
भारतीय माओवादीको हमलामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । भारतको महाराष्ट्रमा भएको हमलाका एक घाइतेको सुरक्षाकर्मीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो ।
मे १ तारिखका दिन भारतको माहाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा माओवादी जनमुक्ति छापामार सेनाको एम्बुसमा परेर भारतीय अर्धसैनिक कमान्डो फोर्स-६० का १५ जनासहित गाडीको ड्राइभरको मृत्यु भएको हो ।
भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार माओवादी सेनाले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराएका थिए । दिउँसो पौने १ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ ।
राजमार्गमा थापिएको विद्युतिय धरापमा सुरक्षाकर्मी परेका थिए । घटनास्थमलमा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने एक दर्जन घाइते भएका थिए ।
बिस्फोटपछि दोहोरो गोली हानाहान भएको घटनामा माओवादी कुनै क्षति नभेटिएको बताइएको छ । केही सुरक्षाकर्मीको अवस्था अझै चिन्ताजनक भएकोले मृतकको संख्या बढ्ने देखिन्छ ।
भारतमा भइरहेको लोकसभाको चुनाव बहिस्कारमा रहेको माओवादीले यसअघि पनि उडिसालगायत क्षेत्रमा सुरक्षाकर्मीमाथि हमला गरेका थिए ।







