
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका नभएको भए विश्वयुद्धमा फ्रान्स ध्वस्त हुने बताएका छन्। अमेरिकी सेना र हतियारले फ्रान्सले युद्ध जितेको पनि उनले स्मरण गराए।
फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले युरोपले आफ्नो सेना बनाउनुपर्ने बताउँदै आएका छन्। युरोप अमेरिकी सेनामा भर पर्नु उचित नभएको उनको भनाइ थियो।
माक्रोँले चीन, रूस र अमेरिकाको साइबर खतराबाट बचाउन युरोपको आफ्नै टोली हुनुपर्नेमा जोड दिएका थिए। राष्ट्रपति ट्रम्पले भने युरोपको रक्षा अमेरिकाले गर्दै आएकाले उसकै हतियार किन्नुपर्ने दाबी गरेका थिए।
ट्रम्पले ट्विट गर्दै भने, ‘माक्रोँले अमेरिका, चीन र रूसका विरुद्ध युरोपको रक्षाका लागि आफ्नै सेना बनाउने बताउँदै आएका छन्। प्रथम र द्वितीय विश्वयुद्धमा जर्मनीबाट भीषण आक्रमण भएको थियो। त्यतिबेला अमेरिकी सेना युरोप आउनुअघि उनीहरू पेरिसमा जर्मन सिक्दै थिए।’







