
वरिष्ठ चिनियाँ राजनीतिज्ञले सोमबार बेइजिङको अन्तर्राष्ट्रिय फोरममा अमेरिकाले चीनलाई दुश्मन सरह व्यवहार गर्नु मूर्खता भएको उल्लेख गरेका छन् ।
उपविदेशमन्त्री लि युचेङले थाहा हुँदाहुँदै पनि वासिङ्टनले चीनसँगको समस्यालाई बढावा दिइरहे त्यसको अत्यन्तै भयानक परिणाम भोग्नुपर्ने भन्दै चेतावनी समेत दिएका हुन् ।
विश्व शान्ति फोरममा बोल्दै उनले थप भनेका हुन्, ‘आर्थिक असन्तुलन, धनी र गरिबीचको बढ्दो अन्तर, पुराना हुँदै गएका संरचना लगायत विषयका आफ्नै कारण छन् र यो सबै चीनले गर्दा भएको होइन । त्यसैले चीनलाई मात्र ‘बलि चढाइने बाख्रा’ का रुपमा हेर्न बन्द गरिनुपर्छ ।’ गत मे महिनादेखि दुई देशबीचको वार्ता एकअर्कामाथि आरोप लगाउने क्रममा अवरुद्ध भएको थियो । यस्तोमा जापानमा चिनियाँ राष्ट्रपति शि जिनपिङसँगको भेटवार्तापछि ट्रम्पले व्यापार युद्धलाई केही समयका लागि स्थगित गरेका हुन् । हाल दुवै पक्षबीचको वार्ता केही साम्य अवस्थामा पुगेको छ तर अझै बेइजिङ र वासिङटन अन्य विषयलाई लिएर तनावमा छन् ।
सोमबार मात्र ट्रम्प प्रशासनले ताइवानलाई २ अर्ब डलर बराबरका नयाँ हातियार बिक्री गर्ने कुरामा सहमति जनाएको हो जसको चिनियाँ सरकारले कडा प्रतिक्रिया दिने अपेक्षा गरिएको छ । किनकी यसअघि नै बेइजिङले वासिङटनको सो योजनाप्रति गम्भीर आपत्ति जनाइसकेको थियो ।
यसरी सोमबारको भाषणमा भने मन्त्री लिले अमेरिकाले जानिजानि चिनियाँ विद्यार्थीहरुको भिसा स्वीकृत गर्नमा ढिलाइ गरिरहेको आरोप पनि लगाएका हुन् । उनले भनेका छन्, ‘दुई देशबीचका मानिसको आवत्जावत्मा बाधा पुर्याइ एउटा जातिमाथि नै प्रहार गर्ने प्रयास अत्यन्तै अलोकप्रिय रणनीति हो । यता राष्ट्रपति ट्रम्पले भने जिनपिङसँगको भेटवार्तामा आफूले अझ धेरै चिनियाँ विद्यार्थी अमेरिकामा देख्न चाहेको बताएका थिए । सीएनएनबाट







