वालमार्ट इङ्क, टार्गेट कोर्प लगायत छ सय भन्दा बढी अमेरिकी कम्पनीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आग्रह गर्दै चिठी लेखेका छन् ।
ट्रम्पले पछिल्लो समय चिनियाँ वस्तुहरुमाथि वृद्धि गरेको आयात करले अमेरिकी व्यवसाय र उपभोक्ताहरुलाई गम्भीर असर पारिरहेको भन्दै बिहिबार उनीहरुले ट्रम्पलाई सो पत्र लेखेका हुन् ।
यसरी ट्रम्पको व्यापार नीतिबाट प्रभावित थुप्रै कम्पनीहरुले प्रशासनलाई पत्र लेखिसकेका छन् । ट्रम्पले जारी गरेको ट्यारिफविरुद्ध चलाइएको राष्ट्रिय अभियानलाई खेती, उत्पादन, रिटेल र प्राविधिक कम्पनीहरुको प्रतिनिधित्व गर्ने १५० भन्दा बढी व्यापार समूहले समर्थन गरिसकेका छन् ।
तर अमेरिका र चीनबीच जारी व्यापारिक तनाव राष्ट्रपति जिनपिङ र ट्रम्पबीच हुने भेटवार्ता अगाडि समाधान नहुने संकेत देखिएको छ । दुवै प्रमुखहरु आगामी जुन २८ – २९ मा जापानको ओसाकामा हुने जी–२० सम्मेलनमा सहभागी हुँदैछन् जसमा सबै चिनियाँ वस्तुको मूल्य वृद्धि गर्ने वा नगर्ने सम्बन्धी अन्तिम निर्णय लिइने बताइएको छ । यस्तोमा सम्मेलनको मिति नजिकिँदै जाँदा व्यापारिक विवादमा सुधार आउने सम्भावना पनि कम हुँदै गइरहेको हो । संचार एजेन्सी रोयटर्सलाई श्रोतले जनाए अनुसार विश्व अर्थतन्त्र नै दाउमा भएपनि अमेरिकाका तर्फबाट उक्त बैठकका लागि एकदम थोरै तयारी भइरहेको छ ।
बिहिबार ट्रम्प प्रशासनलाई बुझाइएको पत्रम लेखिएको छ, ‘ जस्तालाई त्यस्तै जवाफ दिने किसिमले अघि बढिरहेको व्यापार युद्धप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ । वास्तवमा विस्तृत रुपमा सबै सामग्रीमाथि बढाइएको अतिरिक्त शुल्क चीनको अन्यायपूर्ण व्यापार नीति बदल्ने प्रभावकारी होइन । किनकी ट्यारिफ भनेको त्यो कर हो जुन चीनले होइन प्रत्यक्ष रुपमा अमेरिकी कम्पनीहरुले तिर्नुपर्ने हुन्छ । ’ ह्वाइटहाउसले भने तत्काल यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
अमेरिकाको सबैभन्दा ठूलो नीजी क्षेत्रको नियोक्ता र रिटेलर वालमार्टले समेत यसअघि ट्यारिफले अमेरिकी उपभोक्ताहरुका लागि मूल्य बढाउने गुनासो गर्दै आएको छ । त्यस्तै यता पत्रमा पनि तीन अर्ब आयतित वस्तुहरुमा अतिरिक्त २५ प्रतिशतले कर बढाउनुले अमेरिकामा २० लाख रोजगार हटाउन सक्ने भनिएको छ ।
साथै सो निर्णयले चारजनाको साधारण अमेरिकी परिवारको अतिरिक्त २ हजार डलर खर्च बढाउनेछ भने यता अमेरिकाको कुल घरेलु उत्पादन पनि १ प्रतिशतले घट्ने बताइएको छ । ‘त्यसैले ठूलो रुप लिँदै गएको व्यापार युद्ध कुनै देशको हितमा हुँदैन र यसमा दुवै पक्षले हार्नुपर्ने’ पत्रमा उल्लेख गरिएको छ ।







