रुससँग गरिएको परमाणु सम्झौताबाट अमेरिका औपचारिकरुपमा पछि हट्ने भएपछि पुनः हतियार निर्माणको दौड शुरु हुने त्रास फैलिएको छ ।

अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखायल गोर्बाचेभले सन् १९८७ मा इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस ट्रिटी (आइएनएफ) मा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताले ५ सय देखि ५,५०० किलोमिटर दुरी रेञ्ज भएको क्षेप्यास्त्रलाई प्रतिबन्ध गरेको थियो ।

तर, यो वर्षको शुरुवातमा अमेरिका र नेटोले नयाँ प्रकारको क्रुज क्षेप्यास्त्र निर्माण गरेर सम्झौता भंग गरेको रुसमाथि आरोप लगाएको थियो । यस आरोपलाई मस्कोले खण्डन गर्दै आइरहेको छ ।

रुसले एनएम७२९ मिसाइलहरु, जसलाई एसएससी–८ पनि भनिन्छ, लाई तैनाथ गरेको प्रमाण रहेको अमेरिकाले दाबी गरेको थियो । जसलाई नेटोका संलग्न राष्ट्रहरुले पनि समर्थन गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमा रुसले सम्झौता पालना नगरे त्यसबाट फिर्ता हुने चेतावनी दिएका थिए । यसका लागि उनले अगस्त २ को समयसीमा दिएका थिए । लगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सम्झौताप्रतिको दायित्वलाई निलम्बन गरेका थिए ।

सम्झौताबाट पछि हट्ने बित्तिकै अमेरिकाले नयाँ गैरपरमाणु क्षेप्यास्त्रको परीक्षण गर्ने तयारी समेत गरेको सिएनएनले उल्लेख गरेको छ ।

के छ जोखिम ?

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले सम्भावित परमाणु युद्ध रोक्ने महत्त्वपूर्ण ब्रेक गुमेको प्रतिक्रिया दिएका छन् ।

‘यसले बलास्टिक क्षेप्यास्त्रको जोखिमलाई कम गर्नेभन्दा थप बढाउने छ,’ सबै पक्षलाई सहमतिको नयाँ बाटो पहल्याउन आग्रह गर्दै उनले भनेका छन् ।

यो ऐतिहासिक सम्झौता भंग भएसँगै अमेरिका, रुस र चीनबीच हतियार निर्माणको नयाँ दौड शुरु हुने विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

के हो इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस ट्रिटी (आइएनएफ) ?

अमेरिका र तत्कालिन सोभियत संघले सन् १९८७ मा हस्ताक्षर गरेको यो सन्धीले समुद्रीबाहेक छोटो र मध्य दुरीका सबै परमाणु र गैर परमाणु क्षेप्यास्त्रमाथि प्रतिबन्ध लगाएको थियो ।

सन् १९७९ मा रुसले एसएस–२० क्षेप्यास्त्र तैनाथ गरेपछि अमेरिकाले चिन्ता व्यक्त गर्दै युरोपमा क्षेप्यास्त्रहरु तैनाथ गरेको थियो – जसको ठूलो विरोध भएको थियो ।

सन् १९९१ सम्ममा २७ सयभन्दा बढी क्षेप्यास्त्र नास गरिएको थियो । दुवै देशका परिवेक्षकले एक अर्काको अनुगमन गर्न पाउँथे ।

कहाँबाट बिग्रियो कुरा ?

सन् २००७ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सो सन्धीले देशको चासोलाई सम्बोधन नगर्ने बताएका थिए ।

सन् २००२ मा बलिस्टिक परमाणु क्षेप्यास्त्रलाई काउन्टर दिने कुनै पनि हतियार निर्माण गर्न लोक लगाउने अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले एन्टी बालिस्टिक मिसाइल ट्रिटीबाट पछि हटेपछि रुसी राष्ट्रपतिले सो कुरा बताएका थिए ।

सन् २०१४ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसले आएएनएफ सन्धि उल्लंघन गरेको आरोप लगाएका थिए । रुसले जमिनबाट प्रक्षेपण गर्न सकिने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकाको आरोप थियो । रुसले भने त्यसको खण्डन गरको थियो ।

त्यतिबेला युरोपियन नेताहरुको दबाबमा ओबामा सन्धिबाट पछि नहटेको बताइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार