पनामा सिटी, २३ वैशाख (एएफपी) । मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

पनामाको निर्वाचन ट्रिब्युनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम घोषणा गर्न बाँकी रहेको जनाएको छ ।

सोसल डेमोक्रेट पार्टीका कोर्टिजोले संवाददाताहरूसँग कुरा गर्दै चुनावी परिणामबाट आफू निकै खुसी रहेको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि सबै पक्षको सकारात्मक सहयोग र एकता आवश्यक रहेको पनि बताउनुभयो ।

चुनावी मतसर्वेक्षणमा पनि कोर्टिजोले नै राष्ट्रपति पदमा निर्वाचित हुने देखाएका थिए । कोर्टिजोका अर्का प्रमुख प्रत्याशीमा पूर्व विदेशमन्त्री एवं डेमोक्रेटिक चेन्ज पार्टीका अध्यक्ष रोमुलो रोउक्स हुनुहुन्थ्यो । चुनावी मतगणनामा स्वतन्त्र प्रत्यासी रिकार्डो लोम्बानाले पनि निकै राम्रो मत पाउनुभएको थियो ।

चुनाव ट्रिब्युनलका अनुसार करिब ९१ प्रतिशत मतगणना सकिँदा कोर्टिजोले ३३ प्रतिशत र रोउक्सले ३१ तथा लोम्बानाले २० प्रतिशत मत पाउनुभएको छ ।

चुनावमा विजयीले राष्ट्रपति हुँवा कार्लोस भारेलालाई विस्थापन गर्नेछन् । पनामाको संविधानमा पाँच वर्षका लागि एक कार्यकालमात्र राष्ट्रपति हुन पाइन्छ । ६६ वर्षीय कोर्टिजो पूर्व कृषिमन्त्री हुनुहुन्छ । ‘निटो’ उपनामले बोलाइने कोर्टिजोले पनामाको उद्धार गरी रुपान्तरण गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

भ्रष्टाचार, हत्याहिंसाजस्ता समस्याबाट पनामा वर्षौंदेखि आक्रान्त छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार