भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो नागरिक सेना (सिभिल मिलेसिया) मा १० लाख जना भर्ना गर्न चाहेको बताएका छन् । राष्ट्रपति मदुरोले यसै वर्षको अन्त्यसम्ममा सो संख्या थप्ने योजना शनिबार सार्वजनिक गरेका हुन् । मदुरोको आह्वानलाई विपक्षी नेता हुवाँ गुएइदोले विरोध गरेका छन् । राष्ट्रपति मदुरोलाई समर्थन गर्न केही वर्षअघि नागरिक सेना गठन गरिएको थियो । अहिले सो संख्या २० लाखभन्दा बढी छ ।

किन मिलिसिया थप्ने घोषणा गरे मदुरोले ?
भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले सरकारी सेनालाई राष्ट्रपतिलाई समर्थन नगर्न अनुरोध गरिरहेका वेला मदुरोको पछिल्लो घोषणा आएको हो । अहिलेसम्म भेनेजुएलाको सेना राष्ट्रपतिप्रति बफादार छ । उसले मदुरोलाई नै समर्थन गर्ने बारम्बार प्रतिबद्धता जनाउँदै आएको छ । तर, सेनाका केही उच्च अधिकारीले विद्रोह गरेर गुएइदोको समर्थन गरेका छन् ।

उनीहरूमध्ये केहीलाई कैद गरिएको छ भने केहीलाई निर्वासनमा जान बाध्य पारिएको छ । गुएइदोले २३ जनवरीमा आफूलाई सडकबाटै अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । मदुरो गत जनवरीमा भएको राष्ट्रपति निर्वाचनमा पुनः निर्वाचित भएका थिए । तर, विपक्षीले बहिष्कार गरेको निर्वाचनलाई अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन । विपक्षीले मदुरोले तत्काल राजीनामा दिएर नयाँ निर्वाचन मिति तोक्नुपर्ने माग गर्दै आएको छ, जसलाई राष्ट्रपतिले अस्विकार गर्दै आएका छन् ।

मदुरोले आफूलाई राजनीतिक र शारीरिक रूपमा सुरक्षित गर्न नागरिक सेनाको संख्या वृद्धिको आह्वान गरेको बिबिसीले टिप्पणी गरेको छ । हातमा हतियारसहित रहने नागरिक सेनाले शान्ति, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, स्वतन्त्रता र मातृभूमिको रक्षा गर्ने मदुरोले दाबी गरे । तर, उनले अहिले रहेका २० लाख नागरिक सेनालाई कृषिमा आबद्ध हुन आह्वान गरेका छन् । भेनेजुएलामा निरन्तर आर्थिक संकट चुलिएको र खाद्यान्न अभाव भएको भन्दै उनले ती सेनालाई कृषिमा लाग्न आह्वान गरे ।

‘काँधमा राइफल बोकेर आफ्नो मातृभूमिको रक्षा गर्न तयार हुनुहोस् र समुदायका लागि खाद्यान्न उत्पादन गर्न कृषिकर्ममा लाग्नुहोस्,’ राजधानी काराकसमा मिलिसियालाई सम्बोधन गर्दै मदुरोले भने ।

मदुरो र गुएइदो किन द्वन्द्वमा ?
दुवैले आफूलाई भेनेजुएलाको संवैधानिक राष्ट्रपति भएको दाबी गर्दै आएका छन् । गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि सर्वोच्च अदालतले उनको सम्पत्ति रोक्का गर्नुका साथै विदेश भ्रमणमा प्रतिबन्ध लगाएको थियो । तर, ३५ वर्षीय गुएइदोले आफूमाथि लागेको प्रतिबन्ध बेवास्ता गर्दै गत महिना ल्याटिन अमेरिकी मुलुकको भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले ती देशको समर्थन जुटाउने प्रयास गरेका थिए । गुएइदोले राष्ट्रपति निकोलस मदुरोको राजीनामा माग गर्दै सेनालाई मदुरोको समर्थन नगर्न बारम्बार आह्वान गरेका छन् ।

सत्ताका लागि शक्ति संघर्ष
भेनेजुएलामा अहिले सत्ताका लागि संघर्ष भएको छ । मदुरोले आफू नै वैधानिक राष्ट्रपति भएको बताएका छन् भने गुएइदोले वास्तविक राष्ट्रपति आफू भएको दाबी गरेका छन् । अमेरिकालगायत अन्य देशले गुएइदोलाई नै समर्थन गरेका छन् । आफूले विश्वका शक्तिराष्ट्रको समर्थन प्राप्त गरेको उनको भनाइ छ । गुएइदोले एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारी देशभित्र मानवीय सहायता भित्र्याउन गरेको प्रयासलाई गत महिना मदुरोले विफल पारिदिएका थिए

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार