
हवाई हमला गरी आफ्ना सर्वोच्च सैनिक कमाण्डर क्वासिम सुलेमानीलाई मारिदिएपछि इरानी नागरिकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य तोकेका छन् ।
सुलेमानीको अन्त्येष्टिमा सहभागीहरुले ट्रम्पको टाउको ल्याउनेलाई ८० मिलियन डलर (करिब ८ अर्ब रुपैयाँ) दिने बताएका हुन् ।
हवाई हमला, दुतावास आक्रमण र सैन्य कमाण्डरको हत्यापछि चुलिँदो इरान–अमेरिका तनावले नयाँ मोड लिएको छ। गत साता इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला गरी अमेरिकाले सुलेमानीको हत्या गरेको थियो ।
अन्तेष्टिमा सहभागीहरुले सुलेमानीको हत्याको बदलामा अमेरिकी राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई ८० मिलियन डलर उपलब्ध गराउने अभिव्यक्ति दिएका हुन् ।
भीडमा सहभागीहरुले भनेका छन्,’हाम्रो क्रान्तिका महानायकको हत्या गर्ने पहेंलो कपाल भएको पागलको टाउको ल्याए ८ अर्ब रुपैयाँ उपहार दिन्छौं’ ।
इरानले अमेरिकी भूमीमै आक्रमण गरेर सुलेमानी हत्याको बदला लिने चेतावनी दिइसकेको छ ।अमेरिकी कदम युद्धको घोषणासरह भएको भन्दै तेहरानले गोलीको जवाफ फूलले दिन नसक्ने बताएको हो ।
उता अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना नागरिक र सम्पतिमाथि अब कुनै आक्रमण भए इरानविरुद्ध नयाँ हतियार प्रयोग गर्ने बताइसकेका छन्।







