
शनिबार अमेरिका र तालिवानले कतारको दोहामा एक शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
तर एक हप्ता नबित्दै उक्त सम्झौता धरापमा पर्न सक्ने चिन्ता व्यक्त हुन थालेका छन् । पछिल्ला घटनाक्रमले अमेरिका र तालिवानबीच भएको शान्ति सम्झौता धरापमा पर्न थालेको हो ।
बुधबार अमेरिकी सेनाले तालिवान लडाकुमाथि हवाइ हमला गरेको छ । अमेरिकी सेनाले अफगानिस्तानको हेलमण्ड प्रान्तमा हवाइ हमला गरेको रोइटर्स समाचार संस्थाले जनाएको छ ।
अफगानिस्तानस्थित अमेरिकी फौजले समेत तालिवानको महत्वपूर्ण अड्डा हेलमण्डमा लडाकुहरूलाई लक्षित गरी हवाइ हमला गरेको पुष्टि गरेको छ ।
‘तालिवानले अफगान सुरक्षाकर्मीमाथिको आक्रमणलाई जारी राखेका छन्’, अफगानिस्तानस्थित अमेरिकी फौजका प्रवक्ता सनी लेगेटले ट्विटरमार्फत् भने, ‘त्यस्तो आक्रमणलाई निरुत्साहित गर्न भन्दै रक्षात्मक हवाइ हमला भएको हो ।’
लेगेटले शान्ति सम्झौताप्रति अमेरिका प्रतिबद्ध रहेको तर आवश्यक पर्दा अफगान सुरक्षाकर्मीलाई सुरक्षा प्रदान गरिने पनि बताए । ‘तालिवान नेतृत्वले अन्तर्राष्ट्रिय समुदायसँग हिंसा कम गर्ने र थप आक्रमण नगर्ने प्रतिबद्धता जनाएको छ’, उनले भने, ‘हामी तालिवानलाई अनावश्यक आक्रमण बन्द गर्न र प्रतिबद्धता पूरा गर्न आग्रह गर्छौं ।’
मंगलबार तालिवानले गरेको हमलामा अफगान सुरक्षाबलका २० जना सदस्य मारिएपछि अमेरिकाले उनीहरुमाथि हवाइ हमला गरेको हो ।
तालिवालने मंगलबार कुन्दुज इलाकामा रहेका ३ वटा सैन्य शिविरमा आक्रमण गरेको थियो । उक्त सैन्य शिविरमा सेना र प्रहरीका जवान तैनाथ गरिएको थियो ।
यता शान्ति सम्झौता धरापमा पर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तालिवानका नेताबीच कुराकानी भएको छ । मंगलबार ट्रम्प र तालिवानका नेताबीच टेलिफोनमा कुराकानी भएको हो ।







