
जर्मनीको हेसे राज्यका वित्तमन्त्री ५४ वर्षीय थोमस शाफेर मृत फेला परेका छन् । उनले आत्महत्या गरेको जर्मन अधिकारीहरुले बताएका छन् ।
नोभोल कोरोना भाइरसको संकटको अवस्थालाई लिएर उनी निकै निराश रहेको हेसे राज्यका गर्भनर भोल्कर बुफियरले आइतबार बताएका छन् ।
जर्मन चान्सलर एन्जेला मर्केलको क्रिश्चिय डेमोक्रेटिक युनियका सदस्यसमेत रहेका थोमस फ्र्याङफर्टस्थित होछेम नजिकैको रेलको ट्र्याकमा शनिबार मृत भेटिएका थिए ।
प्रहरी र अभियोजकहरुले गरेको अनुसन्धान र प्रत्यक्षदर्शीको बयान लिँदा उनले आत्महत्या गरेको निष्कर्ष निकाले हुन् ।
गभर्नर बुफियरले थोमसको मृत्युलाई कोरोना भाइरसको संकटसँग जोडेका छन् । बुफियरले भने, “कोरोना संकट बढ्दै जाँदा जनताको अपेक्षालाई पूरा गर्न आर्थिक सहयोग गर्न सफल भइन्छ कि भइँदैन भनेर चिन्ता व्यक्त गरेका थिए ।”
“यस कुराबाट अनुमान लगाउन सकिन्छ कि यस्तै चिन्ताका कारण उनले आत्महत्या गरे,” बुफियरले भने, “उनले कुनै स्पष्ट उपाय पत्ता लगाउन सकेनन् । उनी निराश थिए र हामीलाई छोडे ।”
जर्मनीको संघीय र राज्य सरकारहरुले कोरोना संक्रमण रोक्न गरिएको लामो समयसम्मको बन्दले जनजीवन प्रभावित हुन नदिन ठूलो राहत प्याकेज तयार गरेका छन् । – एपी







