लगातारको प्रयासका बाबजुद पनि विश्वमा भोकमरीको समस्या बढ्दै गएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ ।
सन् २०१८ को तथ्यांक अनुसार विश्वमा ८२ करोड भन्दा बढी मानिस भोकमरीको चपेटामा परेको सोमबार सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ ।
दशकौँदेखि भोकमरीको चपेटामा पर्नेहरुको संख्यामा लगातार कमी हुँदै आएकोमा पछिल्लो तीन वर्षयता बढ्न थालेको हो ।
अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सार्वजनिक भएको ‘द स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वर्ल्ड २०१९’ अनुसार पछिल्लो तीन वर्षमा भोकमरीको औषत दरमा खासै परिवर्तन आएको छैन । हाल विश्वमा भोकमरीको दर ११ प्रतिशत भन्दा केही तल रहेको छ ।
तर सन् २०१७ को तुलनामा २०१८ मा कुल संख्यामा भने केही वृद्धि भएको छ । गएको वर्ष विश्वभर ८२ करोड १६ लाख मानिस भोकमरीमा परेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ मा यो संख्या ८१ करोड १७ लाख थियो । यस्तै सन् २०१६ मा ७९ करोड ६५ लाख र २०१५ मा ७८ करोड ५४ लाम मानिस भोकमरीबाट प्रभावित भएका थिए ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोष र विश्व खाद्य कार्यक्रमले संयुक्त रुपमा प्रतिवेदन तयार पारेका हुन् ।
सबैभन्दा बढी अफ्रिकी क्षेत्रमा भोकमरीको समस्या छ । सो क्षेत्रमा भोकमरीको औषत दर २० प्रतिशतले वृद्धि भएको छ । यस्तै ल्याटिन अमेरिका र क्यारबियन क्षेत्रमा भोकमरीको दर सात प्रतिशत भन्दा कम रहेको छ, तर बिस्तारै बढ्दो क्रममा देखिएको छ । दक्षिण एसियाका ११ प्रतिशत मानिस कुपोषणका चपेटामा देखिएका छन् । पछिल्लो पाँच वर्षमा दक्षिण एसियामा राम्रो प्रगति देखिएको भए पनि अझै पनि १५ प्रतिशत मानिस कुपोषणको समस्यामा छन् ।
मध्यम स्तरको आय भएका देशहरु विशेष गरी जहाँको आर्थिक वृद्धि सुस्त रहेको छ, ती देशमा भोकमरीको समस्या बढ्दो क्रममा देखिएको छ । यस्तै भोकमरी व्याप्त रहेका देशमा मानिसहरुको आयमा रहेको भिन्नता बढ्दै गएको देखिएको प्रतिवेदनमा उल्लेख छ । जसका कारण करिबहरुलाई थप समस्या हुने गरेको छ ।
संयुक्त राष्ट्रसंघका नेताहरुले भनेका छन्, ‘हामीले गरिब केन्द्रित र सहभागिता मुलक संरचनागत परिवर्तनमा ध्यान दिनु पर्ने भएको छ । मानिस र समुदायलाई केन्द्रमा राखेर आर्थिक जोखिम कम गर्नका लागि काम गर्नु पर्छ । भोकमरी अन्त्य गर्ने, खाद्य असुरक्षा हटाउने र सबै किसिमका कुपोषण अन्त्य गर्न तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने भएको छ ।’
विश्वका १७.२ प्रतिशत अर्थात एक अर्ब ३० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाको अवस्थामा रहेको देखिएको छ ।
भोकमरी बढे जस्तै मोटोपनको समस्या पनि बढ्दै गएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मोटोपनका कारण हुने समस्याले गर्दा विश्वमा हरेक वर्ष ४० लाख मानिसको ज्यान जाने गरेको उल्लेख छ । मोटोपनको समस्या सबै उमेर समूहका मानिसमा छ । तर स्कूले उमेरका बालबालिकामा यो समस्या तीव्र रहेको देखिएको छ ।







