दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन प्योङयोङ भ्रमणमा जानुका पछाडि राजनीतिक एजेन्डा त छँदै छ तर यसैबीच उनले आफ्नो व्यक्तिगत जिम्मेवारी पनि पूरा गर्ने प्रयास गरिरहेका छन् ।

वास्तवमा कोरियाली युद्धको समयमा उत्तर कोरियाबाट भाग्न सफल लाखौँ जनतामध्ये मुन पनि एक हुन् । उनका बुवाआमा उत्तर कोरियाका मूलवासी भएकाले उनको जन्म एक शरणार्थी शिविरमा भएको थियो । त्यसबेला अमेरिकाले हङनममा गरेको सबैभन्दा ठूलो उद्धार कार्यमा उनी आफ्ना आमाबाबु र सानीआमाका साथ भागेका थिए । तर उनकी सानीआमा भने जहाज चढ्न असफल भएका कारण उत्तर कोरियामै छाडिन पुगिन् ।
यसपछि २००४ मा आयोजित अन्तर कोरियाली परिवार एकीकरण कार्यक्रममार्फत मुन आफ्नी आमाका साथ तिनलाई भेट्न पहिलोचोटी उत्तर कोरिया गएका थिए । त्यतिबेला उनी राष्ट्रपतिका सामाजिक तथा नागरिक मामिला सम्बन्धि वरिष्ठ सचिव थिए । त्यसैकारण यस व्यक्तिगत अनुभवले पनि राष्ट्रपति मुनलाई उत्तर कोरियासँगको युद्ध अन्त्य गरि सम्बन्ध अघि बढाउन प्रेरणा दिइरहेको बताइन्छ । यस्तोमा उनले आमाबाबुको मूलभूमिमै अन्त्येष्टि गर्ने इच्छा पूरा गर्नकै लागि भएपनि आफ्नो प्रयास जारी राखिहेका छन् जसप्रति उनका आमाबाबु लगायत हजारौँ वृद्धहरुले गर्व गरिरहेको बताइएको छ ।
उता मंगलबार पहिलो औपचारिक भ्रमणमा प्योङयोङ पुग्दा विमानस्थलमा मुनको स्वागतका लागि किम र पत्नी रि सोल्जुका साथै हजारौँ उत्तर कोरियाली वासिन्दा पनि फूलसहित उपस्थित थिए । उनीहरुले ठूलो स्वरमा एकिकृत कोरियाको गीत गाइरहेका थिए । यसै अवसरमा उत्तरले उनको सम्मानमा भव्य परेडको पनि आयोजना गरेको हो । राजनीतिक रणनीतिका साथै व्यक्तिगत सपना पूरा गरिरहेका मुनको प्रयासबारे यसअघि पनि विश्वव्यापी प्रशंसा भइसकेको छ ।
त्यस्तै यस तेस्रो सम्मेलनमा भने उनले आणविक निश्स्त्रीकरण सम्बन्धी अवरुद्ध हुन पुगेको सम्झौताबारे छलफल गर्ने र वासिङटनसँगको समस्या पनि समाधान गर्ने बताएका छन् । ११ वर्षपछि पहिलोपटक यसरी दक्षिण कोरियाली प्रमुखले उत्तर कोरियाली भूमी प्रवेश गर्दैगर्दा विमानस्थल पुगेका किमले उनलाई अंगालो हाल्दै ठूलो मुस्कानका साथ न्यानो स्वागत गरेका हुन् । तरपनि औपचारिक रुपमा कोरियाली युद्ध अन्त्य गराउन भने मुनले अझै थुप्रै चुनौतिहरुको सामना गर्नुपर्ने बताइएको छ ।
यसअघि पहिलोपटक दुई कोरियाली प्रमुखबीच प्रत्यक्ष वार्ता हुँदा त्यही भेटलाई नै धेरै ठूलो उपलब्धिका रुपमा लिइएको थियो तर यसपटकको बैठकमा भने मुनमाथि किमलाई पूर्ण निशस्त्रीकरणका लागि सहमत गराउन ठूलो दबाब रहेको छ ।







