वासिङटन र बेइजिङबीच चलेको लामो समयको व्यापार युद्धले चिनियाँको तुलनामा अमेरिकी अर्थतन्त्र नराम्ररी प्रभावित हुने प्रभावशाली चिनियाँ अर्थशास्त्री विजियान शानले बताएका छन् ।

“व्यापार युद्धमा दुवै पक्षले गुमाउछन् । तर संख्या र प्रतिशतका आधारमा चिनियाँ पक्षको तुलनामा अमेरिकी पक्षमा बढी क्षति हुनेछ,’’ पीएजीका शानले बताए । यो कम्पनीको चीन र हङकङमा झन्डै ३० अर्ब डलरको सम्पत्ति रहेको छ ।

“यसको अर्थ चिनियाँ अर्थतन्त्रमा मात्रै कठोर किसिमको क्षति हुदैन भन्ने होइन । विगत १५ महिनाको अवधिमा चीनको व्यवसायीक मनोबल विशेष किसिमबाट नराम्ररी प्रभावित भएको छ,’’शानको भनाई थियो ।

विश्वव्यापी व्यापारमा चीन एक्लैको करिब १३ प्रतिशत हिस्सा छ । सन् २०१८ मा विश्वका माथिल्लो सूचीका चार प्रमुख निर्यातकर्ता मुलुकहरूमध्ये चीन, अमेरिका, जर्मनी र जापान परेका थिए । उक्त वर्ष चीनको कुल निर्यात २२ खर्ब ६३ अर्ब अमेरिकी डलर (कुल विश्व निर्यातको १२.७८ प्रतिशत) थियो भने आयात १८ खर्ब ४४ अर्ब डलर (विश्व आयातको १०.२५ प्रतिशत) ।

अमेरिकाले किन चीनसँग व्यापार युद्ध नगरोस् त ? उक्त वर्ष अमेरिकाले चीनबाट ५ खर्ब २६ अर्ब डलरको वस्तु आयात गरेकोमा चीनतर्फ १ खर्ब ५४ अर्ब डलरको निर्यात गरेको थियो । (स्रोत ः अंकट्याड ह्यान्डबुक अफ स्टाटिक्टिस २०१८) ।

यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि चीन प्रमुख गन्तव्य र स्रोत मुलुक दुवै रहँदै आएको छ । सन् २०१८ मा पहिलो स्थानमा रहेको अमेरिकाले २ खर्ब ५२ अर्ब अमेरिकी डलरबराबरको एफडीआई भित्र्याएकोमा चीनले १ खर्ब ३९ अर्ब डलर भित्र्याएको थियो ।

स्वशाषित क्षेत्र हङकङमा भित्रिएको १ खर्ब १६ अर्ब डलरसमेत जोड्दा चीन नै पहिलो पंक्तिमा छ । बाह्य प्रवाहतर्फ उक्त वर्ष १ खर्ब ६० अर्ब लगानी प्रवाह गरी जापान पहिलो नम्बरमा छ भने १ खर्ब ३० अर्ब लगानी गरी चीन दोस्रो स्थानमा छ । यो सन् २०१७ मा भन्दा घटेको हो । उक्त वर्ष चीनले १ खर्ब ५८ अर्ब अमेरिकी डलर लगानी गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार