अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमार्फत नोभेल कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेको भन्दै चीनले आक्रोश व्यक्त गरेको छ ।

ट्रम्पले सोमबार गरेको ट्विटमा विश्वभर फैलिएको नोभोल कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका थिए । उनले ट्विटमा भनेका थिए, “चिनियाँ भाइरसबाट प्रभावित उद्योग, विमान कम्पनीलाई संयुक्त राज्यले बलियो सहयोग गर्नेछ । हामी विगतभन्दा निकै शक्तिशाली भएका छौं ।”

ट्रम्पको उक्त अभिव्यक्तिमा प्रयोग गरिएको ‘चिनियाँ भाइरस’ को संज्ञाप्रति चिनियाँ विदेश मन्त्रालयले आक्रोश व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई चेतावनी दिँदै भनेको छ,” चीनलाई आरोप लगाउनुभन्दा पहिले आफ्नो मामिलामा ध्यान दिइयोस् ।”

सन् २०१९ मा पहिलोपटक चीनको वुहानमा नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ का संक्रमित भेटिएका थिए । यद्पि गत साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले षड्यन्त्रको सिद्धान्तअनुरुप चीनमा अमेरिकी सेनाले कोरोना भाइरस फैलाएको आरोप लगाएका थिए ।

उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलाई चीनलाई आरोप लगाएर गलत सूचना फैलाउन बन्द गर्न माग गरेका थिए ।

विश्वभर हालसम्म एक लाख ७० हजार कोरोना संक्रमित भेटिएका छन् । जसमा ८० हजार चीनमा मात्र भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको  छ । यद्पि मंगलबार भने चीनमा एकजना मात्रै कोरोनाको स्थानीय संक्रमित भएको र अन्य विभिन्‍न मुलुकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस देखिएको चीनले दाबी गरेको थियो ।

कुनै क्षेत्र वा समूहलाई आरोपित नगर्न डब्लुएचओको चेतावनी 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कुनै क्षेत्र वा समूहलाई यस भाइरसँग जोडेर आरोपित नगर्न चेतावनी दिएको छ । उक्त चेतावनीसँगै डब्लुएचओले यस भाइरसको नाम को- कोरोना, भी- भाइरस र डी- डिजिज् र संक्रमण सुरु भएको वर्ष २०१९ लाई एकत्रित गरी यस भाइरसको नाम कोभिड-१९ राखेको थियो ।

तर, पनि केही अमेरिकी अधिकारीहरुले यस भाइरसलाई बारम्बार चिनियाँ भाइरस भन्‍ने गरेका छन् । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यस भाइरसलाई ‘वुहान भाइरस’ को संज्ञा दिएका थिए ।

राष्ट्रपति ट्रम्पले सोमबार यसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले चीनलाई आरोपित गर्न अधिक ट्विट गरिएको बताए ।

उनले भने, “हामी अमेरिकालाई आफ्नो गल्ती सच्याउन र, चीनविरुद्ध आधारहीन आरोप लगाउन बन्द गर्न आग्रह गर्छौं ।”

चिनियाँ समाचार संस्था सिन्ह्‍वाले राष्ट्रपति ट्रम्पको भाषा ‘नस्लवादी’ र ‘पूर्वाग्रही’ भएको उल्लेख गरिएको छ । सिन्ह्वाले भनेको छ, “भाइरसको जोखिम बढिरहेका बेला एक राजनीतिज्ञको गैरजिम्मवारीपन र गैरप्रतिस्पर्धी भएको प्रमाणित हुन्छ ।”

राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिप्रति अमेरिकीहरुले समेत आलोचना गरेका छन् । न्युयोर्कका मेयर बिल डी ब्लासियोले एसियन-अमेरिकनप्रतिको कट्टरपन्थी व्यवहार देखाएको बताएका छन् । –बीबीसी 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार