बीबीसी : भारत–पाकिस्तान दुवैसँग १० वर्षयता पारमाणविक बमको संख्या त्यसबेलाभन्दा दोब्बरभन्दा पनि धेरै भइसकेको छ। र, केही वर्षयता भारतको तुलनामा पाकिस्तानले धेरै संख्यामा पारमाणविक बम बनाएको छ।
विश्वमा शस्त्रास्त्रको स्थिति विश्व सुरक्षाबारे विश्लेषण गर्ने स्विडेनी संस्था ‘स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट’ ले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनमा यो तथ्य उल्लेख छ।

इन्स्टिच्युटको परमाणु निःशस्त्रीकरण, शस्त्र नियन्त्रण र अप्रसार कार्यक्रम निर्देशक स्यानन काइलले बीबीसीसँग विश्वमा पारमाणविक शस्त्रको कुल उत्पादन घटेको तर दक्षिण एसियामा बढेको बताए।
‘सन् २००९ मा भारतसँग ६०–७० पारमाणविक बम रहेको हामीले बताएका थियौं’, उनले भने, ‘त्यसबेला पाकिस्तानसँग करिब ६० पारमाणविक बम थिए तर १० वर्षका दौरानमा दुवै देशले दोब्बरभन्दा बढी संख्यामा पारमाणविक बम बनाइसकेका छन्।’
काइलका अनुसार यतिबेला भने भारतभन्दा पनि पाकिस्तानसँग धेरै पारमाणविक बम छन्। अनेकौं स्रोतबाट प्राप्त जानकारीका आधारमा इन्स्टिच्युटले भारतसँग अहिले १३० देखि १४० पारमाणविक बम रहेको तर पाकिस्तानसँग भने १५० देखि १६० पारमाणविक बम रहेको आकलन गरेको उनले बताए।
भारत–पाकिस्तान तनाव यतिबेला उत्कर्षमा रहेकाले पनि दुवै देशले पारमाणविक बमको संख्या बढाएको संकेत गरेको उनको भनाइ छ। प्रत्यक्षतः दुवै देशबीच पारमाणविक शस्त्रको प्रतिस्पर्धा देखिँदैन जस्तो कि शीतयुद्धका बेला अमेरिका–रसियाबीच देखिएको थियो।
‘म यसलाई स्ट्राटेजिक आर्मी कम्पिटिसन (रणनीतिक सैन्य प्रतिस्पर्धा) वा रिवर्स मोसन न्युक्लियर आर्मी रेस (बदलिएको पारमाणविक सैन्य प्रतिस्पर्धा) भन्नु उचित ठान्छु’, उनले भने, ‘मलाई लाग्छ अहिलेको स्थितिमा तत्कालै कुनै परिवर्तन हुँदैन।’
पारमाणविक शस्त्र निर्माणमा खर्च कति ?
काइलका अनुसार भारत–पाकिस्तान दुवैले पारमाणविक शस्त्रास्त्र कार्यक्रमलाई आफ्नो बजेटको प्राथमिकतामा राख्ने गरेका छन्। तर उनीहरूले यस्ता शस्त्रास्त्र विकास कार्यक्रममा गर्ने खर्च रकम अनुमान गर्न कठिन रहेको उनी बताउँछन्।
‘यी कार्यक्रम सरकारका निकै ठूला कार्यक्रम हुन् र दुर्भाग्यवश यसबारे अत्यन्त न्यून जानकारी उपलब्ध हुने गरेको छ’, काइल भन्छन्, ‘तर त्यसबाट यी कार्यक्रममा उनीहरू कति रकम खर्च गरिरहेका छन् पत्ता लगाउन कठिन छ।’
पारमाणविक सुरक्षा र यस्ता शस्त्र सुरक्षित कसरी राखिन्छ भन्ने प्रश्नमा उनले दुवै देशका सरकारले यस्ता शस्त्र पूर्ण सुरक्षित रहेको दाबी गर्ने बताए। ‘उनीहरू यी पारमाणविक बम सुरक्षित राखिएको बताउँछन्’, उनले भने।
इन्स्टिच्युटको प्रतिवेदनले विश्वमा पारमाणविक बमको संख्या घटेको भए पनि पारमाणविक शस्त्र प्रणाली आधुनिकीकरण भने जारी नै रहेको उल्लेख छ। पहिलेको तुलनामा अमेरिका, रसिया र बेलायतका पारमाणविक शस्त्रको संख्या घटेको छ।
इन्स्टिच्युटका अनुसार अमेरिकासँग अहिले ६ हजार १ सय ८५ पारमाणविक बम छन् भने रसियासँग ६ हजार ६ सय। बेलायतसँग २ सय र फ्रान्ससँग ३ सय पारमाणविक बम छन्। चीनसँग २ सय ९० र इजरायलसँग ८०–९० पारमाणविक बम छन्। उत्तर कोरियाले २०–३० पारमाणविक बम बनाइसकेको अनुमान गरिएको छ।
सन् २०१९ मा कोसँग कति पारमाणविक बम छन् ?
अमेरिका : ६,१८५
रसिया : ६,५००
बेलायत : २००
फ्रान्स : ३००
चीन : २९०
भारत : १३०–१४०
पाकिस्तान : १५०–१६०
इजरायल : ८०–९०
उत्तर कोरिया : २०–३०







