
चीनले हङकङमा प्रस्तावित सुपुर्दगीसम्बन्धी कानुनको विरोधमा आइतबार गरिएको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको दाबी गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले विदेशी शक्तिले चीनमाथि प्रहार गर्न हङकङमा विध्वंश निम्त्याउने प्रयास गरेको दाबी गरेको छ ।
चिनियाँ भाषाको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले लेखेको छ, ‘यो निश्चित छ कि केही अन्तर्राष्ट्रिय शक्तिले पछिल्ला महिनामा हङकङसँगको अन्तरक्रिया बढाउँदै लगेका छन् ।’ अखबारको सम्पादकीयमा हङकङका विपक्षी नेता र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो तथा सभामुख नान्सी पेलोसीबीचको भेटवार्तालाई समेत उल्लेख गरिएको छ । त्यसैगरी अंग्रेजी भाषाको अखबार ‘चाइना डेली’ ले पनि कानुनको समर्थन गरेको छ ।
प्रस्तावित कानुनअनुसार चीनले हङकङस्थित राजनीतिक विपक्षीलाई निसाना बनाउने भन्दै सर्वसाधारणहरू विरोधमा उत्रेका हुन् । प्रदर्शनमा व्यवसायी, कानुनका विद्यार्थी, धार्मिक समूह र प्रजातन्त्र पक्षधरहरूको सहभागिता थियो ।
सहरका कतिपय स्थानमा सोमबार बिहानैदेखि नै विरोध प्रदर्शन जारी छ । प्रदर्शनकारीलाई भगाउन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको समाचार संस्था एएफपीले जनाएको छ । कतिपय प्रदर्शनकारीलाई प्रहरीले लछारपछार पारेको सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा दृश्यहरूमा देखिएको छ ।







