
गरीब झन्झन् निर्बल भएका छन् । शहीद परिवारको कन्तबिजोग छ । घाइते- ठुटो शरीर दुखेर निदाउन समेत सकिरहेको छैन । वेपत्ताका परिवारजनले आफन्तको स्थिति थाहासम्म नपाई १५ बर्ष बितेको छ ।
नयाँ संसार बनाउने सपनाको पछि कुदाएर लड्न हिँडाइएकाहरु निरास छन्, विक्षिप्त छन्, जीवन चलाउन नसकेर बेहाल छन् । अरबमा वालुवा चालिरहेका छन्, भारतमा पाले बनिरहेका छन् । समग्रमा नेपाली समाज बिग्रह र विघटनको निरासामा जकडिएको छ ।
डेढ तोला सुन र डेढ कट्ठा जमिन पार्टीकरण गरेर मानिसलाई मृत्यु यात्रामा कुदाएका प्रचण्डहरुलाई हेर्नुस् के छैन ? देशको सर्वाधिक धनाढ्यको भन्दा भब्य जीवनशैली छ । छोरी मेयर । छोरी पिए । बुहारी मन्त्री । ज्वाई सल्लाहकार । सुविधाको पद भोग्ने नातेदारहरुको लाम । भान्जालाई ग्याँस कम्पनी । शिविर घोटाला । बर्षौं लडेर सपनाको थाक्रोमा फलेको फल प्रचण्डहरुलाई बुझाएर घर फर्कन लागेका जनसेनालाई राज्यले दिएको रकम समेत खोसेर कुम्ल्याउने काम ।
जनतालाई निरासै निरासा । प्रचण्डहरुलाई फलिफापै फलिफाप ।
यताका दिनमा प्रचण्डले कहिल्यै बैठकमा जनताको पिरमर्का, देशको अवस्थालाई लिएर नेकपाको बैठकमा कुरा उठाएको सुनिएको छ रु मेरो मान्छे मन्त्री भएन तेरो मात्रै भयो । मेरो मान्छे राजदूत भएन तेरो मात्रै भयो । मैले फलानो नियुक्तिमा कोटा पाइन तैंले मात्रै गरिस् । म प्रधानमन्त्री हुन पर्यो तँ मात्रै भएर भएन । पार्टीको अधिकार तँमा मात्रै गयो, मेरो पद पनि बलियो हुनुपर्यो । यही होइन प्रचण्डको आफु केन्द्रित राँगो रुवाई बितेका कैयन समय यता !
सेक्टर काण्डमा कमरेड किरणले राजीनामा दिएर महामन्त्री भएदेखि यताको सारा समय प्रचण्डले आफुमा पद, शक्ति, पैसा र सत्ता कसरी केन्द्रित गर्ने भन्दा अरु कुनै कुरामा लगाएको देखिन्छ ? उनी ती चिज प्राप्त गर्न मानिसको जीवनमाथि समेत जुवा खेल्न लाज मान्दैनन् भन्ने घटनाक्रमले पुष्टि गरेन ?
जो सारा बलिदानलाई पद, सत्ता, शक्ति, पैसामा जोखेर बेचिखान हिच्किचाउँदैन, उसको विधिविधानको गफ मानिसले पत्याउने अझै ? प्रचण्डको आजको सारा राँगो रुवाई ओलीले एक्लै खाए, मेरो भाग लागेन भन्ने मात्र हो । बाँकी त सब भन्ने कुरा न हो ।
खान, देश लुट्न, जनतालाई बेवकुफ बनाउन घिउ बेचुवा र तरवार बेचुवाबिच भएको एकता टुटेर के घाटा देशलाई, जनतालाई ? जुटेर के फाइदा भएको थियो ? फाइदाका लागि जुटेका बनियाहरु फुट्छन् भनेर भ्रम दिने प्यादाहरुको पछि लागेर के को रुवाबासी हो दुनियादारहरु ?







