हुबेइ प्रान्तको वुहान सहरलाई केन्द्रविन्दु बनाएर फैलिएको नयाँ कोरोना भाइरसका कारण चीन यतिबेला आन्तरिक विपत्तिमा छ भने यसैका नाममा चिनियाँमाथि भएको विभेदका कारण बाह्य जगतबाट आक्रान्त पनि । यसै पनि उदाउँदो चीनप्रति पश्चिमा दृष्टि अनुदार नै देखिन्छ । चीनका सकारात्मक कुराहरू ‘अनदेखा’ गर्ने पश्चिमा मिडियाहरू चीनको आत्मसम्मानमाथि ठेस पुर्याउने सामग्रीका लागि यतिखेर यथेष्ट ‘स्पेस’ दिन तयार देखिन्छन् ।
हालै डेनमार्कको अखबार जुटल्यान्ड पोस्टले एउटा चित्र छाप्यो जसमा चिनियाँ झण्डामा हुनुपर्ने ताराको सट्टा पाँचवटा भाइरसका चित्र कोरिएको थियो । त्यस्तै फ्रान्सको एउटा पत्रिकाले ‘येल्लो अलर्ट’ अर्थात् पहेँलो चेतावनी भनेर सामग्री छाप्यो । चिनियाँहरूलाई पहेँला मानिस मानिन्छ । पत्रिकाले संकेत गर्न खोजेको चिनियाँ जातिमाथिको प्रहार नै थियो । जर्मनीको डेर स्पिगल म्यागेजिनले कभर पेज नै ‘कोरोना भाइरसः मेड इन चाइना’ बनाएर प्रकाशित गर्यो । अमेरिकाको वालस्ट्रिट जर्नलले ‘चाइना इज द रियल सिक् म्यान अफ एसिया‘ अर्थात् चीन एसियाको वास्तविक रोगी भनेर विचार प्रकाशन गर्यो । यी त पश्चिमा जगतका नामी पत्रिकाहरूले गरेका भेदभावयुक्त प्रहार थिए, अन्य देशका कतिपय सञ्चारमाध्यमहरूले पनि जानी नजानी चिनियाँ जातिमाथि नकारात्मकता फैलाएका छन् ।
सन् २००९ मा अमेरिकाबाट एच१एन१ को महामारी फैलियो । विश्वव्यापी १८ हजार ४०० भन्दा बढी मानिसको ज्यान जानेगरी फैलिएको यो भाइरसपछि कुनै पनि देशले अमेरिकी मुलुकलाई सिक् म्यान (रोगी) भनेर उपहास गरेन। सार्स, जिका, स्वाइनफ्लू, इबोला, मेर्स लगायत विश्वमै मानव जगतमाथि ठूला विपत्ति आइलाग्दा यसको सामना गर्न चीनले समन्वयकारी भूमिका खेलेको थियो । अहिले कोरोना विरूद्ध विश्वजगत नै जुट्नुपर्ने अवस्थामा द्वेषपूर्ण भावना लिएर चीनमाथि प्रहार भैरहेको छ ।
भेदभावयुक्त गतिविधिले चिनियाँ मात्रै होइन, अन्य एसियालीहरू पनि प्रताडित हुन थालेका छन् । चीनको सीजीटिएन टेलिभिजनले चीनमा कोरोना भाइरस देखापर्ने बित्तिकै केही देशहरूले चीन र चिनियाँ जातिमाथि लक्षित मानवताविरोधी भेदभाव गर्न थालेको टिप्पणी गरेको छ । हालै प्रस्तोता लिउ सिनले विभिन्न देशका मिडियाले गरेका विभेदका सामग्रीहरू संकलन गरेर एउटा टिप्पणी प्रस्तुत गरेकी थिइन् । उनी तिनै प्रस्तोता हुन् जो गत मे मा चीन र अमेरिकाबीच व्यापार युद्धलाई वार्तामा रूपान्तरण गर्ने पहलमा केन्द्रित एउटा संवादमा फक्स न्यूजकी प्रस्तोता ट्रिश रेगनसँग एउटै ‘स्क्रिन’मा उत्रिएकी थिइन् ।
विश्वका विभिन्न क्षेत्रमा रहेका चिनियाँहरूले अपमान सहनुपरेको, सुपरमार्केट, सबवे वा बाटोमा हिँड्दा चिनियाँ देख्नेबित्तिकै विदेशीहरू तर्किने, खासखुस कुरा काट्ने जस्ता विभेदपूर्ण गतिविधिले भरिएका भिडियो सामग्रीहरू अचेल चिनियाँ सञ्चारमाध्यममा देख्न सकिन्छ। कतिपय अवस्थामा चिनियाँमाथि चर्को स्वरले कराउने, छिःछिः दूर् दूर् गर्नेखालका गतिविधिले चिनियाँ मात्रै होइन, मानवतामाथि नै घृणा फैलिएको जस्तो लाग्छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको प्रारम्भिक चरणमै चीनले लगाम कसेको भए स्थिति यति जटिल बन्दैन थियो भन्दै चीनमाथि आलोचना गर्नेहरू धेरै छन् । सन् २०२० को सुरूवातीदेखि नै वुहानमा कोरोनाको कहर चलिसकेको रहेछ तर यो कुरा प्रयोगशालाबाट पुष्टि भएर सम्बन्धित निकायहरूसम्म पुग्दा केही समय घर्किसकेको थियो। जब बेइजिङले जनवरी २३ तारिख वुहानमा ‘लक डाउन’ गर्यो, त्यसपछि मात्रै अमेरिका लगायतका देशहरूले आफ्ना नागरिक त्यहाँबाट विस्थापित गर्ने तत्परता देखाएका हुन् ।
चीनको सबैभन्दा ठूलो र लामो वार्षिक विदाको पूर्वसन्ध्यामा यति रमाइलो वातावरण जारी रहँदा कोरोनाको वितण्डा उति चर्को रूपमा सतहमा आइसकेको थिएन । चिनियाँ नयाँ वर्षको लामो विदा परेकाले पनि कोरोनाको विकासक्रम तीव्र भयो । जतिखेर महामारी फैलिएको संकेत पायो, चीनले गम्भीरतापूर्वक यसको सामना गर्ने तदारूकता देखाइहाल्यो । यो तथ्य छिपेको छैन ।
चमेरोले पासपोर्ट बोक्दैन, यदि चमेराका कारण कोरोना फैलिएको हो भने यो संसारमा जताततै उडेर पुग्नसक्छ। चीनको ‘जिम्मेवारी ठीक भएन’ भन्नेहरूले यथोचित विकल्प दिन सकिरहेका छैनन् । चिनियाँलाई मात्रै होइन, यो भाइरसले विश्वका जो कोही नागरिकलाई पनि आक्रमण गर्नसक्छ, गरेको छ। भाषिक जटिलता भएको मुलुक चीनमा विदेशीहरू सबैभन्दा बढी अफ्ठ्यारोमा पर्नुपर्ने हो तर ती नागरिक आफ्नै सरकारको ढिलासुस्तीले पीडित भए होलान् । परन्तु चिनियाँ निकायहरूले विदेशीका लागि गरिरहेको भरमग्दूर प्रयासका अघिल्तिर संसारका अन्य देशको भेदभावरहित हेरचाह फिक्का नै ठहर्नेछ ।
चीनबाट फर्किएका विदेशीहरूले विपदामा चीनको व्यवहारलाई लिएर कुनै रूखो लाञ्छना लगाएको देखिँदैन । तर जसले वुहान टेकेका छैनन् र चीनलाई गम्भीर रूपमा बुझ्न सकिरहेका छैनन्, उनीहरू हुँइयाँका भरमा चीनमाथि हिलो छ्यापिरहेको देखिन्छ। ‘हरेक मुलुक महान् छन्, हरेक मुलुकमा समस्या छन्, वर्तमान कोभिड-१९ को पीडादायी घडीमा पश्चिमा जगतका संचारमाध्यममा नकारात्मक र पूर्वाग्रही हेडलाइन देखिइरहेका छन्’, चाइना डेलीसँग इटालियन अमेरिकन लेखक मारिओ क्याभोलोले चीनप्रति पश्चिमाको संवेदना हराएको महसुस गर्छन् । ‘म कोरोना होइन, मानव हुँ’ जस्ता पोस्टर छातीमा टाँसेर विकसित मुलुकका सडकमा उभिएका चिनियाँ देख्दा उस्तै अनुहार देखिने अन्य एसियालीको पनि शीर निहुरिन्छ ।
अहिले चीनको वुहानमा कोरोना भाइरसका कारण सैयौंको हताहती र अर्बौंको आर्थिक क्षति भइरहेको छ । त्यहाँ चिकित्सकहरू आफैं इन्तु न चिन्तुको अवस्थामा उपचारमा जुटिरहेका छन् । भ्याक्सिन पत्ता लगाउन वैज्ञानिकहरू मरिमेटेका छन् । चीन विश्वव्यापी समन्वयका लागि जुटिरहेको छ । विश्व स्वास्थ्य संगठन चिन्तित छ । भाइरसकै कारण विश्व मानव जगत बेचैन छ । यस्तो बेलामा चीनको अथक मेहनतको प्रशंसा वा हेलाँ, के गरिनुपर्छ ? जो कोहीले पर्गेल्न सक्ने प्रश्न हो ।
अभिव्यक्ति स्वतन्त्रताको अर्थ मानवीयता, राष्ट्रियता वा जातियतामाथिको द्वेष फैलाउनुलाई किमार्थ मान्न सकिँदैन । वास्तविक मित्र त्यो हो, जसले संकटमा साथ दिन्छ । चीनले धेरै देशहरूमा मित्रताको हात फैलाउँदै गएको छ । यतिखेर चीन दुःखमा छ, दुःखको बेलामा सजग भएर साथ दिनुपर्छ । साथ दिन नसकेको अवस्थामा सान्त्वना दिनुपर्छ । चीन पुनः पूर्ववत् अवस्थामा फर्किएला नै । एउटा दृढ मुलुकको वास्तविकतालाई नजरअन्दाज गर्दै जथाभावी टिप्पणी गर्नु कुनै पनि नागरिक वा मुलुकका लागि राम्रो होइन ।







