
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको अर्थतन्त्र ऐतिहासिक रूपमा २४ प्रतिशतले संकुचनमा गएको छ।
अप्रिलबाट सुरु हुने भारतको आर्थिक वर्ष २०२०–२१ को जुनसम्मका तीनमध्ये दुई महिनामा लकडाउन रहेकाले अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले खुम्चिएको त्यहाँको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ।
भारतमा अर्थशास्त्रीहरूले चालू आर्थिक वर्षमा भारतको अर्थतन्त्र १० प्रतिशत हाराहारीमा खुम्चने अनुमान गरेका छन्। तर, पहिलो त्रैमासको यो संकुचन अनुमानितभन्दा धेरै हो। अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये सबैभन्दा गम्भीर प्रभाव निर्माण क्षेत्रमा परेको देखिएको छ।
भारतको निर्माण क्षेत्र पहिलो त्रैमासमा ५० दशमलव ३ प्रतिशतले खुम्चिएको छ। त्यस्तै, व्यापार, होटेल, यातायात र सञ्चार क्षेत्र ४७ प्रतिशतले खुम्चिएका छन्। उत्पादनमूलक क्षेत्र ३९ दशमलव ३ प्रतिशतले खुम्चिएको छ।
‘यो वर्ष २४ प्रतिशतले कुल गार्हस्थ उत्पादनमा कमी आउँदा कर राजस्व पनि तीव्र रूपमा घट्ने देखिन्छ,’ इवाई इन्डियाका प्रमुख नीति सल्लाहकार डिके श्रीवास्तवलाई उद्धृत गर्दै द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। तर, कृषि क्षेत्रले भने भारतको अर्थतन्त्रलाई भरथेग गरिरहेको छ। कृषि क्षेत्र पहिलो त्रैमासमा ३ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांक कार्यालयले जनाएको छ।
सोमबार सार्वजनिक तथ्यांकअनुसार अर्थतन्त्रका प्रमुख आठ क्षेत्रहरू जुलाईमा नौ दशमलव ६ प्रतिशतले खुम्चिएका छन्। यी क्षेत्र अघिल्लो महिना जुनमा १२ दशमलव नौ प्रतिशतले खुम्चिएका थिए। तर, जुलाईसमेत गरेर ती क्षेत्रहरूले लगातार आठ महिना संकुचनको सामना गरेको तथ्यांकले देखाएको छ।







