कालापानी, लिपुलेक र लिम्पियाधुरा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्यास गाउँपालिकाभित्र पर्ने भूभाग हुन् । तर, भारतले नेपालको यिनै भूभागलाई समावेश गरी १६ कात्तिकमा राजनीतिक नक्सा सार्वजनिक गर्‍याे ।

नेपाली भूभाग समेटेर तयार गरिएको भारतीय नक्साको नेपालमा व्यापक विरोध भइरहेको छ । तीन तहका सरकारले भारतीय नक्सा मान्य नहुने बताइसकेका छन् ।

सामाजिक सञ्जालमा ‘ब्याक अफ इन्डिया’, ‘इन्डिया गो ब्याक’जस्ता ह्याज ट्यागसहित भारतीय नक्साको विरोध भइरहेको छ । सडकमा प्रदर्शन भइरहेको छ ।

सरकार तत्काल भारतसँग कूटनीतिक तहमा वार्ता गर्ने तयारीमा छ । दुई देशका विदेश सचिवस्तरीय संयन्त्रले यसबारे छलफल गरिरहेको छ ।

सुदूपश्चिममा के भइरहेकाे छ ?

विभिन्न प्रकरणका कारण चर्चामा आइरहने सुदूरपश्चिम यसपटक सीमाजस्तो संवेदनशील विषयलाई लिएर चर्चामा छ । नेपाली भूभाग भारतले अतिक्रमण गरेको भन्दै सुदूरपश्चिमवासी निकै आक्रोशित छन् । हुन त, भारतको पछिल्लो नक्सालाई लिएर सारा नेपालीको चित्त बुझेको छैन ।

गत सोमबार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपाली बस्ती जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटाउन गोरेटो बनाउने निर्णय गरेको छ । बैठकले गाउँपालिका–२, तुम्लिङदेखि टिङकर र साँग्रेसम्म जाने गोरेटो संघीय सरकारसँगको सहकार्यमा बनाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतले आफ्नो भनेर दाबी गरेको भूमि सुदूरपश्चिमको रहेको बताए । यसमा प्रदेश सरकारले केन्द्र सरकारसँगको समन्वयमा भारतलाई नक्सा सच्याउन दबाब दिने उनले बताए ।

प्रदेश सरकारले कालापानी क्षेत्रलगायत भारतसँग सीमा जोडिएको सिमाना र नाकामा आवश्यकताअनुसार बिओपीको व्यवस्थासहित प्रभावकारी सुरक्षा मिलाउन संघीय सरकारसँग अनुरोध गरेको छ ।

१५ लाख रोपनी अतिक्रमण

भारतसँग सीमाका विषयमा अविलम्ब कूटनीतिक पहल गर्न सत्तारुढ दलको भातृ संगठनले माग गरेकाे छ । नेकपाको राष्ट्रिय युवा संगठन र अनेरास्ववियुले भारतले नेपालमाथिको हेपाहा प्रवृत्ति कायमै राखे आन्दोलन चर्काएर जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिए ।भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कुटी, गुन्नी, नाबीलगायतका झन्डै ३ सय ७२ वर्ग किलोमिटरका भूभाग आफ्नो भन्दै दाबी गरेकोप्रति युवाहरुले आपत्ति जनाएका छन् । साबिक अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य लोकेन्द्रबहादुर सिंहले तीन तहका सरकार यस विषयमा मौन बस्न नहुने बताए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दीपक सिंहले लिपुलेकसहितका नेपाली भूमि भारतले आफ्नोमा गाभ्न खोजेको भन्दै नक्सा नसच्याएसम्म आन्दोलन जारी राख्ने बताए ।

कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणि भट्टले भारतसँग सरकारले खुट्टा नकमाइ वार्ता गर्नुपर्नेमा जोड दिए ।

सत्तारुढ दलको भातृ सङ्गठनले हालसम्म भारतले नेपालको १ सय ७२ स्थानमा १५ लाख रोपनी (७८ हजार हेक्टर) भूमि अतिक्रमण गरेको दाबी गरेको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्साका विषयमा देशभर विरोध प्रदर्शन हुँदै आएका छन् ।

‘कूटनीतिक तवरबाट निकास खाेजाैं’

नागरिक समाजका अगुवाहरुले भने सीमा अतिक्रमणको विषयमा सरकारले तत्कालै कूटनीतिक तबरबाट निकास खोज्नुपर्नेमा जोड दिएका छन् ।
शिक्षाविद् डा. हेमराज पन्तले नेपाल र भारतबीच देखिएको सीमा समस्या अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।

उनले भने, ‘सिमाना भनेको धेरै महत्त्वपूर्ण विषमा हो । संसारमा जति लडाइँ भए, धेरैजसो सिमानाकै कारण भएका छन् । मलाई अचम्म लाग्छ, तपाईं हामीले एक कट्ठा जग्गा किने पनि वरिपरी बार्छौ । तर, खै नेपाल भारत सीमा नाका ? बिना सीमाको पनि देश हुन्छ ?’शिक्षाविद् शिवहरि मुडभरिले अत्तिक्रमणमा परेको नेपाली भूमि फिर्ता गर्न सरकारमा तदारुकता नदेखिएको टिप्पणी गरे । वार्ताका माध्यमबाट समस्या समाधान नभए यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेस संसदीय दलले सीमा अतिक्रमणलगायत समसामयिक विषयमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ । बुधवार मुख्यमन्त्री कार्यालयमा पुगेर कांग्रेसले लिम्पियाधुरा, कालापानीलगायतको भूमि अतिक्रमणको विषयसँगै संसद् चलाउने र चालू आर्थिक वर्षका योजना कार्यान्वयनका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेताहरूले सीमाका विषयमा केन्द्रको अधिकारको विषय भन्दै प्रदेश सरकार मौन बस्न नहुने भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराए । नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारले सुदूरपश्चिमको आफ्नै भूमि मिचिएकोले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

जवाफमा मुख्यमन्त्री त्रिलोचन भट्टले सीमाका विषयमा केन्द्र सरकारसँग समन्वय भइरहेको बताए । भारतले सार्वभौम राष्ट्रमाथि अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनले यो विषयमा आफूहरु चुप लागेर नबस्ने बताए ।

रचनात्मक विरोधमा साहित्यकार

सुदूरपश्चिमका स्रष्टाहरूले नेपाली भूमि भारतीय नक्सामा राखिएकोप्रति सिर्जनामार्फत विरोध जनाएका छन् । धनगढीमा जम्मा भएर स्रष्टाहरूले विभिन्न साहित्यिक रचना र गीत सङ्गीतमार्फत विरोध जनाएका हुन् ।

भारतको पछिल्लो निर्णयको विरुद्धमा सबैतिर प्रदर्शन भइरहेका बेला स्रष्टाहरू सिर्जनात्मक विरोधमा उत्रिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार