चीनका राष्ट्रपति सी जिनपिङले चीनको साथ र सहयोग उत्तर कोरियासँग रहेको बताएका छन् । उत्तर कोरियाको राष्ट्रिय पत्रिका रोडोङ सिन्मुनमा प्रकाशित भएको ओप–एडमा राष्ट्रपति सीले उत्तर कोरियाको सही दिशाका लागि चीनको साथ रहने उल्लेख गरेका हुन् ।कोरियाली प्रायद्विपमा जारी तनाव राजनीतिक या कूटनीतिक रुपमा समाधान गर्नका लागि चीनले सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेका छन् ।उत्तर कोरियाको पहिलो राजकीय भ्रमणको तयारीमा रहेका चिनियाँ राष्ट्रपति सीको ओप–एड पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।राष्ट्रपति सी बिहीबार दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया जाँदैछन् । पछिल्लो १४ वर्षमा कुनै पनि चिनियाँ राष्ट्रपतिले गर्न लागेको यो पहिलो उत्तर कोरिया भ्रमण हो । सन् २०१२ मा सत्तामा आएका सीको यो पहिलो उत्तर कोरिया भ्रमण बन्दैछ ।
अमेरिका र उत्तर कोरियाबिचको वार्तामा अल्पविराम लागेका बेला हुन लागेको सीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसमाथि उनले ओप–एड मार्फत साथ र सहयोग रहने भन्नुलाई दुई देशबिचको सम्बन्धमा थप निकटता आएको रुपमा विश्लेषण गरिएको छ ।
जापानमा अर्को हप्ता हुने जी–ट्वेन्टी सम्मेलन पूर्व सीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । जापानमा हुने सम्मेलनमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने अपेक्षा छ ।







