Koreas Summit

सिओल। दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन्।

उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति सिधा उडानबाट प्योङयाङ पुगेका हुन् । उत्तर काेरियाली नेता किमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गरेका थिए। दक्षिण कोरियाली नेतालाई स्वागत गर्न किम आफैं विमानस्थल पुगेका थिए।

सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न उभिएका सर्वसाधारणले उत्तर कोरियाली झण्डाका साथै कोरियाली एकीकरणको सङ्केतमूलक झण्डा फहराएका थिए। दक्षिण कोरियाको झण्डा भने यहाँ फहराइएको थिएन।

माथिल्लो भाग खुला रहेको मोटरकारबाट दुबै नेताले सर्वसाधारणको अभिवादनलाई स्वागत गरेका थिए। दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो। यसअघि सन् २००० मा कीम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गरेका थिए।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले दुबै नेताबीचको शिखर बैठक इतिहासमै नयाँ उचाइमा पुगेको अन्तर–कोरियाली सम्बन्धलाई थप तिब्र पार्न महत्वपूर्ण अवसर हुने बताएको छ।

यसअघि सीमावर्ती असैनिक क्षेत्रमा यसै वर्षको अप्रिल र मे महिनामा दुई पटक दुई कोरियाली नेताको भेटवार्ता भइसकेको छ।

North Korea Koreas Summit

दक्षिण कोरियाली राष्ट्रपतिकै प्रयासमा उत्तर कोरियाली नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो। उक्त बैठकमा कोरियाली द्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्न उत्तर कोरियाले प्रतिबद्धता जनाएको थियो।

तर पछिल्ला दिनमा उत्तर कोरियाले प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिकाले थप वार्ता र भेटघाटमा कमी ल्याएको छ।

संयुक्तराज्य अमेरिकाले हाल उत्तर कोरियामाथि यथार्थपरक आणविक निःशस्त्रीकरणका लागि दबाब दिइआएको छ। उत्तर कोरियाले भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गर्नुपर्ने बताउँदै आएको छ।

अमेरिकी नेतृत्वको आर्थिक नाकाबन्दीका कारण चरम सङ्कट झेलिरहेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरण गर्ने विषय मात्र स्वीकार्य नहुने जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली नेताले उत्तरसँग यसअघि भएका सहमतिको पूर्ण कार्यान्वयनका सम्बन्धमा थप विचारविमर्श गर्ने अपेक्षा गरेका छन्।

भिडियाे –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार