नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतद्वारा गठित प्यानल ईपीसीएले दिल्लीमा जनस्वास्थ्य आपतकालको घोषणा गरेको छ ।

राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले त्यसअघि नै नयाँ दिल्लीलाई ग्यास चेम्बर बताइसकेका छन् । यो आपतकालका कारण सरकारले ५ नोभेम्बरसम्म सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । यसका साथै मानिसहरुलाई कम भन्दा कम समय मात्रै घर बाहिर रहन र धेरै जसो समय घरभित्रै रहन आग्रह गरेको छ ।

मानिसहरुलाई निजी सवारी साधनको कम प्रयोग गर्न सल्लाह दिइएको छ । यसैगरी फोहोर जलाउन पनि निषेध गरिएको छ । सबै प्रकारका निर्माण कार्यमा अहिलेका लागि रोक लगाइएको छ । ईपीसीएका चेयरम्यान भुरे लालले उत्तर प्रदेश, हरियाणा र दिल्लीका मुख्य सचिवलाई पत्र पठाएर दिल्लीको वायुको गुणस्तरको बारेमा चिन्ता व्यक्त गरिएको छ । यसले गर्दा अवस्था निकै खराब भएको आकलन भइरहेको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले छिमेकी राज्यमा किसानले जलाउने गरेको परालको असर बताएका छन् । उता केन्द्रीय पर्यावयरण मन्त्री प्रकाश जावडेकरले हरियाणा र पञ्जाबलाई यो मामिलामा दोष नदिइ समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका छन् । विद्यालयमा बिदा दिइएको भए पनि मानिसलाई काममा जानैपर्ने बाध्यता छ । बीबीसीले यो प्रदूषणको असर जान्नका लागि सर्वसाधारणसँग कुरा गर्दा सडकमा आउनासाथै टाउको दुख्ने, खोकी लाग्ने र आँखा पोल्ने समश्या भएको बताएका छन् ।

हावाको गुणस्तरलाई एयर क्वालिटी इन्डेक्समा नाप्ने गरिन्छ । यदि एयर क्वालिटी इन्डेक्स ० देखि ५० को बीचमा पुग्यो भने यसलाई राम्रो मानिन्छ । ५१ देखि १०० को बीचमा पुग्यो भने सन्तोषजनक हुन्छ । १०१ देखि २०० को बीचमा पुगेमा औसत हुन्छ । २०१ देखि ३००को बीचमा नराम्रो हुन्छ । ३०१ देखि ४०० को बीचमा निकै नराम्रो हुन्छ ।

यो ४०१ देखि ५००को बीचमा भयो भने यसलाई गम्भीर मानिन्छ । दिल्लीका कतिपय स्थानमा पीएम २.५ आफ्नो उच्चतम स्तरमा ५०० पार गरेको रेकर्ड पाइएको छ । पीएम २.५ हावामा फैलिने ती मिहीन कण हुन् जसलाई हामीले देख्न सक्दैनौं । तर, सास लिँदा यो हाम्रो शरीरमा प्रवेश गर्दछ । वायुमण्डलमा यसको मात्रा जति कम हुन्छ उति नै हावा सफा हुन्छ । हावामा सुरक्षित स्तर ६० माइक्रोग्राम हुन्छ । यस्तै पीएम १० ले पनि हावाको गुणस्तरलाई प्रभावित पार्दछ । यद्यपि २०१७मा हावामा खतरनाक सुक्ष्म पीएम २.५ कणको मात्रा ७०० माइक्रोग्राम प्रति घनमिटरसम्म पुगेको थियो ।

यस खालको कण नाकमा भएको रौंले पनि छेक्न सक्दैन । साथै यसमा कैयौं हानिकारक तत्व पनि छन् जुन गाडी र उद्योगबाट आउँछन् । जस्तो नाइट्रोजन डाइअक्साइड र ओजोन जस्ता ग्यास पर्दछन् । यो गम्भीर अवस्थालाई ध्यानमा राख्दै पब्लिक हेल्थ इमरजेन्सीको घोषणा गरिएको हो ।  सेन्टर फर साइन्स एन्ड इन्भायरमेन्टमा रिसर्च एशोसिएटकी शाम्भवी शुक्लाले हावाको कन्सन्ट्रेसन तह सामान्य भन्दा धेरै अर्थात् गम्भीर अवस्थामा पुगेको छ । जसबाट कोही पनि व्यक्ति जो यो हावाबाट सास फेर्छ उसमाथि नकारात्मक असर पर्दछ । यही नै हेल्थ इमजेन्सी हो ।

शाम्भवीका अनुसार सबैभन्दा बढी असरमा आँखा पोल्ने र सास लिन गाह्रो हुने अवस्था आउँछ । लंग केयर फाउन्डेसनका संस्थापक डा. अरबिन्द कुमारले पनि यस्तै धारणा राखे । उनका अनुसार जब यस खालको हावामा व्यक्ति जान्छ त्यतिबेला आँखाबाट पानी निस्कने र आँखामा जलन हुने अवस्था आउँछ । यस बाहेक नाक र घाँटीमा जलन पनि शुरु हुन्छ । डा. अरबिन्दकुमार दमबाट पीडित बिरामीका लागि यो समय सबैभन्दा बढी खतरनाक हो ।

कारण के हो ?

शांभवीका अनुसार यस खालको अवस्थाका लागि कुनै एउटा कारणलाई मात्रै दोष दिन सकिन्न ।उनी भन्छिन्, ‘‘छिमेकी राज्यमा पराल जलाएका कारणलेपनि प्रदूषण भएको हुन सक्छ । शनिबार ३८ प्रतिशत प्रदूषण पराल जलाएका कारण भएको हो । तर, यही मात्रै कारण चाहिं होइन ।यसबाहेक निर्माण कार्य, गाडिको प्रदूषण पनि कारण हो । मौसमका कारणले पनि यस्तो भएको हुन सक्छ  । हावा छैन त्यही भएर यस्तो भएको हुन सक्छ ।’’

हेल्थ इमर्जेन्सी अनौठो होइन

शाम्भवीका अनुसार धेरै मानिसहरुको लागि हेल्थ इमर्जेन्सी नयाँ शब्द हुन सक्छ । तर विश्वका लागि यो नयाँ शब्द होइन । सन् २०१२ मा चीनमा हेल्थ इमरजेन्सी लगाइएको थियो । त्यतिबेला त्यहाँ प्रदूषणको मात्रा अत्यधिक भएको थियो । अन्य देशमा शुरुकै चरणमा  यो जारी गर्ने गरिएकोमा भारतमा केही पछि गरिएको हो । शाम्भवीले यस मामिलामा केही संयमित हुनुपर्ने बताउँदै मौसमलाई आफ्नो नियन्त्रणमा राख्न नसकिने बताइन् । यस्तो अवस्थामा आफ्नो गतिविधि चाहिं नियन्त्रण गर्नु जरुरी हुन्छ ।

कति खतरनाक ?

सन् २०१५को एक अध्ययनअनुसार भारतको नयाँ दिल्लीका १० मा चार बच्चालाई प्रदूषण सम्बन्धी समस्या देखिएको थियो ।  यसबाहेक भारत २०१५ मा प्रदूषणका कारण हुने मृत्युमा १८८ देशको सूचीमा पाँचौं स्थानमा थियो ।

प्रतिष्ठित मेडिकल जर्नल द लांसेटमा प्रकाशित अध्ययनका अनुसार दक्षिण पूर्वएशियामा सन् २०१५ मा ३२ लाख मानिसको मृत्यु भयो । दक्षिण पूर्व एशियाली देशको यो आँकडामा भारत पनि सामेल रहेको छ । विश्वभरी भएका करिब ९० लाख मृत्युमा २८ प्रतिशत भारतमा मात्रै भएको छ । एयर क्वालिटी इन्डेक्स ३६० भन्दा माथि हुनुको मतलब २० देखि २५ वटा सिगरेट पिउनु जस्तै हो । यो आधारमा यो भन्नु गलत होइन कि दिल्लीमा कोहीपनि नन स्मोकर छैनन् ।

हावाको गम्भीर अवस्थाको हेर्दा शहरमा ठाउँ ठाउँमा पानी छर्किने काम भइरहेको छ । यद्यपि यो प्रयास पर्याप्त भएको छैन । यसअघि एन्टी स्मोक गन र जेट इन्जिन पनि प्रयोग गरिएको थियो । एन्टी स्मोक गनलाई कुनै स्थानमा फिक्स गरेर राख्न सकिने वा ट्रकमा राखेर शहर घुमाउन सकिन्छ । तर त्यो पनि त्यति प्रभावकारी भएन ।
सन् २०१६मा पनि १५ दिनका लागि दिल्लीमा गाडी प्रयोगमा जोर विजोर प्रणाली लागु गरिएको थियो । यसबाट २० देखि २५ प्रतिशत प्रदूषण कम भएको थियो । त्यसलाई हेरेर यसपाली पनि भोलि ४ नोभेम्बरदेखि जोर बिजोर प्रणाली लागु गरिएको छ । तर, अलिहेको अवस्था हेर्दा दिल्लीको हावामा यति चाँडै सुधार होला भन्ने अवस्था देखिएको छैन । मौसम विज्ञान विभागले शनिबारदेखि केही सुधारको अवस्था हुने जनाए पनि सर्वोच्च अदालतले भने ५ तारेखसम्म आपतकालीन अवस्था रहने जनाएको छ ।

के हुन सक्छ जोगिने उपाय ?
–धुवाँ र धूलोबाट हर सम्भव जोगिन प्रयास गर्ने ।
–दमका बिरामीले निबोलाइजर वा इनहेलर साथमा राख्ने।
–एन ९५ मास्क पहिरिने । जसले धुलोबाट हुने अप्ठेरोबाट बचाउँछ ।
–पानीमा रुमाल भिजाएर प्रयोग गर्न सकिने ।
–आँखा र नाक रातो भएमा चिसो पानीले धुने ।
–ओठमा पोलेमा धुने ।
–बिहान र बेलुका बाहिर ननिस्कने ।
–लामो समय सम्म कडा परिश्रम नगर्ने ।
–लामो दूरीको यात्राको साटो छोटो दूरीमा टहल्ने, यस क्रममा ब्रेक लिने ।
–सास फेर्न अप्ठेरो हुने खालका कुनैपनि शारीरिक गतिविधि नगर्ने ।
–प्रदूषण धेरै महसुस भएमा घरको झ्याल ढोका बन्द गर्ने ।
–काठ,मैनबत्ती र अगरबत्ती बाल्नबाट टाढै रहने
–कोठामा पानीले पुछ्ने ताकि धूलोका कण कम होस् ।
–बाहिर जाँदा एन ९५ वा पी १०० मास्कको प्रयोग गर्ने

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार