
इराकबाट अमेरिकी सेना फिर्ता हुँदै छन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन् ।
एक अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख मार्क एस्परले अहिले फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन् ।
अमेरिकी सैन्य जनरलले लेखेको पत्रमा अमेरिकाले आगामी दिनहरूमा फौजलाई स्थानान्तरण गर्ने उल्लेख गरिएको बताइएको छ ।
इराकी संसदले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि सो पत्र लेखिएको थियो ।
अमेरिकी रक्षामन्त्रीले सो पत्र अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने बताए । इराकमा इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्योल सिर्जना भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताएका थिए ।
गत शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए ।







