अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच सोमबार भएको भेटवार्ताले भारतमा ठूलै झट्का उत्पन्न भएको  छ ।

भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले काश्मिर मामिलालाई लिएर आफूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यस्थताको प्रस्ताव राखेको बताएपछि नयाँ तरंग उत्पन्न भएको हो । सो कुराको भारतले भने खण्डन गरेको छ ।

सोमबार (नेपाली समय अनुसार गएराति) पाकिस्तानका प्रधानमन्त्रीसँग संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए,‘‘दुई हप्ता पहिला मेरो नरेन्द्र मोदीसँग कुराकानी भएको थियो । त्यतिबेला उहाँले मलाई के तपाईँ मध्यस्थता गर्न चाहनुहुन्छ भनेर सोध्नु भएको थियो । मैले सोधे कहाँ ? उहाँले भन्नुभयो– काश्मिरमा ।’’

पाकिस्तानका प्रधानमन्त्री खानसँगको वार्तापछि ट्रम्पले भारत र पाकिस्तानकाबीच दशकौंदेखि चलिरहेको काश्मिर विवादलाई मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए । ट्रम्पले भनेका थिए,‘‘यदि मैले मद्धत गर्नु सक्छु भने म मध्यस्थ बन्न तयार छु ।’’

तर, भारतले ट्रम्पको यो भनाइको खण्डन गर्दै मोदीले ट्रम्पलाई मध्यस्थताका लागि नभनेको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीशकुमारले ट्विट गर्दै भनेका छन्,‘‘हामीले राष्ट्रपति ट्रम्पको भनाई प्रेसमा देख्यौं । उहाँले यदि भारत र पाकिस्तान तयार छन् भने काश्मिर मुद्दामा मध्यस्थता गर्नको लागि तयार भएको बताउनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो कुनै माग राष्ट्रपति ट्रम्पसँग गर्नु भएको छैन ।’’

उनले भारतले लगातार पाकिस्तानसँग सबै मुद्दामा दुईपक्षीय वार्ता गर्ने भन्दै आएको जनाउँदै पाकिस्तानसँग कुनैपनि वार्ताको लागि भारतको शर्त सीमापार आतंकवाद बन्द होस् भन्ने रहेको जनाएका छन् ।

उनले शिमला सम्झौता र लाहौर घोषणापत्रले पाकिस्तान र भारतको बीचका सबै मुद्दालाई दुईपक्षीय समाधानको आधार प्रदान गरेको समेत जनाएका छन् ।

राष्ट्रपति ट्रम्पको यो भनाईका बारेमा भारतको विपक्षी कंग्रेस आइका तर्फबाट पनि प्रतिकृया आएको छ । कंग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले ट्विट गर्दै भनेका छन्,‘‘भारतले कहिले पनि जम्मु काश्मिरको मुद्दामा कुनै तेस्रो पक्षको मध्यस्थता स्वीकार गरेको छैन ।’’

उनले प्रधानमन्त्री मोदीले कुनैपनि विदेशी तागतसँग जम्मु काश्मिरमा मध्यस्थताको लागि आग्रह गर्नु देश हितका लागि विश्वासघात भएको र  मोदीले देशलाई जवाफ दिनु जरुरी रहेको जनाएका छन् ।

पाकिस्तानको स्वागत 

इमरान खानले भने काश्मीर मुद्धद्दामा मध्यस्थताका लागि राष्ट्रपति ट्रम्पको प्रस्तावको स्वागत गरेका छन् । खानले भनेका छन्,‘‘अमेरिका दुनियाको सबैभन्दा शक्तिशाली मुलुक हो । उसले हाम्रो  उपमहादिपमा शान्ति स्थापना गर्नको लागि महत्वपूर्ण भूमिका निभाउन सक्छ ।

काश्मिरको स्थितिका कारण एक अर्ब भन्दा बढी मानिस समस्यामा छन् । मलाई विश्वास छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई नजिक ल्याउन सक्नुहुन्छ ।’’

खानले पाकिस्तानले भारतको साथ वार्ता सुरु गर्नका लागि सबै प्रयास गरेको तर यो दिशामा कुनै प्रगति हासिल हुन नसकेको समेत जनाएका छन् । उनले राष्ट्रपति ट्रम्पले नै यो भूमिका निर्वाह गर्न सक्ने समेत जनाए ।

अहिले पाकिस्तानका सेना प्रमुख जनरल कमर वाजवा र आइएसआइ प्रमुख पनि अमेरिका पुगेका छन् । खानले आफूले सेना प्रमुखलाई पनि सँगै ल्याएको बताउँदै यसको उदेश्य समस्या समाधानमा केन्द्रित रहेको समेत जनाएका छन् । खानले ह्वाइट हाउसमा ट्रम्पसँग कुरा गरेका हुन् ।

अफगानिस्तानमा जारी संघर्षका कारण अमेरिका र पाकिस्तानको सम्बन्धमा केही दरार जस्तो देखिएको बेलामा खान अमेरिका गएका हुन् ।  अफगान मामिलामा पाकिस्तानको उचित सहयोग नपाएको भन्दै ट्रम्पले गएको वर्ष पाकिस्तानलाई दिने सैन्य सहयोग रोकेका थिए । उनले पाकिस्तानलाई झूठ बोलेको र धोका दिएको आरोप पनि लगाएका थिए ।

ट्रम्पले भेटघाटका क्रममा अफगानिस्तानको समस्या समाधानका लागि अमेरिका र पाकिस्तान मिलेर काम गर्न सक्ने बताएको रोयटर्सले जनाएको छ ।  पाकिस्तानका प्रधानमन्त्री खान अहिले ५ दिने अमेरिका भ्रमणको अन्तिम चरणमा रहेका छन् ।  (बीबीसीबाट)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार