कोरोना संक्रमण कति समय लम्बिन्छ भन्ने पुर्वानुमान नहुँदै पश्चिमा अनुसन्धान संस्थाले सन् २०२० मा विश्व अर्थतन्त्र १ प्रतिशतभन्दा ज्यादा बढ्न नसक्ने प्रक्षेपण गरेका छन्।

इकोनोमिस्ट इन्टिलिजेन्स युनिट नामक बेलायती संस्थाले गत बुधबार यस्तो प्रक्षेपण सार्वजनिक गरेको थियो। यो विश्व आर्थिक मन्दीपछिकै सबैभन्दा कम हो। भाइरस संक्रमण सुरु हुनुअघि विश्व अर्थतन्त्र २.३ देखि २.४ प्रतिशत बढ्ने अनुमान गरिँदै आएको थियो।

कोरोनाले संसारभरको आर्थिक गतिविधि ध्वस्त पारेको छ। अमेरिकी पत्रिका पोलिटिकोले उक्त भाइरसका कारण संसारै बदलिने उल्लेख गरेको छ। यसले पछिल्ला वर्षमा ‘विश्व ग्राम’ भन्न थालिएको संसारको सघन सामिप्यतालाई खतम पार्नसक्ने उल्लेख गरेको छ। यो संक्रमणले संसारभरका मानिसको जीवनशैली, जनस्वास्थ्य प्रणाली, अर्थतन्त्र मात्र होइन, जनता र सरकारबीचको सम्बन्ध पनि पुनः परिभाषित गर्नसक्ने उक्त पत्रिकाले लेखेको छ।

कोरोना संक्रमणपछि कच्चा तेलको भाउ १९ वर्षयताकै सस्तो भएको छ। चीन र एसियाली क्षेत्रमा मात्रै कोरोना प्रकोप देखिँदा चुलिएको सुनको भाउ पश्चिमा मुलुकमा संक्रमण फैलिएसँगै ओरालो लागेको छ। ऐतिहासिक रूपमै लगानीको सबैभन्दा सुरक्षित गन्तव्य मानिने सुनमा अहिले लगानीकर्ता आकर्षित हुन सकेका छैनन्। सम्भावित भावी आर्थिक मन्दीको त्रासले लगानीकर्तालाई हतोत्साही बनाएको बीबीसीले उल्लेख गरेको छ।

सन् २०२० को पहिलो २ महिनामा चीनको औद्योगिक उत्पादन साढे १३ प्रतिशत घटेको विवरण पनि बीबीसीले उल्लेख गरेको छ। संसारको एक तिहाइ औद्योगिक उत्पादन चीन एक्लैले गर्छ। चीनको औद्योगिक उत्पादन घट्दाको परिणाम संसारभर कार निर्मातादेखि रासायनिक पदार्थको प्रयोग गर्ने अधिकांश उद्योग मारमा परेका छन्।

अमेरिका, बेलायतदेखि अधिकांश मुलुकका केन्द्रीय बैंकले ब्याजदर घटाएर लगानी र उपभोगलाई प्रश्रय दिन खोजे पनि मानिसहरू घरबाट बाहिर निस्कनै नसक्ने अवस्थाले त्यस्ता अवसरको प्रयोग हुन सकेको छैन। विश्वभरका सेयर बजारमा लगानीकर्ताले अर्बौं डलर गुमाएका छन्। यसको सबैभन्दा ठूलो मार हवाई सेवा र होटेल तथा रेस्टुरेन्टमा परेको छ। युरोपेली संघले हाल लगाएको ३० दिने बाह्य उडान प्रतिबन्धबाट मात्रै १ करोड दुई लाख सिट क्षमताको उपभोग कटौती भएको अनुमान छ।

कोरोना संक्रमणका कारण वातावरण प्रदूषण नियन्त्रणमा भने बल पुगेको छ। अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासालाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको स्याटेलाइटमा कोरोना संक्रमणपछि तस्वीरमा चिनियाँ आकाश सफा भएको देखिन्छ।

मूलतः नाइट्रोजन अक्साइडनामक हानिकारक ग्यास चीनको आकाशमा झन्डै पूर्णरूपले हटिसकेको उल्लेख छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार