नेपालीहरुको बीचमा एउटा साझा संस्कृति छ, त्यो हो लाहुरे संस्कति । यो आयआर्जनको आर्थिक आधारसँग जोडिएर दुई-अढाईसय वर्षको लामो अभ्याससँगै एक साँस्कृतिक उपरिसंरचनाका रुपमा अनिवार्य र स्वीकार्य बनिआएको छ । श्रम, पसिना र रगत मिसिएकाले नेपालीहरु यसको सगौरवपूर्ण अपनत्व लिने गरिरहेका छन् ।

सन् १८१६ को सुगौली सन्धिसँगै गाडिएको नवउपनिवेशको आर्थिक जरोलाई पहिलो तथा दोस्रो विश्व युद्ध, ब्रिटिश–इण्डिया गोर्खा पल्टन, पछि इण्डियाको गोर्खा राइफल्स, ब्रिटिश गोर्खाज् र सिंगापुरे लाहुरे हुँदै अहिले राज्य आफैले ‘वैदेशिक रोजगार’को नयाँ आयामका रुपमा यसलाई बिस्तार गरिरहेको छ । । लाहुरे संस्कृति आर्थिक परनिर्भरतासँगै नयाँनयाँ स्वरुप र पहिचान बनाउँदै यसरी झाँगिदै गएको छ ।   यसलाई विकासवादी सिद्धान्त र सोचका आधारमा ‘बाँच्नका लागि संघर्ष’ का रुपमा लिन सकिएला किनभने विश्व ‘ग्लोबल भिलेज’मा परिणत हुँदै गएको छ ।

वर्नस्टिनको सिद्धान्तअनुसार लाहुरे संस्कृतिलाई ‘अनुकूलनको सिद्धान्त’ अन्तर्गत पनि व्याख्या गर्न सकिएला किनभने पूँजीवादीले आफ्नो भयावह संकट टार्नका लागि श्रमिकहरुका लागि आठ घण्टे श्रम ड्युुटी, बेरोगारलाई भत्ता, वृद्ध, सुत्केरी र बालबालिकाका लागि सेवा सविधा, श्रमसंगठनहरु खोल्ने कानुनी प्रावधान, हडताल गर्न पाउने अधिकार आदिलाई आफ्नो अनुकूल बनाएर प्रयोगमा ल्याइरहेको छ । यसले नेपालजस्ता देशमा लाहुरे संस्कृतिको जगेर्नामा टेवा दिइरहेको छ । आर्थिक आधारमा टेकेर जन्मिएको यो लाहुरे संस्कृतिले नेपाली राजनीतिक उपरिसंरचनालाई पनि गुटमुट्याइसकेको छ ।

परिणामस्वरुप नेपालमा राजनीतिक लाहुरेहरु विभिन्न क्याम्पमा भर्ति भएको सगर्व घोषणा गरिरहेका छन् । कोही अमेरिकी राजनीतिक लाहुरे, कोही चाइनिज राजनीतिक लाहुरे, कोही युरोपियन युनियन राजनीतिक लाहुरे त कोही भारतीय राजनीतिक लाहुरे जस्ता विभिन्न क्याम्पमा विभक्त हुन पुगेका छन् । यिनीहरु नेपालमा कसको राजनीतिक क्याम्पले शासन गर्ने भनी एकापसमा मारामार गरिरहेका छन् ।   अहिले अमेरिकी हिन्द–प्रशान्त रणनीति (इण्डो–प्यासिफिक स्ट्राटेजी) को पक्षधर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको अमेरिकी राजनीतिक लाहुरेहरुको पंक्ति बलशाली देखा परेको छ । अहिले अमेरिकी–इण्डिया राजनीतिक लाहुरेको लबीमा यो पंक्ति ‘इण्डो–अमेरिकन पोलिटिकल अलाएन्स’ को हैसियतमा उभिन पुगेको छ ।

नेपालमा उर्जा र भौतिक पूर्वाधार निर्माणका नाममा उपलब्ध गराएको ५१ करोड अमेरिकी डलर सहयोगको ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) लाई संसदबाट पास गराएर कार्यान्वयन गर्न यो पंक्ति भिडन्तमा उत्रिएको छ । यो भिडन्तमा पहिलो शिकार उसकै दुईतिहाईको संसद–सभामुख कृष्णबहादुर महरा पर्न गएका छन् । दुईतिहाईको आफ्नै संसदमा ‘बमबार्ड’ गरेपछि त्यसको दीर्घकालीन राजनीतिक असर कति पर्छ, त्यो पछि त्यसैले बेहोर्नैपर्ने देखिन्छ । तर राजनीतिक लाहुरेका   रुपमा भर्ती हुने क्रममा महराले ‘वान–चाइना पोलिटिकल अलाएन्स’ को जिम्मा लिँदा उनी इण्डो–अमेरिकन पोलिटिकल अलायन्सको निशानामा पर्न गएकोमा द्विविधा छैन ।

प्रम ओलीले त्यतिबेलै कान्तिपुर दैनिकमा अन्तर्वार्ता दिँदै प्राथमिकताका साथ औंल्याएका थिए कि महराले एमसीसी अनुमोदनमा चासो नदेखाएकाले त्यसको कोपभाजनमा परेका हुन् । यसलाई कुटनीतिज्ञहरुले ‘महराको इन्फेक्सनमा अन्तर्राष्ट्रिय क्यान्सरको प्रवेश’का रुपमा अथ्र्याउने गरेका छन् ।        युरोपियन युनियनको पक्षधर रहेका राजनीतिक लाहुरे पनि वर्तमान दुईतिहाईको सत्तामा छन् । यिनीहरु ‘इण्डो–अमेरिकन पोलिटिकल अलायन्स’ सँग नजिकैको सहकार्य गर्छन् । अग्र र उग्र दुबै नदेखिएको यो पंक्ति राजनीतिकरुपमा मौन र गौणजस्तो देखिए पनि कुटनीतिक वृत्तमा ‘इण्डो–अमेरिकन अलायन्स’ पछि दोस्रो खतरनाक राजनीतिक लाहुरेहरुको पंक्तिमा लिइन्छ ।

एनजीओ-आइएनजीओको साधा भेषमा बढी देखा पर्ने राजनीतिक लाहुरेहरुको यो पंक्ति सत्ताधारी, विपक्षीदेखि क्रान्तिकारी भनिने पार्टीहरुभित्र पनि नेतृत्व पंक्तिमा मजाले आसन जमाएर बसेको छ । मुहारमा मुस्कान र नीवमा मसी यसका गुलिया गोलीहरु हुन्, जो नेपाली अनुहार र हातबाट दैनन्दिन प्रयोग भइरहेका छन् । एकताकाको नेपाली जनयुद्धमा ‘नेप्लिज पिपुल्स वार’ का सुप्रिमो पुष्पकमल दाहाल उर्फ प्रचण्ड बेलाबखत उपर्युक्त राजनीतिक अलायन्सका मुकामहरुमा हप्तादिने वा दश दिने भ्रमण तालिम लिन पुगे पनि उनी हालसम्म कुनै पनि विदेशी राजनीतिक अलायन्समा अनुमोदित हुन सकिरहेका छैनन् । आफ्नो पार्टी, सेना र सत्ता बिघटन गरी अरुको राजनीतिक अलाएन्समा ‘फ्रेस’ घुस्न खोजेका उनी अझै ‘रिफ्रेस’ नभएको भनी कसैले पनि भर्ना लिन मानिरहेका छैनन् ।

विदेशी शक्तिकेन्द्रहरुले यसअघि नै ‘युज एण्ड थ्रो’ गरिसकेका उनी भाउ नभएका नेतामा दरिन्छन् । ‘गुमनाम’ हुनुभन्दा ‘बदनाम’ हुन तयार हुने उनी अझैं पनि विदेशी शक्तिकेन्द्रको दलाली गर्नेतिर नै बढी उद्दत नै देखिन्छन् । भूतपूर्व जनमुक्ति सेनानीहरु आफूहरुलाई क्यान्टोन्मेन्टबाट ‘अयोग्य’ भनी हटाइएको पाप तत्कालीन सुप्रिमो रहेका ‘प्रचण्ड’लाई अहिले लागेको भनी खुच्चिङ गरिरहेका भेटिन्छन् । नेपाली फौजी लाहुरेहरु विदेशीको सार्वभौमसत्ताको रक्षक बनेर पनि नेपालका ‘कमाउने छोरा’ र ‘गहना’ तथा ‘इज्जत’का रुपमा स्थापित छन् । उनीहरुलाई नेपालमा रोजगारीको व्यवस्था किन गर्न सकिएन, त्यो नेपालको आफ्नो आन्तरिक समस्या हो । तर हाल देशको सार्वभौमससत्ताको रक्षा गर्न बसेका राजनीतिक पार्टी र तिनका नेताहरु नै स्वदेशको हित रक्षाभन्दा विदेशीको गोटी बन्न किन यतिबिघ्न लालायित छन् र तदनुरुप कित्ताबन्दी भएका छन् ? यो गम्भीर विषय हो ।

हाल सत्ताधारी नेकपाको बैठक यी विविध कित्तामा विभाजित विदेशीका गोटीहरुको कचहरी बन्न पुगेको छ । बैठकमा संसद र देश हाँक्नसक्ने होइन, बरु संसदबाट एमसीसी पास गर्ने-गराउने अमेरिकी पक्षधरलाई ‘सभामुख’ चयन गर्ने रडाको उरालिएको छ ।    सत्ताधारी दल, जसले ‘समाजवाद’ निर्माणको लक्ष्य राखेको छ, त्यसभित्र प्रम ओली पक्षधर  ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ अन्तर्गत ५१ करोड अमेरिकी डलर पाउने लोभमा नेपालको भूगोललाई टेकेर छिमेकी देश चीनलाई घेरा हाल्ने अमेरिकाको इण्डो–प्यासिफिक स्ट्राटेजीको व्याख्याता बनिरहेको छ । अर्को पंक्ति चीनको ओबीओआर र चीनको हित रक्षाको कुरा मात्र गरिरहेको छ । भारतीय गोटीहरु यो झगडामा ‘तर मार्ने’ झिंगे दाउँ थापेर बसिरहेका छन् । तर नेपालको सार्वभौमसत्ताको रक्षा, राष्ट्रको रणनीति तथा कार्यनीति, कूटनीति, छिमेकी तथा वैदेशिक शक्ति राष्ट्रहरुसँगको मैत्रीपूर्ण सम्बन्ध, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, आत्मनिर्भर अर्थतन्त्रको निर्माण आदि विषयहरु यिनीहरुका एजेण्डामा परेका छैनन् ।

यी कुराहरु पुरानै रुपमा लागू हुन सक्छन् वा परिस्कृत गरिनु जरुरी छ, यसबारे कुनै चासो र चिन्तासमेत रहेको देखिदैन । यिनीहरु असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलका सिद्धान्तलाई पञ्चहरुले बनाएका भनेर अथ्र्याउन पनि बेर छैन । जबकि छिमेकी देश भारत असंलग्न परराष्ट्र नीतिमा अडिग देखिन्छ भने अर्को छिमेकी देश चीन पञ्चशीलको सिद्धान्तमा प्रतिवद्ध छ । निषेधात्मक द्वन्द्ववादका शिकार यी ‘इमोश्नल इडियट’ कुन शक्ति राष्ट्रको कसले बढीभन्दा बढी चाकरी गर्न सक्छ भन्नेमा आपसमा जीतहारको पगरी गुथ्न-गुथाउन लालायित देखिन्छन् । हैसियतमा यिनीहरु देशका शासक भए पनि विदेशीका गोटीका रुपमा काम गर्दछन् । माक्र्सवादका प्रणेता कार्लमाक्र्सले यस्तो प्रवृत्तिलाई दलाल तथा यस्ता काम र प्रक्रियालाई दलालीको संज्ञा दिएका छन् । नेपालमा हाल विश्वका विभिन्न शक्तिकेन्द्रहरुको पक्ष-विपक्षमा दलाली खुल्लमखुल्ला र नाङ्गानाङ्गै हुने गरेको छ ।

राजनीतिक लाहुरेहरु स्वदेशमै बस्छन् तर विदेशीका लागि रातदिन काम गरिदिन्छन् । यिनीहरु नेपालमै शासकीय ओहदामा रहेर विदेशीको सेवामा हाजिर भइरहेका हुन्छन् । जसरी लाहुरेहरुमा विदेशीको निर्देशन र हुकुम सर्वोपरि रहन्छ, त्यसैगरी नै नेपालका राजनीतिक लाहुरेमाथि त्यो निर्देशन र हुकम उत्तिकै काबिल रहेको हुन्छ । यसै अर्थमा राजनीतिक लाहुरेको सांस्कृतिक आयाम जीविकोपार्जनका लागि हुने लाहुरेहरुको भन्दा नकारात्मक रुपले गुणात्मक रुपमा भिन्न हुन्छ । लाहुरेहरुलाई मासिक तलबभत्ता दिइन्छ, तर राजनीतिक लाहुरेहरुलाई विदेशी शक्तिहरुले वार्षिक बजेटका रुपमा त्यो भत्ता आर्थिक सहयोग, अनुदान वा ऋण अनुदानका रुपमा उपलब्ध गराइरहेका हुन्छन् । यही आर्थिक प्रलोभन नै दलालीकरणको प्रेरणाको मूल स्रोत बनिरहेको छ ।

मुखमा देश र जनताका कुरा गरे पनि यिनीहरु अन्तस्करणदेखि नै दलालीको बाटोमा अनायासै डो¥याइरहेका हुन्छन् । नेपालमा यो राजनीतिक लाहुरे संस्कृतिका रुपमा विकास भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार