
अन्ततः महिलालाई दुव्र्यवहार गरेकोमा गर्व गर्ने एउटा पुरुष अधिकांश श्वेत महिलाको भोट पाउँदै महिला उम्मेदवारलाई हराउँदै राष्ट्रपति बन्न सफल भयो । डोनाल्ड ट्रम्प सबै राजनीतिक नियम कुल्चने गैरराजनीतिक व्यक्ति थिए । उनलाई रिपब्लिकन पार्टीको कुनै पर्वाह थिएन, न त उनले कसैसँग चुनावी साझेदारी नै गरे । उनले डुबाउनेछन् भन्ने जान्दाजान्दै पनि उनलाई ठूलो समूहले रुचायो ।
अहिले बर्नी स्यान्डर्स उदाइरहँदा धेरैलाई लागेको छ, कतै पुरानै कथा त दोहोरिँदैन ? यी बाहिरियाले एउटा लोकप्रियतावादको अभियान नै सिर्जेका छन् । त्यसैले विपक्षी डेमोक्र्याट्सभित्र पनि नयाँ बहस चलेको छ । ट्रम्पका समर्थक सक्रिय छन् र चाँडै डेमोक्र्याट्स नेताको विपक्षमा ओइरिनेछन् ।
प्रारम्भिक चरणमा जोय विदेनलाई पछि पारिसकेपछि डेमोक्र्याट्स उम्मेदवारीमा अहिले स्यान्डर्स अगाडि छन् । उनको चर्चा चुलिएको छ । तर, के स्यान्डर्सले जित्लान् त ? यो दुई सय ७० इलेक्टोरल भोटको हातमा छ । डेमोक्र्याट्सको मुख्य विषय हो– ट्रम्पलाई हराउनु । अझ रोचक कुरा, सिएनएनले जनवरीमा गरेको सर्वेक्षणमा ४५ प्रतिशत डेमोक्र्याट्स जोय विदेनले ट्रम्पलाई हराउनेमा विश्वस्त थिए भने २४ प्रतिशत स्यान्डर्सले ।
सामान्यतया, अस्थिर मतदाता भएका क्षेत्रमा वैचारिक उम्मेदवारले चुनाव जित्ने सम्भावना कम हुन्छ । उदाहरणका लागि ब्यारी गोल्डवाटर र जर्ज म्याकगोभर्न वैचारिक रूपमा प्रबल थिए, तर दुवैले हारे । के यसपटक फरक होला ? पेट ह्याम्बी लेख्छन्– स्यान्डर्स उपयुक्त उम्मेदवार हुन् कि होइनन् भन्ने भन्दा डेमोक्र्याट्सबाट उनी जितेर आए भने के होला भनेर हामीले सोच्नुपर्छ । अहिले उच्च ध्रुवीकरण, संस्थासँगको अविश्वास र सामाजिक सञ्जालको जमानामा ट्रम्पलाई चुनौती दिने नेताका रूपमा स्यान्डर्सलाई हेरिएको छ ।
मूलधारको मुलुकमा प्रजातान्त्रिक समाजवादी उम्मेदवार उठाउनु आफैँमा एउटा जोखिम हो, यसले ट्रम्पलाई दोस्रो कार्यकाल दिलाउने मौका पनि उत्तिकै छ ।
पार्टीमा उदारवादी र मध्यमार्गीबीच फाटो देखिन्छ । मात्र १५ प्रतिशत डेमोक्र्याट्स आफूलाई समाजवादीका रूपमा चिनाउँछन् । त्यसैले समाजवादी एजेन्डा प्रभावकारी नबन्न सक्छ । अन्य ३२ प्रतिशत आफूलाई उदारवादी सम्झन्छन् । ३८ प्रतिशत मध्यमार्गी र बाँकी १४ प्रतिशत कन्जर्भेटिभ छन् । स्यान्डर्सले जतिसुकै निःशुल्क स्वास्थ्य र शिक्षाको विषय उठाए पनि यो कम्युनिस्ट अर्थात् लेफ्ट पार्टी होइन ।
हरेक उम्मेदवारलाई आफ्नो आधारबाहिरको भोट चाहिएको छ । त्यसैले हरेक उम्मेदवारले धेरै खट्नुपर्छ । अहिले बर्नीको तर्कअनुसार संस्थापन पक्षले बेवास्ता गरेका श्रमजीवीको भोट तान्नेछन् । यसले परिणाम दिन सक्ला । तर, अहिलेसम्मका प्रारम्भिक मतदानमा उनले तिनलाई समावेश गरेका छैनन् ।
त्यहाँ समाजवादको विषय पनि छ, जसको छहारीमुनि प्रजातान्त्रिक समाजवाद रहनेछ । तर, यो पनि प्रभावकारी देखिँदैन । धेरै अमेरिकी भन्दै छन्– समाजवादीलाई भन्दा त बरु हामी तेस्रोलिंगी वा मुस्लिम उम्मेदवारलाई भोट दिन्छौँ । त्यसैले त ट्रम्पको समूह समाजवादप्रति कटाक्ष गर्दै स्यान्डर्सलाई पाखा लगाउने दाउमा छ । अमेरिकीहरू व्यक्तिलाई भोट हाल्छन्, विचारलाई होइन भन्ने गरिन्छ ।
ट्रम्पको युगमा यस्तै देखिन्छ । तर, सधैँ यस्तै हुन्छ भन्न सकिन्न । कसरी रेगन र निक्सनले सजिलै दोस्रो कार्यकाल जितेका थिए ? तर, राम्रो गर्दागर्दै पनि क्लिन्टन र ओबामाले दोस्रो कार्यकालका लागि पापड बेल्नुपरेको थियो भन्ने डेमोक्र्याट्सले बुझ्नुपर्छ । लोकप्रिय मत कम भए पनि इलोक्टोरल कलेजले ट्रम्प र बुस दुवैलाई ह्वाइटहाउस जान सघाएको थियो । त्यतिवेला न्युयोर्क र क्यालिफोर्नियाको झिनो अन्तर काम लागेन । फ्लोरिडाले उल्ट्याइदियो । अहिले पनि अस्थिर मत स्यान्डर्सको टाउको दुखाइ बन्न सक्छ ।
के बर्नीले जित्लान् त ? जित्नेछन् । सम्भव छ । सम्भव र सम्भावना फरक हो । अर्थतन्त्र जतिसुकै मजबुत भए पनि डोनाल्ड ट्रम्प इतिहासकै अलोकप्रिय राष्ट्रपति हुन् । पछिल्लो वासिङ्टन पोस्ट-एबिसी सर्वेक्षणअनुसार व्यक्तिगत टक्करमा जुनसुकै डेमोक्र्याट्सका उच्च नेताले ट्रम्पलाई सजिलै हराउन सक्नेछन् । यही कुरा अस्थिर मतदाता भएका पेन्सिलभानिया र मिचिगन राज्यमा पनि लागू हुन्छ जहाँको मत निर्णायक बन्नेछ ।
बर्नी स्यान्डर्सले एउटा अभियान सिर्जेका छन् र उनको चर्चा छ । यद्यपि मूलधारको मुलुकमा प्रजातान्त्रिक समाजवादी उम्मेदवार उठाउनु आफैँमा एउटा जोखिम हो । यसले ट्रम्पलाई दोस्रो कार्यकाल दिलाउने मौका पनि उत्तिकै छ ।
(एभलन अमेरिकी पत्रकार तथा प्रस्तोता हुन्)
सिएनएनबाट







