
पोङयाङ: उत्तर कोरियाली नेता किम जोङ उनले निशस्त्रिकरण प्रक्रिया पुरा गर्ने प्रतिबद्धता पुन: व्यक्त गरेका छन्। तर, अमेरिकाले आफ्नो राष्ट्रमाथि आर्थिक प्रतिबन्धहरु लगाइरहे आफूले केही वैकल्पिक उपाय खोज्ने बताए।
नयाँ वर्षको उपलक्ष्यमा सन्देश दिँदै उनले ,’अमेरिकाले आफूहरुको धेर्यतामाथि प्रहार गरिरहे र विश्वसामु गरेको प्रतिबद्धता पुरा नगरे आफ्नो राष्ट्रको सार्वभौम सत्ताको रक्षा गर्न नयाँ विकल्प खोज्ने बाध्य हुनेछु’ भन्दै चेतावनी दिएका हुन्। करिब ३० मिनेटको टेलिभिजन सन्देशमा उनले वासिङ्टनले प्रतिबन्धहरु हटाएमा छिट्टै निशस्त्रिकरण प्रक्रिया टुंगिने बताए।
जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच भएको ऐतिहासिक वार्तामा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रिकरण गर्ने सहमति भएको थियो। यस्तै अमेरिकाले पनि उत्तरमाथि लगाउँदै आएको प्रतिबन्धहरु फुकुवा गर्ने बताएको थियो। तर वार्तापछि दुई देशले एकअर्काले सहमति कार्यान्वयन गर्न नखोजेको आरोप लगाउँदै आएका छन्।
ट्रम्प र किमबीच सन् २०१९ को सुरुवातमा दोस्रो वार्ता हुने तयारी भइरहेको जनाइएको छ।







