
उत्तर कोरियाले दक्षिण कोरिया र आफूबीचको संवादका सबै ढोका बन्द गर्न लागेको जानकारी दिएको छ ।
यसमा दुई देशका नेताबीचको हटलाइन पनि समावेश छ । दक्षिण कोरियालाई ‘दुश्मन’ बताउँदै उत्तर कोरियाले यो उसको पहिलो कारवाही भएको जानकारी दिएको छ ।
उत्तर कोरियाका सीमामा रहेका शहर कएसोङमा बनाएको सम्पर्क कार्यालय पनि बन्द गरिनेछ । सन् २०१८ मा कुराकानीपश्चात् दुई देशले तनाव कम गर्नका लागि यो कार्यालय स्थापित गरेको थियो ।
सन् १९५३ मा कोरियाली युद्धको समाप्तिपछि दुई देशबीच कुनै शान्ति सम्झौता भएको छैन तसर्थ प्राविधिक रुपमा दुई देशबीच अहिले पनि युद्ध जारी छ ।
उत्तर र दक्षिणबीच बनाइयो सम्पर्क लाइनः
उत्तर कोरियको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार उत्तर कोरिया ‘पूर्ण रुपमा उत्तर र दक्षिणबीच बनाइएको सम्पर्क लाइन तोड्दै बन्द गरिरहेको छ जुन उत्तर–दक्षिणको संयुक्त सम्पर्क कार्यालयको माध्यमबाट गरिएको थियो । यसलाई ९ जून २०२० को दिउँसो १२ बजेदेखि बन्द गरिनेछ ।’
उत्तर कोरियाले सैन्य सञ्चारको च्यानल पनि बन्द गरिने बताएको छ ।
कोभिड–१९ महामारीका कारण लागू गरिएको प्रतिबन्धका कारण सम्पर्क कार्यालय जनवरीमा अस्थाई रुपमा बन्द गरिएको थियो । यद्यपि, दुई देशबीच फोनमार्फत् सम्पर्क जारी थियो ।
दुई देशबीच कार्यालयबाट बिहान ९ बजे र बेलुकी ५ बजे दुई पटक फोनवार्ता हुने गर्दथ्यो ।
सोमबार दक्षिण कोरियाले २१ महिनामा पहिलो पटक बिहानको फोनको जवाफ नदिएको जानकारी दियो । यद्यपि, दिउँसो भने सम्पर्क भएको थियो ।
किम जोङ उनकी बहिनीले दिइन् धम्की
केसीएनएले भनेको छ, ‘हामी यो निष्कर्षमा पुगेका छौं कि दक्षिण कोरियाली प्रशासनसँग आमनेसामने बसेर कुनै मुद्दामा कुराकानी गर्न आवश्यक छैन किनभने उनीहरुले हामीलाई सधैं निराश नै बनाएका छन् ।’
उत्तर कोरियाका शीर्ष नेताकी बहिनी किम यो–जोङले गत हप्ता दक्षिण कोरियाका भगौडा समूहको पर्चा उत्तर कोरियामा आउन नरोकिएसम्म कार्यालय बन्द गर्ने धम्की दिएकी थिइन् ।
उनका अनुसार पर्चाको अभियान एक शत्रुतापूर्ण व्यवहार हो जुन सन् २०१८ मा दक्षिण कोरियाका मून जे–इन र किम जोङ उनबीच भएको शान्ति सम्झौताको उल्लंघन हो ।







