इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए।

इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै ‘अन्तिम जवाफ’ हुने राष्ट्रपति रूहानीको भनाइ छ।

‘जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदाविरूद्ध बहादुरीका साथ लडेका थिए। आतंकवादविरूद्ध उनले नलडेका भए युराेपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे,’ इरानी राष्ट्रपतिले बुधबार साँझ आफ्नो आधिकारिक ट्वीटमा भनेका छन्, ‘सुलेमानीको हत्याको बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं।’

इरानी राष्ट्रपतिको टवीट –

General Soleimani fought heroically against ISIS, Al Nusrah, Al Qaeda et al. If it weren’t for his war on terror, European capitals would be in great danger now.
Our final answer to his assassination will be to kick all US forces out of the region.

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको ‘गालामा थप्पड हानेको’ बताएका थिए।

बुधबार बिहान देशका नाममा सम्बोधन गर्दै खामेनीले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइलबाट हमला गरिएको जानकारी दिएका हुन्।

‘हिजो राति मिसाइल आक्रमण गरेर हामीले उनीहरूको गालामा थप्पड हान्यौं। तर सैन्य कारबाही मात्रले पुग्दैन,’ खामेनीले भने, ‘मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्छ। अमेरिका यहाँ आएर युद्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा गरेको सम्बोधनपछि अमेरिका र इरानबीच मडारिएको युद्धको खतरा तत्काललाई टरेको छ।

ट्रम्पले आफ्नो सम्बोधन क्रममा इरानमाथि थप सैन्य कारबाहीको सम्भावना देखाएनन्।

‘इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, जुन यसमा संलग्न सबै पक्षका लागि र यो विश्वकै लागि खुसीको कुरा हो,’ उनले भने, ‘शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार