
माछी मार्न जाऊँ न दाजै कालापानीमा
छेकी बारी दुवाली महाकालीमा
मनको काँडाले कहिल्यै नि कोरेन
फलामे काँडाको तारैले
मनपरि हैन गाँठे हाम्रो पानीमा
आलै छ घाउ १८ को नालापानीमा
नेपाली खोइ कुरा बुझेको
मनपरि जनसंख्या बढेको
विदेशको नोकरीको भर छैन
फर्केर आउँदा घर छैन
थुनिदेऊ नचाहिने ढोका
स्वदेशी हो कम्मरै कस
मेला भर्न जाऊँ न दाजै मेची बगर
पशुपति नगर जंगे पिलर…!
०००
यो गीत नसुन्ने नेपाली सायदै होलान् । बालबालिकादेखि वृद्धवृद्धासम्मले गुन्गुनाउँछन् यी पंक्ति ।
जब राष्ट्र र राष्ट्रियतामा ठेस पुगेको आभास हुन थाल्छ, क्रान्तिको आवश्यकता महसुस हुन्छ, नेपाली सीमा मिचिन्छ, रातारात सीमाका जंगे पिलर हराउँछन्, नेपाली भूभाग छिमेकीको कब्जामा लैजाने दुष्प्रयास हुन्छ, तब ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ जताततै गुन्जन थाल्छ ।
२१ वर्षअघि विधान श्रेष्ठ, रीता उपाध्याय र जे. पापीले गाएका हुन् यो गीत । गीत सार्वजनिक भएपछि २ वर्षसम्म भारतले प्रतिबन्ध लगायो । सीमाको विषयमा रचित ओजपूर्ण गीत भएकाले हो भारतले यस गीतलाई प्रतिबन्ध लगाएको ।
अहिले भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरालाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको छ । त्यसपछि यो गीत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर, जनजनको जिब्रोमा झुन्डिएको यस गीतकी गायिकाका बारेमा धेरैलाई थाहा छैन ।
गीतको भिडियोमा डोको, हँसिया, चौबन्दी चोलीमा झण्डा बोकेकी रीता उपाध्याय नै यो गीतकी गायिका हुन् । तिनै गायिका अहिले चर्चामा छन् ।
२०औँ वर्षसम्म ओझेलमा परेकी गायिका उपाध्यायले जीवनमा धेरै आरोह–अवरोह पार गरेकी छन् ।
०००
बिहान पशुपति बहुमुखी क्याम्पस, चाबहिलमा पढाएर दिउँसो पद्यमकन्या कलेजमा पढाउन आउँछिन् उनी । पशुपतिमा आंशिक र पद्यमकन्यामा करारमा नेपाली विषय पढाउने गरेकी छन् रीताले ।
पद्यमकन्याकै प्राङ्गणमा उनले आफ्नो जीवनको पोयो यसरी फुकाइन् ।
त्यसबेला थापाथली सफा । हरियाली । कञ्चन पानी बग्ने वागमती नदी । थापाथलीकै माटोमा २०१७ सालमा जन्मिएकी हुन् रीता । सानैदेखि बहुप्रतिभाकी धनी । खेलकुद, हाजिरी जवाफ, साहित्यमा सानैदेखि अब्बल । परीक्षामा कहिल्यै दोस्रो भइनन्, सधैँ पहिलो ।
त्यो समय छोरीहरूलाई पढ्नका लागि गाह्रो थियो । तर, उनको शिक्षित परिवार भएकाले उनले पढ्ने अवसर पाइन् ।
आमाको प्रेरणा
आमाका २४ दाजुभाइ दिदीबहिनी । रीताकी आमा कान्छी छोरी । ९ कक्षासम्म पढ्न पाएकी रहिछन् आमाले । जब ९ कक्षामा पुगिन् अनि मासिक श्राव भएपछि घरपरिवारले उनलाई पढ्न दिएन ।
आमाले बिहेपछि पनि ७ कक्षामा भर्ना गरिन् । रीताका बुबा जागिरे । बुबाले पनि आमालाई पढाउन चाहेनन् । आफूले पढ्न नपाएको इखमा आमाले आफूूलाई पढाएकी बताउँछिन् रीता । रीताको सफलतामा आमाले धेरै इट्टा थपेकी रहिछन् । एसएलसी पनि प्रथम श्रेणीमा पास गरिन् रीताले ।
एसएलसीपछि बुबाको इच्छामा उनले विज्ञान विषय पढिन् । पढ्दै रीताले स्कुलमा विज्ञान विषय पढाउन पनि थालिन् । अंग्रेजी राम्रो बोल्ने उनी पढ्ने स्कुलमा प्रिन्सिपलले नेपालीलाई हेयको दृष्टिले हेर्थे, जुन उनलाई मनपर्दैनथ्यो । प्रिन्सिपलले नेपाली भाषालाई अपमान गरेको इखले उनले नेपालीमा स्नातकोत्तर गरेको बताइन् ।
उच्च शिक्षा हासिल गर्न भने उनले धेरै संघर्ष गर्नुपरेको थियो । विवाहपछि पढ्न उनलाई गाह्रो भयो । छोराछोरी हुर्काउँदै पढ्न कठिन हुन्थ्यो तर पनि हिम्मत हारिनन् । उनले तीन–चार घण्टा सुतेर अरू समय पढ्थिन् ।
गीत–सङ्गीतप्रतिको मोह
सानैदेखि गाउन अब्बल । स्कुलमा कार्यक्रम हुँदा उनी गाउँथिन् । भजनप्रतिको मोह पनि उत्तिकै थियो उनमा ।
रीताले रेडियो नेपालमा भ्वाइस टेस्ट दिइन् तर उनी फेल भइन् । रेडियो नेपालमा चिनेको कोही थिएन । राजनीतिक पावर लगाउनुपर्ने थियो त्यसबेला रेडियोे नेपालमा पास हुन ।
उनी निराश हुन्थिन् ।
२१ वर्षअघि भजन रेकर्ड गर्न उनी सिने साउन्ड स्टुडियो गएकी थिइन् । रेकर्ड सकिएपछि उनको भेट गायक विधान श्रेष्ठ र जे. पापीसँग भयो । त्यही भेटले हो उनले ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ भन्ने गीत गाउने अवसर पाएको ।
अनि गाइयाे ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’
त्यो भेटमा विधान श्रेष्ठ र जे. पापी उनलाई ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ भन्ने गीत गाउन अफर गरे । त्यतिबेला चलेका गायक–गायिका कालापानीमा भन्ने गीत गाउन डराएका रहेछन् । कालापानी शब्द नै उच्चारण गर्न डराउने तर रीताले हार मानिन् ।
‘गोर्खालीकी छोरी हुँ, आफ्नो माटोका लागि गाउन किन डराउने ?’, उनले हिम्मत देखाइन् । सीमाबारे नेता बोल्न सक्दैनन् भन्ने उनलाई थाहा थियो । कम्तीमा यो गीत त गुन्जिन्छ भन्ने ठानेर उनी गाउन राजी भइन् । ‘धैर्यको फल मीठो हुन्छ’ भनेझैँ भयो– २०औँ वर्षपछि कालजयी यो गीतले पुनः चर्चा पाएको छ ।
उनी पुलकित देखिइन् ।
अनि शास्त्रीय संगीत
एक पटक उनी रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्न गएकी थिइन् । संगीतकारले उनलाई अपमान गरे ।
‘यस्तो आवाजले पनि गीत गाउने हो ? संगीतको कखरा सिकेर आउनुस् । अहिले नै स्टुडियोको ढोकामा छिर्नु ठूलो भाग्य हो’, ती संगीकारले झपारेको सम्झिँदा अनुहार तीतो देखियो उनको ।
रीताको मन कुँडियो अनि शास्त्रीय संगीत सिक्न थालिन् ।
‘योग्यताको कदर छैन’
रीतालाई धेरैले लता मंगेसकर र आशा भोसलेसँग जोड्थे तर पनि उनले धेरै गीत गाउने अवसर पाइनन् । पैसा र रूप छ भने जस्ता गीत पनि चल्छन्, जसले पनि गाउने अवसर पाउँछन् । गाउनका लागि म्युजिक क्षेत्रमै रहेको परिवारका छोराछोरी छन् भने उनीहरूले पनि अवसर पाउँछन् । अरूलाई गीत–संगीतबाट माथि उठ्न गाह्रो छ भन्ने महसुस रीतालाई पनि भएछ ।
‘तर, यहाँ स्वरको कदर हुँदैन’, रीता भन्छिन् । कतिपयले रूपका कारण पनि अवसर पाएका छन् तर रीता ती सबै कुराबाट टाढा बसिन् । गीत–संगीतमा लाग्दा भोगेका पुराना नमीठा दिन उनको स्मृतिबाट अझै हटेका छैनन् ।
‘यहाँ जनावरको हाडको गहना लगाइन्छ, भिल्लहरूको राज्यमा मणि रत्नहरू मिल्काइन्छ’, उनको पीडा मिश्रित आक्रोश बोल्यो ।
गीतको मौलिकता हराउँदै
११ वटा भजन, कालापानी र मुनामदन चलचित्रमा उनले कालजयी गीत गाएकी छन् । पछिल्लो समयका गीत–संगीतमा मौलिकता हराउँदै गएकामा रीता चिन्तित छन् । गीतको लय र भाव नै बिगार्ने, पुुराना गीतलाई बिगारेर गाउने चलन बढेकामा उनको चिन्ता र विमति छ ।
‘यसरी देशको राष्ट्रियता, संस्कृति, कला र सभ्यता कसरी जोगिन्छ ?’, उनी प्रश्न गर्छिन् ।
देशको माया
‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ गीत गाएपछि उनलाई ‘र’ले मार्छ भनेर कतिले तर्साए पनि । ‘कालापानी हाम्रो हो । कसैले मार्छन् भने देशका लागि मर्न तयार छु’ भनेर उनी अरूको कुरालाई टार्थिन् । अहिले विभिन्न राजनीतिक पार्टीहरूले रीतालाई राजनीतिमा आउन भन्छन् । उनलाई राजनीतिको दलदलमा फस्न मन छैन ।
नेपाली भूमिका लागि लड्न भने उनी जतिबेलै तयार छन् । कतिलाई दशगजा भनेको थाहा छैन । ‘नेपाल–भारत सीमा छुट्याउने दशगजा हो भन्ने धेरैलाई थाहा छैन । जंगे पिलर भनेको थाहा छैन अनि कसरी सीमा रक्षा हुन्छ ?’, उनको प्रश्न छ ।
देशको बिग्रिँदो अवथबाट उनी चिन्तित हुन्छिन् ।
महिलालाई ६० प्रतिशत
उनको बुझाइमा नारी अज झन् शोषित भएका छन् । अधिकारका लागि सभा र गोष्ठी गर्दैमा महिला र पुरुष समान हुँदैनन् भन्ने लाग्छ उनलाई ।
समान हक हुनका लागि नारीलाई ६० प्रतशित दिइनुपर्ने र गृह विज्ञान पढाउनुपर्ने उनको भनाइ छ ।
सम्मान र पदक
सानैदेखि अतिरिक्त क्रियाकलापमा रुचि राख्ने र सहभागिता जनाउने उनले विभिन्न पदक र सम्मान हात पारेकी छन् । साहित्यमा सातवटा स्वर्ण पदक र काश्य पदक हात पारेकी छन् भने राष्ट्रव्यापी भक्ति संगित प्रथम पुरस्कार पनि रीताले पाएकी छन् ।
जीवन पानीको फोका
‘जीवन पानीको फोका जस्तो हो । भगवान्को घरमा उज्यालो ढिला हुन्छ तर अँध्यारो हुँदैन’, रीता भन्छिन्, ‘दीन दुःखीको सेवा गर्नु नै धर्म हो ।’
शिलापत्रका लागि दिनेश गौतमद्धारा तयार पारिएको रिपोर्ट ।







