इराकमा रहेका दुई अमेरिकी सैन्य बेसक्याम्पलाई लक्षित गरेर भएको मिसाइल आक्रमणमा कम्तिमा ८० जना अमेरिकी नागरिक मारिएको इरानले दाबी गरेको छ ।

इरानको राष्ट्रिय टेलिभिजनले बुधबार बिहान गरेको एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तिमा ८० जना अमेरिकी ‘आतंककारी’ को मृत्यु भएको दाबी गरेको हो । तेहरानले १५ वटा मिसाइल आक्रमण गरेको जनाइएको छ ।

इरानको राष्ट्रिय टेलिभिजनले रिभोलुसनरी गार्डका उच्च अधिकारीलाई उद्धृत गर्दै १०० जना भन्दा बढी घाइते भएको दाबी गरेको छ । आक्रमणमा अमेरिकी हेलिकप्टर तथा सैन्य सामग्रीमा गम्भीर क्षति पुगेको समेत इरानी टेलिभिजनको दाबी छ ।

इराकमा रहेका अमेरिकी सैनिकका दुई बेसक्याम्पलाई निशाना बनाएर इरानले बुधबार बिहानै एक दर्जनभन्दा बढी मिसाइल आक्रमण गरेको हो । इराकको इरबिल र अल असदमा रहेका अमेरिकी सैनिकका दुई बेसक्याम्पमा इरानले एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

इरानले सो आक्रमण गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको हवाई आक्रमणमा मारिएका कुड्स फोर्सका प्रमुख मेजर जनलरल सुलेमानीको हत्याको प्रतिशोध रहेको बताएको छ । इरानले गरेको आक्रमणमा मानवीय क्षति भए–नभएको खुलेको छैन ।

इरानका विदेश मन्त्री जावेद जारिफले संयुक्त राष्ट्रसंघको आत्मरक्षा सम्बन्धी व्यवस्था रहेको आर्टिकल ५१ को मातहतमा रहेर अमेरिकी सैनिकका दुई बेसक्याम्पमा आक्रमण गरेको उल्लेख गरेका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘अमेरिकाले कायर तरिकाले हाम्रा उच्च अधिकारी तथा नागरिकमाथि गरेको आक्रमण विरुद्ध निशाना साँधिएको हो । हामी थप तनाव वा युद्ध चाहँदैनौँ, तर हामी विरुद्ध हुने कुनै प्रकारको आक्रमण वा आक्रोसको बदला भने लिन्छौँ ।’

यसअघि अमेरिकी टेलिभिजन सिबिएस न्यूजसँग कुरा गर्दै उनले अमेरिकाले पनि युद्धको मार्ग चाहन्छ भन्ने आफूहरुलाई नलागेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार