
विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन मेकिङ डिसेन्ट्रलाइजेसन वर्कमा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ ।
यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्धिदर ८.१ प्रतिशत पुग्ने बैङ्कको प्रक्षेपण छ ।
नेपालपछि छिमेकी मुलुक भारतको वृद्धिदर छ प्रतिशत रहने छ । त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलङ्काको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।
नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैङ्कको छ । सन् २०२० मा ६।४ र २०२१ मा सामान्य वृद्धि भई ६।५ पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म औसतमा ६।५ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू वर्षमा नेपालको आथिृक वृद्धिदरलाई निकै सहयोग पुग्ने बैङ्कले जनाएको छ ।
अर्को समाचारअनुसार गुणस्तरीय खानपिनको मामिलामा नेपाल भारतभन्दा निकै अगाडि रहेको एक सर्वेक्षणले देखाएको छ । ग्लोबल हंगर इन्डेक्स (जीएचआई)मा नेपाल भारतभन्दा २९ स्थान माथि छ ।
अर्थात्, १ सय १७ देशको सूचीमा भारत १०२औं स्थानमा रहँदा नेपाल ७३औं स्थानमा छ । यसको अर्थ, भारतीयभन्दा नेपालीहरुले पेटभरी खान पाएका छन्, बाल मृत्य दर कम छ, बालबालिकाको उचाइअनुसार वजन छ, बच्चाहरु भारतमा जति कुपोषित छैनन् ।







