अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७२ मा चीनको भ्रमण गरे । सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरेर माओत्से तुङको नेतृत्वमा चीनमा कम्युनिस्ट पार्टीको शासन सुरु भएपछि अमेरिकी राष्ट्रपतिले चीनको भ्रमण गरेको यो नै पहिलो अवसर थियो ।

निक्सनको यो औपचारिक भ्रमणका लागि चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङले निमन्त्रणा गरेका थिए । निक्सनको भ्रमणपछि ८ जना अमेरिकी राष्ट्रपतिले चीनको भ्रमण गरिसकेका छन् । निक्सनपछि गेराल्ड आर फोर्ड, रोनाल्ड रेगन, जर्ज एच डब्लु बुस, बिल क्लिन्टन, बाराक ओबमा र डोनाल्ड ट्रम्पले चीनको भ्रमण गरेका छन् ।

यतिबेला विश्वमै आर्थिक र सैन्य शक्तिका हिसाबले बराबरीजस्तो अवस्थामा पुगेका दुई देशका नेताको एक अर्को देशमा हुने भ्रमण सामान्य भएपनि तात्कालिक अवस्थामा यो भ्रमण निकै महत्वपूर्ण थियो ।

पुँजीवादी विश्व र समाजवादी विश्वबीच शीतयुद्ध रहेको समयमा भएको यो भ्रमण चामत्कारिक र राजनीतिक आश्चर्य नै थियो । यो भ्रमणलाई लिएर विश्वभरी जुन चासो प्रकट गरिएको थियो, त्यस्तै चासो दुईदेश र दुई नेतामा पनि थियो । भेट यति गरमजोशीका साथ भएको थियो कि माओ पनि एक ऐेतिहासिक प्रफुल्लतामा थिए भने निक्सन निकै गदगद थिए । निक्सनका लागि यो भ्रमण कुनै अर्को ग्रहको भ्रमण बराबर कौतुहलपूर्ण थियो भने माओका लागि निक्सनको यो भ्रमण भरोसापूर्ण कदम थियो ।

दुई दुश्मन राष्ट्र र यसका दुई दुस्मन नेताहरुबीचको यो सौहाद्र्रपूर्ण भेट साँच्चै आश्चर्यको कुरा थियो । यो दुई विपरितहरुको उत्कर्षको भेट थियो । यो भेटमा दुवै देशका राष्ट्र प्रमुखले एक सौहाद्र्रपूर्ण सम्बन्ध बनाइराख्ने सहमति पनि गरे ।

यसलाई पश्चिमा जगतमा र पश्चिमा जगतका सञ्चार माध्यमहरुले बन्द परिवेशमा रहेको चीनको खुल्ला विश्वमा प्रवेशको चाहनाका रुपमा व्याख्या गरे । चीनले शदिऔंपछिको एकलपनालाई त्यागेर खुल्ला हुन र सबैसँग मैत्री सम्बन्ध चाहेको रुपमा व्याख्या गरे ।

निक्सन त यतिसम्म पनि रमाए कि उनले चीनमा सातदिनसम्म विभिन्न सहर तथा गाउँहरुको अध्ययन भ्रमण गरेको थाहै नपाएको बताए । यसले अमेरिका र चीन बीचको सम्बन्धलाई सामन्यीकरण गर्न मद्दत ग¥यो ।

माओका लागि निक्सनको भ्रमण निकै आवश्यक थियो । किनकि यो आफैंमा कूटनीतिक भ्रमण थियो । यो भ्रमणले अमेरिकाले माओको चीनलाई मान्यता दियो । चीनले अब अन्तर्राष्ट्रिय मान्यता पायो ।

चीनले अन्तर्राष्ट्रिय मान्यता नपाउँदासम्म ख्रुश्चोभको नेतृत्वमा रहेको तत्कालीन सोभियत संघले चीनलाई दुःख दिइरहेको थियो । माओ आफैं ख्रुश्चोभको राजनीतिका कडा आलोचक थिए । स्टालिन रहँदासम्म रुसले चीनको विकासका लागि दिएको सम्पूर्ण ऋण एकमुष्ठ तिर्न या सैन्य हस्तक्षेपका लागि तयार रहन माओलाई चुनौती दिएको थियो ।

ख्रुश्चोभले एकैपटक एकै समयमा चीनमा स्टालिनले दिएको स्वास्थ्यकर्मी, इञ्जिनियर, पाइलट, प्राविधिक तथा अन्य स्वयमसेवी सहयोगीहरुको लाखौं जनाको टिम फिर्ता गरेका थिए ।

यस्तो अवस्थामा पश्चिमा देशहरुसँग सम्बन्ध बनाएर आफ्नो घोर दुस्मन अमेरिकालाई चीनमा आमन्त्रण गरेर माओले चीन र चिनियाँ जनताको रक्षा गरेका थिए । माओको यो कदमपछि ख्रुश्चोभ एककदम पछि हट्न बाध्य भए ।

यो भन्दा पनि अझ रहस्यको विषय त के छ भने निक्सनको यो भ्रमण गोप्य रुपमा गरिएको थियो । जसको भिडियो क्लिप एक वर्ष पछाडि मात्र सार्वजनिक गरिएको थियो । यो सार्वजनिकपछि रुस र सिंगो पश्चिमा जगत गजबको आश्चर्यमा परेका थिए ।

भ्रमण अवधिभर निक्सनकी श्रीमती प्याट निक्सनको भ्रमणमा खुसीको सीमा थिएन । उनले एकैक्षण केही फुर्सद पायो कि जनतासँग र स्कूले बालबालिकाहरुसँग पूरै समय बिताउँथिन् । उनले भनेकी थिइन्, ‘चीन आफ्नो देशका लागि निकै आत्मविश्वासी, भलाद्मी र इमान्दार छ । यसले सोचेभन्दा छिट्टै विकासको गतिलाई समात्ने छ ।’

त्यसबेला सोभियत संघ र चीनबीच राम्रो सम्बन्ध थिएन । दुई कम्युनिस्ट शक्तिबीच विचारको ठूलो बहस चलिरहेको थियो । कम्युनिस्ट आन्दोलनको इतिहासमा यसलाई महान् बहस वा महाविवाद भन्ने गरिएको छ ।

यो वैचारिक विवादले सोभियत संघ र चीनबीच निकै गहिरो र एकखालको दुस्मनीपूर्ण अन्तरविरोधको बिजारोपण भएको थियो । यो अन्तरविरोधमा माओले चलाखीपूर्ण तरिकाले खेले । उनले चीन र चिनियाँ जनताका स्वार्थ रक्षाका लागि ठूलो जोखिम मोले । अर्कोतिर अमेरिकी राष्ट्रपति निक्सन शीत युद्धको शत्रु सोभियत संघ र ख्रुश्चेभ नेतृत्वको सोभियत संघको किनारामा आएर खेल्ने अवसर पाए ।

यो समयमा निक्सनलाई खतरा लागेको सोभियत संघ र चीनका लागि पनि खतरा बन्दै गरेको सोभियत संघ नै थियो । ‘शत्रुको पनि शत्रु साथी हुन्छ’ भनेजस्तै भयो । दुवै एकैठाउँमा आए । तर अर्को आश्चर्यको कुरा त के थियो भने निक्सनलाई गोप्य चीन भ्रममा बोलाएर माओले चिनियाँ सञ्चार माध्यमहरुमा अमेरिकाका विरुद्धमा चलिरहेको प्रचार युद्धलाई निकै तेज बनाएका थिए ।

निक्सनले यसमा कुनै पनि दुःख मनाउ गरेका थिएनन् । चिनियाँ रेडियोहरुले निक्सन र अमेरिकालाई अमेरिकी डाँका, शोषक, विश्वका जनताको दुश्मन, हाम्रो ज्यानी दुश्मन भनेर लगातार प्रहार गरिरहेका थिए ।

निक्सन आउँदा एकजना पनि अमेरिकी सेनालाई सिभिलमा पनि नल्याउन माओले गरेको अनुरोध अनुसार निक्सन बिना सुरक्षाकर्मी चीन उत्रिएका थिए । निक्सनलाई चिनियाँ जनमुक्ति सेनाले आफ्नो सुरक्षा घेरा प्रदान गरेको थियो । आफ्नो भ्रमणको समीक्षा गर्दै चीन छाड्नुअघि निक्सनले भनेका थिए– ‘संसार बदलेको एक हप्ता ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार