
के बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोहन्सन शैलीका हिसाबले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै हुन् ?
कतिपयले उनको शैलीलाई लिएर यस्तो धारणा राखेको पनि पाइन्छ । अरु त अरु अमेरिकी राष्ट्रपतिले पनि आफ्नो ट्विटमा यो प्रसंग जोडेका छन् ।
कतिपयले भने अमेरिकाका राष्ट्रपति ट्रम्प, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतको शैली नै पछ्याउने खालका बेलायतमा पनि प्रधानमन्त्री बनेकोले अबको विश्व कता जाला भन्ने प्रश्न पनि उठाएको पाइएको सीएनएनमा प्रकाशित समाचारमा जनाइएको छ । बेलायतका प्रधानमन्त्री जोहन्सनको कुरा गर्दा उनी सन् २०१६ मा निकै चर्चित प्रो–ब्रेक्जिट अभियन्ताको रुपमा चिनिएका व्यक्ति हुन् । उनका समर्थकहरुले ब्रेक्जिटको खाल्डोेबाट बेलायतलाई बाहिर निकाल्न उनलाई सफलता प्राप्त हुने ठानेका छन् ।
समर्थकहरुका लागि उनी डोनाल्ड ट्रम्प जस्तै हुन् ।
जोहन्सन र ट्रम्पबीच थुप्रै समानता पनि देखिन्छ । गएको मंगलबार बेलुका ट्रम्पले ट्विट गर्दै जोहन्सनको बारेमा भनेका थिए, ‘‘उनीहरुले बेलायतका ट्रम्प भनिरहेका छन् । यदि मानिसहरुले त्यसो भनिरहेको हो भने राम्रो कुरा हो । मलाई त्यहाँ मन पराउँदा रहेछन् । त्यस्तो उनीहरु चाहँदा रहेछन्, उनीहरुलाई आवश्यक रहेछ ।’’
वास्तविकता हेर्दा जोहन्सन कन्जरभेटिभ पार्टीको तर्फबाट निर्वाचित भएका हुन् । उनीहरुको प्रतिशत कूल जनसंख्याको शून्य दशमलब २ प्रतिशत छ । त्यसैले बेलायतमा व्यापक रुपमा ट्रम्पलाई मन पराइने भने होइन ।
उनी दुईपटक बेलायत गएको बेलामा दुवै पटक जनता विरोध गर्न सडकमा निस्केका थिए । ७३ वर्षीय ट्रम्पको जन्म स्थान अमेरिकाको न्यूयोर्क हो भने ५५ वर्षीय जोहन्सनको पनि जन्मस्थान न्यूयोर्क नै हो । जोहन्सन पनि आप्रवासन विरोधी मानिन्छन् भने ट्रम्प पनि । जोहन्सनको मान्यता अमेरिकासँग बेलायतको व्यापार डिलिङ्ग हो । जसले ब्रेक्जिटबाट बाहिर जाने औचित्यता सिद्ध हुने दाबी गरिएको छ । त्यसले गर्दा ट्रम्पसँग उनलाई राम्रो सम्बन्ध चाहिएको छ ।
तर, इयुबाट बाहिरिँदा कुनैपनि सम्झौताबिना नै बाहिरिएको खण्डमा अमेरिकासँगको डिलिङ्गले मात्रै बेलायत माथि जान्छ भनेर पुष्टि गर्न सक्ने आधार देखिएको छैन । त्यसैले के बोरिस जोहन्सन बेलायती ट्रम्प हुन् त ? उनीहरुको समान खालको हेयर स्टाइल छ । तर, सम्बन्धको अन्त्य कहाँ हुन्छ अहिले नै भन्न सकिँदैन ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा जोहन्सनलाई कडा र स्मार्ट भएको बताएका थिए । उनी पूर्वविदेशमन्त्री र लण्डनका पूर्वमेयरको रुपमा काम गरेका व्यक्ति हुन् ।
दुवै जना मिडिया क्षेत्रको करियरबाट माथि गएका हुन् । बेलायती बाबु आमाबाट म्यानहटनमा जन्मेका जोहन्सन बच्चा बेलामा नै अमेरिका छोडेर बेलायत लगिएका हुन् । जोहन्सनले पत्रिकामा राजनीतिक स्तम्भ लेख्थे । ट्रम्प द एप्प्रेन्टिससँग सम्बद्ध रहे । उनीहरु दुवै जना राजनीतिमा सिद्धान्तनिष्ठ मानिँदैनन् । ट्रम्पले गएका ३५ वर्षमा ५ पटक पार्टीमा निकटता परिवर्तन गरेका थिए । जोहन्सनले पनि एक पटक पत्रिकाका साथीलाई आफ्नो युरोपको विरुद्ध र मृत्युदण्डबारेमा कुनै राजनीतिक धारणा नभएको बताएका थिए ।
ट्रम्पले तीन पटक विवाह गरे र उनलाई अलि अविश्वसनीय श्रीमानको रुपमा लिने गरिन्छ । जोहन्सनले दुईपटक सम्बन्ध विच्छेद गरेका थिए । उनको विवाहेत्तर सम्बन्धबाट बच्चा जन्मेको बताइन्छ । सन् २००४ मा जोहन्सनलाई मन्त्रिपरिषद्बाट बर्खास्त गरिएको थियो । त्यसो गर्नुको कारण उनले विवाहेत्तर सम्बन्धका बारेमा ढाँटेको भन्ने कारण थियो । प्रधानमन्त्री पदका लागि अभियानमा भएकै बेलामा गत महिना प्रहरीले उनको घरमा निगरानी गरेको थियो । छिमेकीले उनकी अहिलेकी प्रेमिकासँगको झगडा र चिच्याएको आवाज सुनेको भन्दै प्रहरीलाई खबर गरेका थिए । ट्रम्प र जोहन्सन दुवैले जातिवादी, यौनजन्य र इश्लाम विरोधी टिप्पणी गर्ने गरेका छन् ।
जोहन्सनले थुप्रै विवादास्पद कुरा पत्रिकाको आफ्नो कोलममा लेखेका छन् । उनले महिला जसले इश्लामिक ड्रेस लगाएर मुख छोप्छन् उनीहरुलाई ‘लेटर बक्सेज’ भनेका थिए । ट्रम्पले आप्रवासीको बारेमा थुप्रै नकारात्मक टिप्पणी गरेका छन् । जोहन्सनले लण्डनको मेयर भएका बेलामा जातीय रुपमा अल्पसंख्यकहरुलाई त्यस्तै अभिव्यक्ति दिएका थिए ।
ट्रम्प जस्तै जोहन्सन पनि धनीहरुलाई ट्याक्स घटाउन चाहन्छन् । तर, ट्रम्पको विपरीत आर्थिक संरक्षणवादी चाहिँ उनी होइनन् ।
(सीएनएन र अन्य एजेन्सीहरुको सहयोगमा)







