
अमेरिकी झन्डा र ब्यानरसहित प्रदर्शन गर्दै हङकङका प्रदशर्नकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हस्तक्षेप गर्न’ हाकाहाकी ‘अपिल’ गर्दैछन् ।
यही कार्य यदि केही नेपाली प्रदर्शनकारीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न ‘अपिल’ गरेमा के हामी नेपाली जनता त्यस कार्यलाई सहन सकौँला ? नेपाली जनता आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको हेर्न त के सुन्न पनि सक्नेछैनन् ।
त्यसो भए हङकङमा भइरहेको प्रदर्शनको के अर्थ लाग्छ ? संरा अमेरिका आफ्नो साम्राज्यवादी चरित्रलाई फेर्न चाहिरहेको छैन । सत्य के हो भने, सर्पले निल्न खोजेको भ्यागुतोले फट्याङ्ग्रा टिप्न छोड्दैन । त्यस्तै अमेरिकी साम्राज्यवाद तल झर्दै गरेको पुँजीवादी र साम्राज्यवादी शक्ति भए पनि उसले आफ्नो मृत्यु नभएसम्म आफ्नो चरित्रलाई फेर्नेछैन ।
१८–१९ आँै शताब्दीमा बेलायत ‘सूर्य नडुब्ने’ उपनिवेशवादी शक्ति थियो । हङकङ जोडिएको चीनको मुख्य भाग क्वाङतुङ प्रान्तमा अफिम बनाउने र चिनियाँ जनतालाई अफिमको लतमा पार्दै अरबौँ रुपैयाँको सुन र चाँदी कुम्ल्याउँदै थियो । चीनका दरबारियाहरू, माथिल्ला प्रशासकदेखि तल्लो तहका कर्मचारी र जनतासमेत अफिमको लतमा परिसकेका थिए ।
एक सार्वभौम र समृद्ध चीन एक–एक पाइला गर्दै विदेशीको प्रभावमा पर्दै थियो । अफिमको लत र भ्रष्टाचारले चिनियाँ जनता आक्रान्त हुँदै गए । तर, हरेक समाज र देशमा सचेत र देशको हित सोच्न नसक्ने जनता हुने गर्छन् । त्यसबेला सचेत चिनियाँ जनता ‘अफिम व्यापार’ र ‘भ्रष्टाचार’ को विरोध गर्थे र अचेतित जनता–धनी भए पनि वा मध्यमवर्गका भए पनि, प्रौढ वा युवा भएपनि अफिमको लतमा पर्दै भ्रष्टाचारको शिकार हुँदै थिए ।
क्वाङतुङ प्रान्तका गभर्नर त्यसबेला अफिमको व्यापार र भ्रष्टाचारका विरोधी थिए । उनले बेलायती अफिम बनाउन र बेच्न रोक लगाए, सन् १८४२ मा बेलायतले त्यसको प्रतिकारमा चीनमाथि हमला ग¥यो तर असफल भयो । बेलायतले पुनः पूरा तयारीका साथ आक्रमण ग¥यो । बेलायतले पेकिङ दरबारमा दुई देशको ‘मित्रता’ को निम्ति क्वाङतुङको गभर्नर बदल्न दियो र एक बेलायती दलाललाई नयाँ गभर्नर नियुक्ति गर्न दियो । नयाँ गभर्नरले लडाइँको निम्ति बनाइएका सबै किल्ला भत्काउन दियो ।
बेलायती साम्राज्यवादले पुनः आक्रमण ग¥यो र चीनलाई असमान सन्धि गर्न बाध्य पा¥यो । हारेको चीनले बेलायतलाई अफिम बनाउने, त्यसको व्यापार गर्ने, बैङ्क खोल्ने, धर्म प्रचार गर्ने, चर्च र चिहान बनाउने, ९९ वर्षको निम्ति हङकङलाई बेलायतको हातमा सुम्पने तथा दुई देशको ‘सहमति’ मा मात्रै बेलायती वस्तुमा भन्सार लगाउने सर्तमा सन्धि गर्न बाध्य पा¥यो । हारेको चीनलाई संरा अमेरिका र अरू साम्राज्यवादी देशहरूले पनि असमान सन्धिहरू गर्न बाध्य पारे ।
बेलायती उपनिवेशवादले हङकङ चीनलाई फिर्ता दियो, एक अर्काे हमलाको निहुँ राख्दै तथा अमेरिकी आक्रमणको नयाँ नाटक सुरु गर्न । अमेरिकी साम्राज्यवाद हङकङलाई मानव अधिकारविरोधी आतङ्ककवादी र अपराधीहरूको ‘स्वर्ग’ बनाइराख्न चाहन्छ । साम्राज्यवादीहरू आफ्नो अन्तिम समयमा पनि चीनमाथि हमला गर्न एक रणनीतिक विन्दुको रूपमा हङकङलाई प्रयोग गर्दैछ ।
उपनिवेशवादको पुनः स्थापना गर्न पश्चिमेली साम्राज्यवादीहरूले भारतको गोवा, डामेन, डियु र पाण्डोचेरी८लाई समेत अमेरिकी साम्राज्यवादको हातमा सुम्पने षड्यन्त्र गर्न खोज्नेछन् । अमेरिकी जलसेना भारतको विशाखापटनममा तैनाथ छ । समयमै सबै एसियाली जनता सचेत हुनु आवश्यक छ ।
८डामेन, डियु र पाण्डोचेरी भारतका सङ्घीय भूभाग (युनियन टेरेटरी) हुन् । डामेन र डियुमा चार सय वर्षभन्दा बढी समय पोर्चुगलले उपनिवेशवादी शासन चलाएको थियो । सन् १९६१ को डिसेम्बरमा मात्र त्यो भूभाग भारतमा सामेल गरिएको थियो । डामेन र डियु गुजरातसँग जोडिएको तटीय भूभाग हो ।
पाण्डोचेरी फ्रान्सेली उपनिवेश क्षेत्र थियो । भारतको तामिलनाडु प्रान्तको उत्तरी तटीय क्षेत्रमा अवस्थित यो भूभाग भारतका सङ्घीय भूभागहरूमध्ये सबभन्दा बढी जनसङ्ख्या भएको भूभाग हो ।







