
थाइल्याण्डका विवादित राजा महा वाजिरालोङकर्न उर्फ राम दशम कोरोना संकटबाट गुज्रिरहेका जनतालाई छाडेर जर्मनी गएका छन् ।
राजा महाले जर्मनीको एक आलिसान होटललाई आफ्नो बासस्थान बनाएका छन् । मिडियाहरुमा बाहिरिएको खबर अनुसार उनी कोरोनाबाट बच्न र यस्तो बेलामा समेत मोजमस्तीमा मस्त हुन जनतालाई छाडेर जर्मनी भागेका हुन् ।
होटलभित्र रहेको उनको मिनी राज्यमा उनैले साथै लगेका २० महिला समेत रहेका मिडिया रिपोर्टमा दाबी गरिएको छ ।
योसँगै राजा महाले आफूसँगै ठूलो संख्यामा नोकरचाकरहरुलाई समेत लगेका छन् ।
थाइल्याण्डका यी राजाले कोरोना संकट गहिरिँदै गएपछि आफ्ना सेवकसँगै जर्मनीको अल्पाइन रिसोर्टस्थित एक लग्जरी होटलमा आफूलाई आइसोलेट गरेको बताइएको छ ।
उनले होटल ग्राण्ड सोन्नेबिचलको पूरा बुक गरेका छन् । राजा महा सन् २०१६ मा उनका पिताको निधनपछिदेखि थाइल्याण्डको राजगद्धीमा छन् ।
र्मन पत्रिका बिल्डमा छापिएको रिपोर्टअनुसार जीवनको ६७ औं बसन्त देखिसकेका यी राजासँग उनको त्यो मिनी राज्यमा २० युवती र ठूलो संख्यामा सेवकहरु समेत छन् ।
कोरोना भाइरसको आतंकपछि राजा बसिरहेको इलाकाका अधिकांश होटल तथा गेस्टहाउस बन्द गर्न भनिएको छ ।
यसैबीच, संकटको बेला राजा भागेर जर्मनी गएको खबरले थाइल्याण्डका जनतामा भने आक्रोश पैदा गरिरहेको बताइएको छ । ठूलो संख्यामा मानिसहरु सामाजिक सञ्जालमा राजाको आलोचना गरिरहेका छन् ।
त्यहाँका १२ लाखभन्दा बढी मानिसले ‘हामीलाई यस्तो राजा किन चाहियो ?’ भन्दै ट्वीट गरिसकेका छन् ।







