
प्रिन्टिङ् मेशिन खरिद प्रकरणमा कमिशन माग गरेको अडियो सार्वजनिक भएसँगै संचारमन्त्रीबाट राजिनामा दिएर बसेका नेकपाका नेता गोकुल बास्कोटाले उच्चस्तरिय उच्चस्तरिय संयन्त्र नचाहिने भन्दै कटाक्ष गरेका छन् ।
विहिबार साँझ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजनसँग कुरा गर्दै सरकारका काममा सहयोग गर्न उच्चस्तरिय सर्वदलिय संयन्त्र बनाउनुपर्ने र त्यो प्रधानमन्त्रीको नेतृत्वमा बनाउनुपर्ने बताएका थिए ।
प्रचण्डको सोही भनाईप्रति लक्षित गर्दै बास्कोटाले ठाडै खारेज गर्नुपर्ने बताएका हुन् । बास्कोटा आफ्नो अडियो सार्वजनिक भएर राजिनामा दिएसँगै प्रचण्डप्रति निकै अनुदार अभिव्यक्ति दिईरहेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन् ‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन।सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरना बिरुद्ध अहोरात्र हातेमालोसाथ कार्यरतछन।अनिसगै स्वास्थ्यकर्मी,सेना,पुलिस,कर्मचारी र नागरिक युद्मोर्चा मै। तब संबिधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियो ? ठाडै खारेज गर,सरकार।’
उनको यो भनाई प्रचण्डको भनाईप्रति लक्षित रहेको नेकपाकै एक नेताले बताए । पछिल्लो समय सरकारका कामकारवाहीप्रति तिव्र विवादित र आलोचित हुनथालेपछि साविक एमालेका नेताहरु आफ्नै पार्टीका अध्यक्षप्रति खनिने गरेका छन् ।
उनीहरुको बुझाईमा सरकारको आलोचना हुनुमा प्रचण्डको हात रहेको र सरकारलाई असफल बनाउन लागिरहेको आरोप लगाईरहेका छन् । तर प्रचण्ड भने सरकारको बचाउमा आफ्ना धारणाहरु राखिरहेका छन् ।








