
भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोले निरन्तर हडताल र विरोध प्रदर्शनको आह्वान गरेका छन्।
विपक्षी समर्थक प्रदर्शनकारीहरूले सरकारी फौजसँग हिंसात्मक झडपहरू भएको भोलिपल्ट बुधवार पुन: ठूला प्रदर्शन जारी राखे।
साथै सरकार समर्थकहरूले पनि प्रदर्शन गरेका छन्।
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह विफल पारिएको दाबी गरेका थिए।
राष्ट्रपति मदुरोले आफ्ना समर्थकलाई सडकमा भेला भएर विपक्षीको प्रतिकार गर्न आह्वान गरेपछि दुई पक्षबीच तनाव चर्किएको हो।
विपक्षी नेता ग्वाइदोले आफूलाई सेनाले समर्थन गरेको बताएका छन् मदुरोले भने फौजको समर्थन आफूलाई भएको दाबी गरेका छन्।
तस्वीर कपीराइटAFP/GETTYग्वाइदोले अब राष्ट्रपति निकोलास मदुरोलाई सत्ताबाट नहटाउन्जेल शृङ्खलाबद्ध तथा निरन्तर हडतालको आह्वान गरेका छन्।
सैन्य विद्रोह गराउने उनको योजना विफल भएको भोलिपल्ट भेला भएका हजारौँ प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै उनले अबको चरणमा सरकारी कर्मचारी हडतालमा सामेल हुने बताए।
तर हालसम्म ग्वाइदोका आह्वानले मदुरो सरकार अपदस्थ पार्न सकेको छैन।ग्वाइदोले जेनुअरीमा आफैँलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।
उनको घोषणालाई अमेरिका, ब्रिटेन तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित ५० भन्दा धेरै राष्ट्रले समर्थन गरेका छन्।
तर मदुरोलाई भने रुस, चीन एवं सेनाका वरिष्ठ नेतृत्वको समर्थन प्राप्त छ।मदुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्छन्।
तस्वीर कपीराइटAFPग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रप्रमुख घोषणा गरेसँगै उनको सम्पत्ति रोक्का गरिनुका साथै देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो।
तर त्यसलाई उल्लङ्घन गर्दै मानवीय सहायता भित्र्याउने तथा मदुरोविरुद्धको आन्दोलनका लागि समर्थन जुटाउने उद्देश्य लिएर ग्वाइदो फेब्रुअरी महिनामा ल्याटिन अमेरिकी देशको भ्रमणमा गएका थिए।
तस्वीर कपीराइटAFPउनी पक्राउ पर्नसक्ने जोखिममाझ मार्च महिनाको पहिलो साता स्वदेश फर्किए।
ग्वाइदो स्वदेश फर्कनुअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै मदुरो प्रशासनलाई सचेत गराएका थिए।
चरम आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलामा राजनीतिक सङ्कट पनि थपियो।
केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले हुवान गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि त्यहाँको राजनीतिक सङ्कट झन् जटिल बनेको हो।
ह्युगो चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो।तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ।
चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्।
राष्ट्रपति मदुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए। तर भेनेजुएलाका सैन्य फौजले मदुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका थिए।
तस्वीर कपीराइटGETTY IMAGESभेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख गुआइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन्।
मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्। विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप उनले लगाएका छन्।
उनले देशमा गृहयुद्ध हुन सक्ने चेतावनी उनले दिने गरेका छन्।
राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार केही महिनाअघि भेनेजुएलामा सङ्कट चुलिएपछि लाखौँ मानिसहरूले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको थिए।
तस्वीर कपीराइटREUTERSत्यहाँको महँगी धेरै गुणा बढेको छ।
त्यसैले पेट्रोलियम पदार्थमा धनी देश भएर पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।







