यसैसाता रुसमा आयोजित सैन्य खेलमा चिनियाँ सैनिकहरु पनि हजारौँका सङ्ख्यामा सहभागी भएका थिए जसकारण सो अभ्यासलाई सोभियत युगपछिकै सबैभन्दा ठूलो सैन्य खेल बताइएको सीएनएनले जनाएको छ ।

यस्तोमा चीन र रुसबीचको सहकारिता प्रभावशाली साबित भइरहँदा युरोपेली लगायत उत्तर अमेरिकी सेनाको गठबन्धन, नाटोलाई भने ठूलो चुनौतीको आभास भइरहेको बताइएको हो । तर उता चिनियाँ ट्याङकको सहयोगमा आधुनिक रुसी टी–९० हरु लामबद्ध भएर हवाइ हमला गरेको दृश्य, राष्ट्रपति भलाद्मीर पुटिनले भने निकै गर्वसाथ अवलोकन गरेका छन् ।

रुसले हरेक वर्ष यस्तै प्रकारको सैन्य अभ्यास आयोजना गर्ने गरेपनि बिहिबारको कार्यक्रमलाई भने यसअघिको तुलनामा धेरै भव्य मानिएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार सो अभ्यासमा तीन लाख भन्दा बढी रुसी सैनिकहरु समावेश गराइएको थियो । त्यसैले यसबारे पश्चिमी राष्ट्रहरुले आपत्ति जनाइरहँदा पुटिनले  चाहिँ रुस शान्तिप्रेमी देश रहेको तर आफ्नो सुरक्षाका निम्ति भने सधैँ तयारी अवस्थामा रहन चाहेको उल्लेख गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मातृभूमी प्रतिको हाम्रो जिम्मेवारी भनेको यसको सार्वभौमिकता जोगाउनु , राष्ट्रिय हित र सुरक्षा कायम राख्नु अनि आवश्यक परिस्थितिमा मित्रराष्ट्रहरुलाई सहयोग गर्नु हो । त्यसैकारण हामीले सधैँ हाम्रो सैन्य क्षेत्रलाई शक्तिशाली बनाइ राख्नुपर्छ र नयाँ युगका हतियार र प्रविधिहरु उपलब्ध गराइ अन्तराष्ट्रिय सैन्य सहकारिता अपनाउनुपर्छ । ’

रुसले यस प्रकारको सैन्य कार्यक्रम सञ्चालन गर्दैगर्दा नाटो संगठन अन्र्तगत पश्चिमी राष्ट्रहरुले भने गम्भीर चिन्ता व्यक्त गरेका हुन् । गत वर्षको सैन्य अभ्यास पनि पश्चिमलाई केन्द्रित गरि आयोजना गरिएको आरोप लगाइएको थियो । त्यसकारण यसपटक चीनसँगको संगठनमा सम्पन्न हवाइ, समुद्री र भूमीगत् सैन्य अभ्यासहरु पनि पश्चिम विरुद्ध रुसको कुनै रणनीति हुन सक्ने बताइएको हो ।

सो अभ्यास कुनैपनि राष्ट्रसँग आबद्ध नभएको स्पष्ट पारिएपनि पश्चिमले यसलाई खतराको संकेत मान्दै आएको छ । कुनै समय चीनलाई विरोधी मान्ने गरेपनि अहिले भने रुसले बेइजिङलाई अलगै नजरले हेर्ने गरेको छ । त्यसैगरी पुटिन र राष्ट्रपति जिङपिङबीचको नजिकिँदो सम्बन्धका कारण पनि केही वर्ष यता यी दुईबीच चुपचाप सैन्य सहकारिता र कारोबार भइरहेको बताइएको छ । त्यसमाथि पनि पश्चिमसँग विवाद चलिरहेकै बेलामा यिनले एस–३०० र एस–४०० प्रतिरक्षात्मक प्रणालीलाई पनि समावेश गरेका हुन् जसबारे अमेरिका र नाटोल असन्तुष्टि जनाइरहेका छन् ।

चीनले भने यो कार्यक्रम मार्फत रुसी सेनाबाट प्रशिक्षण लिने प्रयास मात्र गरेको बताएको छ । रुसी सेनासँगको सहकार्यले चिनियाँ सैनिकहरुलाई मूल्यवान् अनुभव प्रदान गरिरहेको चिनियाँ जर्नेल शाओ युआनमिङले बताएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार