उत्तर कोरियाका विदेशमन्त्रीलाई पदमुक्त गरिएको छ । दक्षिण कोरियाको एक समाचार माध्यमका अनुसार विदेशमन्त्री रि योङ होलाई हटाएर नयाँ विदेशमन्त्री नियुक्त गर्न लागिएको हो ।

सोलस्थित एनके समाचार संस्थाले होलाई पदमुक्त गरिएको शनिबार बताएको हो । उत्तर कोरियाले होको स्थानमा नयाँ विदेशमन्त्री मन्त्री नियुक्त गर्न लागेको समेत समाचारमा बताइएको छ ।

तर होको स्थानमा नियुक्त गरिने नयाँ विदेशमन्त्रीबारे कुनै विवरण दिइएको छैन । एनकेले एक सुत्रलाई उदृत गर्दै आगामी बिहीबारसम्म नयाँ उत्तर कोरियाले नयाँ विदेशन्त्री नियुक्त गर्ने समेत बताएको छ ।

यता दक्षिण कोरियाले विदेशमन्त्री होलाई हटाउने निर्णयलाई सावधानीसाथ हेरिने बताएको छ । उत्तर कोरियाली मामिला हेर्दै आएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले होलाई पदबाट मुक्त गर्ने कार्यलाई ‘सावधानी पूर्वक लिनुपर्ने’ बताएको हो ।

सन् १९५६ मा जन्मिएका होले यसअघि संगठन तथा निर्देशन विभागको पूर्व उपप्रमुखको रुपमा समेत काम गरिसकेका थिए ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार उक्त विभाग उत्तर कोरियाको सत्तासीन वर्कर्स पार्टीको एउटा अंग भएको र सोही विभागबाट नै राज्यका व्यवस्थापकीय पदमा नियुक्त हुने बताइएको छ ।

विदेशमन्त्री होका बाबु उत्तर कोरियाली सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीका सम्पादक समेत थिए । अंग्रेजी प्रस्टसँग बोल्न सक्ने होले प्योङयाङस्थित विदेशी भाषा पढाइ हुने एक प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

होले पश्चिमी मुलुकसँग जोडिएका विषय हेर्ने महत्वपूर्ण पदमा लामो समय रहेर काम गरेको समेत समाचारमा बताइएको छ । उनी सन् २००३ देखि २००७ सम्म बेलायतका लागि उत्तर कोरियाली राजदूत समेत बनेका थिए ।

साथै उनले आणविक कार्यक्रमसम्बन्धी ६ मुलुकसँगको वार्तामा समेत उत्तर कोरियाको उपविदेशमन्त्रीको रुपमा प्रतिनिधित्व गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार