US President Donald Trump (C) and his White House physician Dr. Ronny Jackson (L) listen as US Secretary of Veterans Affairs David J. Shulkin speaks about new technology used by the Department of Veterans Affairs during an event in the Roosevelt Room of the White House August 3, 2017 in Washington, DC. / AFP PHOTO / Brendan Smialowski (Photo credit should read BRENDAN SMIALOWSKI/AFP via Getty Images)

न्युयोर्क यतिबेला कोरोना भाइरसको सबैभन्दा ठूलो युद्ध लडिरहेको छ । यहाँको स्वास्थ्य कर्मचारीका लागि कठिनाइ भइरहेको छ । एकपछि अर्को मृत्युको भयानक दृश्य देखिइरहेको छ ।

न्युयोर्कका एक सिनियर प्यारामेडिक (स्वास्थ्य कर्मचारी) एन्थोनी अलमोरेजाले न्युयोर्कको यो महामारीलाई नजिकबाट नियालिरहेका छन् । उनी मृत व्यक्तिको नजिक रहन अभ्यस्त भए पनि १७ वर्षको आफ्नो जागिरे जीवनमा कोरोना भाइरसको महामारीका लागि आफूलाई तयार बनाउन सकेनन् ।

न्युयोर्कमा संसारका कुनै एक देशमा देखिएका भन्दा बढीमा कोरोना संक्रमण भएको छ । एन्थोनी हरेक दिन १६ घन्टाभन्दा बढी न्युयोर्कमा जनताको जीवन बचाउनका लागि उपचारमा खटिइरहेका छन् । यसका साथै उनले आफ्ना सहयोगीहरूलाई पनि सहयोग गरिरहेका छन् ।

एन्थोनी एक लेफ्टिनेन्ट प्यारामेडिक हुन् र उनी न्युयोर्कको इमर्जेन्सी मेडिकल सर्भिसेज अफिसर्स युनियनको फायर डिपार्टमेन्टका उपाध्याक्ष पनि हुन् । उनले आफ्नो करिअरकै कठिन एक दिन कसरी बित्यो भन्ने अनुभव बताएका छन् ।

एक राम्राे निद्रापछि दिनको सुरूवात

मेरो अघिल्लो रात राम्रो भएको थियो । म ५ घन्टा मज्जाले निदाएँ । म तयार भएर बिहान ६ बजे नै ब्रुकलिनको सनसेट पार्कमा पुग्नु थियो, जहाँ मैले १६ घन्टा काम गर्नु थियो ।

मैले पोशाक लगाएँ, आफ्नो रेडियो बोकेँ र आफ्ना उपकरणलाई संक्रमणमुक्त गर्ने प्रक्रिया सुरू गरेँ । मैले रेडियो, चाबी, ट्रक्ट, झोला र बाँकी सामान पनि सफा गरेँ । भाइरस हरेक वस्तुमा रहन सक्छ । केही पनि सुरक्षित छैन, सहयोगी पनि छैन । युद्धमा तपाईं गोली देख्नुहुन्छ र दुस्मन देख्नुहुन्छ ।

यो एक यस्तो युद्ध हो, जसमा हामी एक अदृश्य गोलीसँग लडिरहेका छौँ । तपाईं कुनै संक्रमितको सम्पर्कमा पुग्नुभयो भने तपाईंलाई पनि संक्रमण हुने खतरा हुन्छ । म ६ बजे काममा पुगेँ । मैले रेडियो सुन्न सुरू गरेँ, जो कि ७ बजेदेखि ब्यस्त भइसकेको थियो । मलाई आधा रातदेखि १ हजार ५ सय फोन कल आइसकेका थिए । मलाई असाइन्मेन्टमा बोलाइयो, जहाँ एक हृदयाघातका बिमारी थिए ।

हरेक दिन ६५ सय फोन

एक लेफ्टिनेन्टका रूपमा म मेडिक र इमर्जेन्सी मेडिकल टेक्निसियन क्रुसँग सहयोगका लागि जान्छु र आवश्यक संसाधन उपलब्ध गराउँछु । यतिबेलो धेरै संसाधन छैनन् । किनकि दिनमा ६ हजार ५ सयभन्दा बढी फोन कल आउँछ । न्युयोर्कको इमर्जेन्सी मेडिकल सर्भिसेज (ईएमएस) संसारकै सबैभन्दा ब्यस्त सेवा हो । यहाँ हरेक दिन ४ हजार फोन कल आउँछन् ।

कहिलेकाँही अत्यधिक गर्मी (हिटवेभ) या तुफान आयो भने यहाँको फोन ब्यस्त हुन्छ । तर, यसअघि सबैभन्दा ब्यस्त दिन ११ सेप्टेम्बर, २००१ मा ट्विन टावर हमलाका बेला भएको थियो । त्यस दिन ६ हजार ४ सय कल आएका थिए मला थिए ।

तर, यी ६ हजार ४ सय कल गर्ने व्यक्ति बिरामी थिएनन् । अब हरेक दिन ११ सेप्टेम्बरजस्तो छ । जसमा हरेक बिरामी हुन् । हामीले २० मार्चमा कल बढाएका थियौँ । तर, २२ मार्चसम्म फोनको बाढी नै आयो, जब फोनकलमा गरिएको यो बढोत्तरीलाई सिस्टमले समेत धान्न सकेन ।

हामीसँग अहिले रहेको संसाधनले धान्ने अवस्था थिएन भने अर्को बाटो पनि थिएन । करिब २० प्रतिशत काम गर्नेहरू बिरामी छन् । हाम्रा केही सदस्यहरूमा कोरोना संक्रमण भइसकेको छ, केही आईसीयूमा छन् । २ जनालाई भेन्टिलेटरमा राखिएको छ । हाम्रा ७ सय जनामा लक्षण देखिएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । हामी घर पुग्यौँ र मैल मास्क, गाउन र पञ्जा लगाएँ ।

पहिलो कल, हृदयाघातको बिरामी

हामीले एक व्यक्ति भेट्यौँ । उनको परिवारले उनलाई ५ दिनदेखि ज्वरो र रूघाखोकी लागेको जानकारी दियो । हामीले सीपीआर सुरू गर्‍यौँ, श्वास फेर्न सजिलो होस् भनेर उनको घाँटीमा ट्युब हालियो र आईभी सुरू गरियो । उनलाई आधा घन्टासम्म प्रयास गर्दा पनि बचाउन सकिएन ।

हाम्रो टोली सुरक्षित होस् भनेर हामी त्यहाँबाट फिर्ता भयौँ । त्यसपछि सबै वस्तु संक्रमणमुक्त बनायौँ र त्यसपछि मैले हामी खाली रहेको जानकारी दिने स्वीच दबाएँ ।

फेरि कल, हृदयाघात र मृत्यु

२० मिनेटपछि मलाई एक अर्को हृदयाघातको बिरामी मिल्यो । त्यही लक्षण, त्यही प्रक्रिया र त्यही नतिजा । यो भाइरसले फोक्सोमा हमला गरिरहेको छ । त्यसपछि श्वास फेर्न समस्या हुन्छ । त्यसपछि अंगहरू फेल हुन सुरू हुन्छ । हामीले फेरि स्वीच थिच्यौँ र एक कल आयो ।

यस क्रममा १ बिरामी यस्ता आए कि उनी शायद कोभिड–१९ बाट परस्त थिएनन् । उनले आत्महत्या गरेका थिए । म त्यहाँ थिएँ, तर मेरो दिमागले राहत महसुस गरिरहेको थियो ।

ती व्यक्ति मरिसकेका थिए र यो आत्महत्या थियो । यो मेरा लागि राहत थियो, किनकि यो मेरो नियमित काम थियो । बिहानको करिब ११ बजेको थियो, मैले करिब ५ जनामा हृदयाघात भएका बिरामी देखिसकेको थिएँ । सामान्य अवस्थामा एक सातामा यस्ता २ देखि ३ वटासम्म घटना आउँथे । अब सातौँ कल आयो ।

३ दिनभित्र बाबु र आमाको मृत्यु

हामी भित्र गयौँ, एक महिला भुइँमा बसेकी थिइन् । मैले ती महिलाले आफ्नी आमामाथि सीपीआर गरिरहेको देखेँ । उनले आफ्नी आमाले श्वास लिन नसकिरहेको बताइन् र उनमा कोरोनाको लक्षण थियो । हामी उनलाई बचाउन कोसिस गर्न थाल्यौँ ।

उनले केही दिनअघि आफ्ना बाबु बिरामी हुँदा यहाँ आएको हामीलाई सम्झाइन् । त्यसको केही समयपछि उनकी आमाको पनि मृत्यु भयो । ३ दिनभित्र ती महिलाका आमा र बाबु दुवैको मृत्यु भयो । उनका बाबुको अहिलेसम्म अन्तिम संस्कार नै भएको थिएन । अब उनले अन्त्येष्टि पर्खिनु थियो । अहिलेसम्म अन्त्येष्टि भएको थिएन । म बाहिर आएँ ।

अरू कल आउन सुरू भयो । एकपछि अर्को कल आइरहेको थियो । मैले आफ्नो दशौं कल पूरा गरिसकेको थिएँ ।

प्लिज केही गर्नुहोस् ! तर हामीले केही गर्न पाएनौँ

यो एक एसियाली परिवार थियो । उनको परिवार उनीहरूका काकाको पनि मृत्यु भइसकेको कुरा पत्याइरहेकै थिएन । उनी मलाई केही गरिदिनुहोस्, अस्पताल लगिदिनुहोस् भनेर चिच्याइरहेकी थिइन् । मैले उनीहरूलाई केही गर्न नसक्ने जानकारी गराएँ । अस्पतालले बाँच्ने अवस्थामा नरहेका मानिसहरूका लागि कुनै मेहनत गर्दैन ।

एकै दिनमा १२ मृत्यु देख्दा

हामीले १० परिवारलाई हामी बिरामी बचाउन नसक्ने जवाफ दिनुपरेको थियो । मैले अनौठौ दुःख महसुस गरिरहेको थिएँ । मैले मेरो पूरै करिअरमा यस्तो देखेको थिइनँ । म आफैँ भावनात्मक रूपले टुटिसकेको थिएँ । म केही बेर डाक्टरसँग बसेँ । फेरि मैले स्वीच थिचेँ । रातको साढे ९ बजिसकेको थियो ।

आधा घन्टामा मेरो ड्युटी सिफ्ट सकिनेवाला थियो । तबसम्म एक कल आयो । त्यही हृदयाघात, ज्वरो र रूघाखोकी थियो । म काममा लागेँ । हामीले १२औं परिवारलाई पनि त्यही जवाफ फर्कायौँ, ….हामी केही गर्न सक्दैनौँ ! म यति लाचार कहिल्यै भएको थिइनँ ।

परिवार र सहयोगी चिन्तित

अन्तिममा म घर जान निस्किएँ । म एक्लो छु र मेरा सन्तान कोही छैनन् । पहिलो पटक मलाई एक्लो छु भन्ने सम्झिएर खुसी लाग्छ । मेरा कारण मेरो परिवारमा संक्रमण हुने खतरा त छैन । तर, अरू मानिस चिन्तामा छन् । म यस्तो पेसामा छु, जहाँ बिरामी हुन सकिन्छ र संक्रमणापछि मर्न पनि सकिन्छ ।

मेरो टोलीका सदस्य पनि बिरामी हुन सकिन्छ र मर्न पनि सकिन्छ भन्ने चिन्तामा छन् । केही मानिसहरूबारे मलाई थाहा छ कि उनीहरू भाइरस घरसम्म नपुगोस् भन्नका लागि कारमै सुत्छन् । म १६ वर्षदेखि थेरापिमा छु ।

म बौद्ध धर्मावलम्बी भएकाले ध्यान गर्दछु । तर, मलाई अहिलेको अवस्थाबाट पार पाउन कठिन भइरहेको छ । यस प्रकारको भावनात्मक धक्का लामो समयसम्म मनमा रहन्छ । यस्तो अवस्था पूरा शहरमा छ ।

(न्युयोर्कको अवस्थाबारे सिनियर प्यारामेडिक एन्थोनी अलमोरेजाको बीबीसीमा प्रकाशित अनुभूतिको केशरमणि कटुवालले गरेको भावानुवाद)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार