलियाको भन्दा ११ घन्टा बढी छ ।

चीनको ‘९९६’ श्रम नियमअनुसार चिनियाँ नागरिकले बिहान ९ बजेदेखि राति ९ बजेसम्म हप्ताको ६ दिन काम गर्नुपर्ने प्रावधान छ । चीनका प्रमुख कम्पनीमा यो नियम लागू भएको छ । निर्माण उद्योग, आवासीय सेवा, मर्मतसम्भार तथा अन्य सेवाको हकमा श्रमिकले हप्ताको ४९ घन्टादेखि झन्डै ५२ घन्टासम्म काम गर्नुपर्छ ।

विगत १० वर्षभित्र चिनियाँ कम्पनीले ठूलो फड्को मारेका छन् । तर, सफलता हात लागे पनि थोरै समय काम गर्दा हुन्छ भन्ने मानसिकता चिनियाँ नागरिकमा देखिएको छैन । आकर्षक आम्दानी तथा घरेलु अर्थतन्त्रका लागि मात्र चिनियाँ बढी काम गरिरहेका छैनन् ।

बढी काम गर्नुपर्छ भन्ने सोच चिनियाँ नागरिकको मानसिकतामा बसिसकेको छ र श्रम यहाँको संस्कृति नै बनिसकेको छ । अहिले चीनको समग्र जीवन गुणस्तरमा सुधार आएको छ । तर, चिनियाँका लागि अझै पनि आराम गरेर रमाइलो गर्ने समय आएको छैन । सीमित स्रोतमाथि व्यापक जनसंख्या निर्भर रहनुपरेकाले अझै पनि चीन दबाबमा छ ।

यसैगरी, चीनका लागि प्रतिस्पर्धा प्रमुख चुनौती हो । सम्पन्न बन्दै जाँदा आफूसँग भएको साख गुम्ने डरले चिनियाँ नागरिकलाई सताउँछ । कडा परिश्रमले असुरक्षाको अनुभूतिबाट मुक्त हुन मद्दत गर्छ भन्ने विश्वास उनीहरूमा छ ।

चिनियाँ नागरिकको दैनिकीलाई नजिकबाट नियाल्ने हो भने उनीहरू किन आराम गर्दैनन् भन्ने बुझ्न गाह्रो हुँदैन । चिनियाँ नागरिकको मस्तिष्कमा सानै उमेरदेखि असुरक्षित भविष्यको आभास र प्रतिस्पर्धासम्बन्धी चेतना भरिएको हुन्छ । चिनियाँ अभिभावकले आफ्ना छोराछोरीलाई सानै उमेरबाट कुनै पनि प्रतिस्पर्धा हार्न नहुने पाठ सिकाउँछन् ।

विद्यालयको पढाइ सकिएपछि पनि उनीहरूलाई विभिन्न थप सीपमूलक कक्षामा पठाइन्छ । बिदाको समयमा पनि चिनियाँ बालबालिकाले रमाइलो गर्न पाउँदैनन् । कक्षाको अर्को साथीले धेरै मिहिनेत गरिरहेको भनी आफ्ना छोराछोरीलाई थप परिश्रमका लागि अभिभावकले बारम्बार सम्झाइरहेका हुन्छन् । विश्वविद्यालय शिक्षा पूरा नहुँदै विद्यार्थी कामको खोजीमा लाग्छन् । आमाबुबालाई आर्थिक भार नपरोस् भन्नेमा उनीहरू सचेत हुन्छन् ।

कन्फ्युसियन मूल्यमान्यता तथा सहयोगी चिनियाँ संस्कृतिले पनि चिनियाँलाई मिहिनेती बन्न सिकाएको छ । परिवारको कल्याण हुन्छ भने व्यक्तिगत त्याग गर्नुपर्छ भन्ने संस्कृति चिनियाँमा छ । कडा मिहिनेत गर्ने मानिसलाई मात्र स्वर्ग प्राप्त हुन्छ भन्ने विश्वास चिनियाँले गर्छन् ।

अल्छीपनालाई चीनमा अपराधका रूपमा लिइन्छ । समय बर्बाद गर्नाले मानिसको दृढ क्षमतामा कमी आउने धारणा उनीहरूको छ । कडा परिश्रम गर्नुपर्छ भन्ने धरणा चीनमा धार्मिक मान्यताजस्तै बनिसकेको छ ।

लेखक चिनियाँ पत्रकार हुन्, ग्लोबल टाइम्सबाट नयाँ पत्रिकाले गरेकाे अनुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार