बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिएका छन् । प्रधानमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट संसद्मा बोल्दै जोन्सनले ‘सन् २०५० भित्र बेलायतलाई विश्वकै महान् देश बनाउने’ बताए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘अमेरिकालाई फेरि महान्’ बनाउने बताएका थिए ।

जोन्सनको पछिल्लो भनाइसँगै ‘दुई नेताबीच आआफ्नो देशलाई महान् बनाउने प्रतिस्पर्धा चल्ने देखिएको’ बेलायती सञ्चारमाध्यमले उल्लेख गरका छन् । भाषणका क्रममा जोन्सनले भनेका छन्, ‘सन् २०५० सम्म संयुक्त अधिराज्यलाई महान् र समृद्ध बनाउनु सम्भवभन्दा पनि धेरै छ ।’ डेली मेलले जोन्सनको भनाइलाई ‘ट्रम्पको प्रतिध्वनि’ का रूपमा अर्थ्याएको छ ।

यद्यपि, ट्रम्प र जोन्सनबीच निकट सम्बन्ध रहिआएको छ । गतमहिना आफ्नो बेलायत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले जोन्सनलाई समर्थन गर्ने जनाउँदै भनेका थिए, ‘बेलायतको प्रधानमन्त्रीका लागि बोरिस जोन्सन नै एक मात्र विकल्प हुन् ।’

संसदमा बोल्दै जोन्सनले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लम्बाउने पक्षमा नरहेको बताए । जोन्सनले ईयू समयसीमा (३१ अक्टोबर) भित्रै सम्झौता वा बिनासम्झौता बेलायतले ईयू छोड्ने उद्घोष गरे । जोन्सनले ‘यदि ईयूले कुनै सम्झौता गर्न अस्वीकार गरे ईयू छाडेबापत् तिर्नुपर्ने ३९ अर्ब पाउन्ड नतिर्ने’ चेतावनी दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री मेले बिदाई सम्बोधनमा आफ्नो उत्तराधिकारीको राम्रो कार्यकालका लागि कामना गरिन् । तर, प्रमुख विपक्षी दल लेबर नेता जेरेमी कोर्बिनले भने नयाँ प्रधानमन्त्रीसँग देश चलाउने जनादेश नरहेको भन्दै तत्काल आमचुनावको माग गरेका छन् । बुधबार प्रधानमन्त्री पदको शपथ लिएका जोन्सनले पूर्वप्रधानमन्त्री टेरेजा मेको मन्त्रिपरिषद्मा रहेका अधिकांश मन्त्रीलाई हटाएका छन् भने केहीले राजीनामा दिए ।

जोन्सको मन्त्रिमण्डलमा ब्रेक्जिट अभियान चलाउने नेताहरूलाई मुख्य जिम्मेवारी दिएका छन् । मे मन्त्रिपरिषदका ३० सदस्यमध्ये ११ लाई हटाइएको छ भने ६ ले राजीनामा दिए । फिलिप ह्यामन्ड, जेरेमी हन्ट, रोरी स्टेवार्टजस्ता हस्ती बाहिरिएका छन् । ह्यामण्ड अर्थमन्त्री, हन्ट जोन्सनसँग दलको नेतामा पराजित विदेशमन्त्री र स्टेवार्ट अन्तर्राष्ट्रिय विकासमन्त्री थिए ।

जोन्सनले साजिद जाभिदलाई अर्थमन्त्री (चान्सलर) नियुक्त गरेका छन् । मे क्याबिनेटमा गृहमन्त्री रहेका जाभिद दलको नेता तथा प्रधानमन्त्रीमा पराजित भएका थिए ।

त्यसैगरी, प्रीति पटेल र डोमिनिक राब क्रमशः गृह र विदेशमन्त्री नियुक्त भएका छन् । दलको नेताका लागि भएको प्रतिस्पर्धामा प्रीतिले खुलेर बोरिसलाई सघाएकी थिइन् । ब्रेक्जिट पक्षधर प्रीतिले सन् २०१७ को नोभेम्बरमा बिनाजानकारी इजरायली अधिकारीहरूसँग भेटघाट गरेपछि मन्त्रीबाट राजीनामा दिन बाध्य भएकी थिइन् ।

ब्रेक्जिटका कट्टर समर्थक राबलाई सन् २०१५ मा न्यायमन्त्री नियुक्त भएका थिए । तर मेले प्रधानमन्त्री भएसँगै बर्खास्त भएका राब एक वर्षअघि डेभिड डेभिसले ब्रेक्जिट मन्त्रीबाट राजीनामा दिएपछि नियुक्त भएका थिए । यद्यपि, मेको ब्रेक्जिट डिलमा अहमति जनाउँदै राबले राजीनामा दिएका थिए ।

त्यसैगरी, स्टेफेन बारक्ले र गेभिन विलियमसनको मन्त्रिमण्डलमा पुनरागमन भएको छ, जसमा बारक्ले ब्रेक्जिट मन्त्री र विलियमसन शिक्षामन्त्री नियुक्त भएका छन् । चिनियाँ मोबाइल कम्पनी हुवावेबारे सूचना चुहाएको आरोपमा मेले गेभिनलाई यसै वर्षको सुरुतिर हटाएकी थिइन् ।

नवनियुक्त रक्षामन्त्रीमा बेन वालेस, अन्तर्राष्ट्रिय व्यापार मन्त्रीमा लिज ट्रस र स्वास्थ्य मन्त्रीमा म्याट ह्यानक नियुक्त भएका छन् । त्यसैगरी, वर्क एन्ड पेन्सन तथा महिला मन्त्रीमा अम्बेर रूड, वातावरण मन्त्रीमा टेरेजा भिलर्स, संस्कृति मन्त्रीमा निक्की मोर्गन, व्यापार मन्त्रीमा एन्ड्री लिड्सम नियुक्त भएका छन् ।

त्यसैगरी, हाउजिङ मन्त्रीमा रोबर्ट जेनरिक, न्याय मन्त्रीमा रोबर्ट बकल्यान्ड, स्कटिस मन्त्रीमा एलिस्टर ज्याक, यातायात मन्त्रीमा ग्रान्ट सेप्स, नर्दन आयरल्यान्ड मन्त्रीमा जुलियन स्मिथ, वेल्स मन्त्रीमा एलन कार्न्स र हाउस अफ लर्डस नेतामा ब्यारोनेस इभान्स नियुक्त भएका बीबीसीले जनाएको छ । जोन्सनले माइकल गोभको पदोन्नति गर्दै ‘चान्सलर अफ दि डची अफ ल्यानकास्टर’ नियुक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार