
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियालाई चेतावनीस्वरुप बिहीबार नयाँ मिसाइल प्रक्षेपण गरेको बताएका छन् । उत्तर कोरियाले बिहीबार बिहान समुन्द्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको थियो ।
उत्तर कोरियाली नेता उनले दक्षिण कोरियालाई उच्च प्रविधिका हतियार आयात र अमेरिकासँगको संयुक्त सैन्य अभ्यास बन्द गर्न चेतावनीस्वरुप उक्त मिसाइल प्रक्षेपण गरेको शुक्रबार त्यहाँको सञ्चारमाध्यम केसीएनएमा उल्लेख गरिएको छ ।
उत्तर कोरियाले बिहीबार छोटो दूरीका दुई वटा विस्फोटक मिसाइल ४३० किमीको दूरीमा पूर्वी समुन्द्र (सी अफ जापान) मा खसालेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली अधिकारीले अमेरिका र उत्तर कोरियाली नेताबीच निःशस्त्रीकरणका विषयमा सहमति भएपछिको पहिलो मिसाइल प्रक्षेपण भएको जनाएका छन् ।
केसीएनएले ट्रम्पको नाम उल्लेख गरेको छैन । तर, नेता किमले दक्षिण कोरियाली अधिकारीहरुले संयुक्त अभ्यास सञ्चालन गर्न लागेकोमा आपत्ति जनाएको उल्लेख गरिएको छ ।
केसीएनएका अनुसार किमले भने, ” हाम्रो मुलुकको सुरक्षामा हुने सम्भावित खतरापूर्ण हतियारलाई नष्ट गर्ने हितयार हामीसँग छैन तर विकास गर्छौं । आफ्नो देशको सुरक्षाका लागि उच्च शक्तिशाली हतियार प्रणाली विकास गर्नसक्ने क्षमता हामीसँग छ ।”
नेता किमले दक्षिण कोरियाले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । उनले भने, “एकातिर शान्तिको वकालत गरेको छ भने अर्कोतिर अत्याधुनिक हतियारको आयात र संयुक्त सैन्य अभ्यासको तयारी गरेको छ ।”
हाल करिब ३० हजार अमेरिकी सेना दक्षिण कोरियामा भएको र उनीहरुको हरेक वर्ष दक्षिण कोरियाली सेनासँग गर्ने युद्धअभ्यासले प्योङयाङ आक्रोशित बनेको अलजजिराले जनाएको छ ।
नेता किमले दक्षिण कोरियाली नेताले यस्तो किसिमको आत्मघाती गतिविधि रोक्नुपर्ने र यस्तो चेतावनीलाई बेवास्ता गर्दै गल्ती नदोहोर्याउनसमेत आग्रह गरेका छन् ।
उत्तर कोरियाले निःशस्त्रीकरणको वार्ताको निरन्तरतामा पनि संयुक्त सैनिक अभ्यासले असर गर्ने बताएको छ ।
अलजजिरा







