
सत्ताधारी नेकपामा भ्रष्टाचार र अनियमितता मौलाएर गएको भन्दै केन्द्रीय सदस्य लेखनाथ न्यौपानले नेताहरुको सम्पति छानबिन गर्नुपर्ने माग गरेका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको टिपोट प्रस्तुत गर्नेबेलामा टोली नेताहरूले सम्पत्ति विवरण छानबिनको माग गरेका हुन् ।
शुक्रबार रिपोर्ट प्रस्तुत गर्ने १३ नम्बर समूहका नेता लेखनाथ न्यौपानेले कार्यदल बनाएर नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । नेता न्यौपानेले बैठकको आरम्भमै समय लिएर मन्त्री भएपछि कतिसम्म भ्रष्टाचार गर्न पाइने हो भन्दै प्रश्न सोधेका थिए ।
शुक्रबार समूहको निचोड सुनाउँदै पार्टीलाई सुद्धीकरण गर्न अपरिहार्य रहेकाले नेताहरूको सम्पत्ति छानबिन गर्ने र पार्टी सदस्यहरूले सम्पत्ति विवरणलाई पार्टीलाई बुझाउने परिपाटी कडाइका साथ लागु गर्न जोड दिएको ७ नम्बर टोलीमा उपनेता नीरज आचार्यले जानकारी दिए ।
सात नम्बर समूहमा पनि नेताहरूको सम्पत्ति विवरण छानबिन गर्नुपर्ने आवाज उठेको आचार्यको भनाइ छ ।
“कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू अनुशासनमा बाँधिनुपर्छ । सम्पत्तिको लोभमा फस्नुहुँदैन । पार्टीमा सम्पत्ति विवरण बुझाउने गर्नुपर्छ । कार्यदल बनाएर नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने आवाज हाम्रोमा पनि उठेको छ,” आचार्यले बाह्रखरीसँग भने ।
सात नम्बर समूहमै नेपाल सरकारले विभिन्न समयमा यती होल्डिङ कम्पनीलाई जमिन भाडामा दिएको र त्यसमा पार्टी बदनाम भएको भन्दै धारणा सार्वजनिक गर्न माग गरिएको छ ।
“ललीता निवासको जग्गा सम्बन्धी विवादवारे पार्टी–कार्यकर्ता र जनतामा भ्रम र अन्योलता सिर्जना भएको हुँदा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने कुरा उठेको छ,” आचार्यको भनाइ छ ।
वागमती प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्ने सन्दर्भमा पार्टीको निर्णय, हस्तक्षेपले संघीयताको मर्म मिचेको र बहुमत प्रदेशसभा सदस्यको अभिमनविरुद्ध भएको भएको भन्दै सदस्यहरूले प्रश्न उठाएको नीरजले जानकारी दिए ।
कुल १५ समूहमध्ये शुक्रबार ४ वटा टोलीले नेताले रिपोर्ट प्रस्तुत गरेका छन् ।







