अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति पदमा विजयी गराउन पर्दापछाडिका रणनीतिकार हुन् पूर्वराष्ट्रपति बाराक ओवामा ।

ओवामाको दुवै राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेर उनको विश्वास जितेका बाइडेनले ओवामाको साथ नपाएको भए सम्भवतः अन्तरपार्टी प्रतिस्पर्धाबाटै धेरै अघि नै बिदा हुनुपर्थ्यो ।

अमेरिकी राजनीतिक परम्परामा अवकाशपछि राष्ट्रपति कुनै राजनीतिक भूमिकामा रहँदैनन् । सेवानिवृत्त राष्ट्रपतिहरू पुस्तक लेख्ने, कलेज तथा विशेष समारोहहरूमा भाषण गर्ने, आफ्नो नाममा पुस्तकालय र संग्रहालय बनाउने जस्ता काममा लाग्छन् । परिवारसँग आनन्दको जीवन बिताउँछन् ।

ओवामा पनि ह्वाइट हाउसबाट बिदा भएसँगै आनन्दले जीवन बिताउने योजनामा थिए । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो सम्भावित उत्तराधिकारी हिलारी क्लिन्टनको नाटकीय हार र राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आश्चर्यजनक विजयले ओवामाको राजनीतिक सक्रियतामा विश्राम लिने योजना रोकिदियो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावले ओवामालाई राजनीतिको ठूलो झड्का दियो । ट्रम्पको उदयसँगै वाम झुकाब राख्ने कट्टरपन्थी डेमोक्रेट या कट्टरपन्थी रिपब्लिकनले अमेरिकी राजनीतिक मूल्यमान्यता नै अपहरण गर्नसक्ने भयले ओवामा अन्य राष्ट्रपतिभन्दा अपवाद बनेर रहे ।

ट्रम्पको विजयसँगै अमेरिका र विश्वभर विनाशकारी धक्का पुग्न थालेपछि ओवामाको सक्रियता बढ्यो । ओवामाकालका कयौँ महत्वपूर्ण विदेश नीतिमा रोकावट हुँदा र अन्तर्राष्ट्रिय सम्झौताहरूबाट अमेरिका बाहिरिँदा अन्तर्राष्ट्रिय जगतमा अमेरिकी नेतृत्वमात्रै गुमेन, अमेरिकाको विश्वसनियता पनि गुम्यो ।

ह्वाइट हाउस छोडेसँगै ओवामा ट्रम्पको अराजक प्रशासनमा ब्रेक लगाउने रणनीतिमा लागे जुन सन् २०१८ को मध्यावधि निर्वाचनमा अमेरिकी सदन/सिनेट र २०२० को राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवारलाई जिताउने अभिप्राय थियो ।

सन् २०२० मा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका लागि २९ जनाले अन्तरपार्टी उम्मेदवारी घोषणा गरेका थिए ।

यतिधेरै आकांक्षीहरूको दौड आधा शताब्दी यता अमेरिकी इतिहासमा कहिल्यै देखिएको थिएन । सबै आकाङ्क्षीहरू अन्तरपार्टी विजयका लागि जम्मा ३९७९ मतमध्ये निर्णायक मतमा पूर्वराष्ट्रपति ओवामाले प्रभाव पार्न सक्छन् भन्ने बुझाइले उनको समर्थन खोजिरहेका थिए ।

ओवामा डेमोक्रेटिक पार्टी र सम्भाव्य नयाँ युवा मतदाताहरूमा मार्गदर्शक राजनेता बनिसकेकाले पार्टीका आकाङ्क्षी नेताहरूले दौडधुप गरेर ओवामाको आशीर्वाद लिन हतारो गरेका थिए । ओवामा अन्तरपार्टी प्रतिस्पर्धामा खुलेर नदेखिए पनि सावधानीका साथ आफ्नो संयन्त्र चलाइरहेका थिए ।

अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेन र कमला ह्यारिस ।

बाइडेन पछिल्लो दशककै सबैभन्दा धेरै महिला तथा प्रभावशाली प्रतिस्पर्धीलाई पछि पारेर झण्डै २ हजार डेमोक्रेटिक प्रतिनिधिको मत सुरक्षित गर्दै पार्टीको राष्ट्रपतीय उम्मेदवार बन्न सफल भए । कोरोना भाइसरको महामारी, कठिन अर्थतन्त्र, बढ्दो बरोजगारी र नागरिक आन्दोलनको पृष्ठभूमिमा अघि बढिरहेको चूनौतीपूर्ण आन्तरिक चुनावमा पर्दापछाडिबाट ओवामाको प्रभावले बाइडेन पार्टीको उम्मेदवार बने ।

ट्रम्पलाई सत्ताच्युत गर्न सन् २०१६ देखि नै कटिबद्ध ओवामा आफ्नै निकटस्थ उम्मेदवार बाइडेनलाई जिताउन सम्पूर्ण रणनीति र संयन्त्रसँगै आफै मैदानमा उत्रे ।

अमेरिकी राजनीतिमा ४८ वर्षदेखि सक्रिय बाइडेनको आफ्नै इतिहास, महत्व र विभिन्न पदहरूको जिम्मेवारी समालेको अनुभव भए पनि मतदाताको मानसिकता हेरेर अघि बढ्ने ट्रम्पको आक्रामक प्रचारको सामना गर्नसक्ने क्षमता भने थिएन ।

ट्रम्पलाई सत्ताच्युत गर्न सन् २०१६ देखि नै कटिबद्ध ओवामा आफ्नै निकटस्थ उम्मेदवार बाइडेनलाई जिताउन सम्पूर्ण रणनीति र संयन्त्रसँगै आफै मैदानमा उत्रे । डेमोक्रेटिक पार्टीका प्रतिस्पर्धी बाइडेन भए पनि पर्दापछाडिको सम्पूर्ण रणनीतिकार भने ओवामा नै थिए ।

ओवामा डेमोक्रेटमा मात्र नभएर तटस्थ मतदाताहरूका बीचमा पनि धेरै लोकप्रिय नेता हुन् । उनले अन्य नेताको तुलनामा अझै पनि राजनीतिक माहोल तताउन सक्छन् । भाषणले धेरैलाई आकर्षण गर्न सक्छन् । ओवामाले आफ्नो राजनीतिक कला, अनुभव, सामाजिक सञ्जाल, मिडिया र सामथ्र्य निकै सावधानिका साथ प्रयोग गरे ।

सामाजिक सञ्जाल र मिडियामा आफू सिधै नजाने र मतदाताका बीचमा जाने रणनीति बनाए । यसो गर्नुमा उनको रणनीतिक राजनीतिक उद्देश्य लुकेको थियो । राष्ट्रिय टेलिभिजन र ठूलो सभामा जाँदा ट्रम्पको निशानामा पर्ने र बाइडेनको अभियानमा अप्ठेरो पर्ने भयका कारण उनी मतदाताका बीचमै माहोला सिर्जना गर्ने अभियानमा लागे ।

लापरवाही ढङ्गले चलिरहेको ट्रम्पको चुनावी अभियान चीन र ओबामाका नीतिहरूको चर्को आलोचनामा केन्द्रित थियो । ट्रम्प ओवामाले चीनलाई रोक्न नसक्दा अमेरिका सङ्कटमा परेको सन्देश प्रवाह गरिरहेका थिए । ओवामा कार्यकालमा अमेरिकी महानतामाथि प्रहार भएको भन्दै ओवामाका नीतिहरू उल्टाइरहेका थिए ।

ट्रम्पको विपरीत ओवामा खासगरी असन्तुष्ट रिपब्लिकन कार्यकर्ताहरूलाई हातमा लिने अभियानमा सावधानीपूर्वक लागे । उनी ट्रम्पको ध्यानाकर्षण गर्नेतर्फ नजानुमा अर्को कारण ट्रम्पको आक्रामक रबैया र गालीगलौजले आफ्नो उत्तराधिकारी बाइडेनको चुनावी यात्रा कमजोर नहोस् भन्ने थियो ।

ओवामाले बाइडेनलाई समर्थन गरेको भिडियो सामाजिक सञ्जालमा २ करोड ६० लाखभन्दा बढीले हेरेसँगै २५ लाख अमेरिकी डलर आम्दानी भएको थियो । ओवामाको चुनावअघि नै बाइडेनलाई भोट गर्न आह्वान गरेको भिडियो सन्देशले २ करोड ५० लाखलाई अग्रिम मतदानमा प्रेरित गरेको थियो ।

उनले पार्टीको भोटिङ रजिस्ट्रेसनका लागि स्न्यापच्याटबाट जारी गरेको भिडियो सन्देश २ हप्ताभित्रै ५ करोड ७० लाखमा पुगेको मात्र थिएन, पार्टीले २० हजार नयाँ मतदाता प्राप्त गरेको थियो । त्यस्तै, चुनावको दिनभन्दा अघि मत हाल्न आह्वान गरेको सन्देश १ करोड २० लाख अमेरिकीले हेरे । यसबाट पार्टीले २० हजार नयाँ मतदाता प्राप्त गर्‍यो ।

ओवामाले बाइडेनको चुनावी अभियानलाई नयाँ गति र ऊर्जा दिए । सामाजिक सञ्जाल, भिडियो सन्देश, र्‍याली, म्यासेज र टेलिफोनमार्फत बाइडेनको पक्षमा माहोल बनाए । यस अभियानले चुनावका लागि चन्दा पनि सङ्कलन गर्‍यो ।

ओवामाले आफ्नै तरिकाले चुनावी अभियानका लागि विभिन्न राज्यहरूमा कार्यालय सञ्चालन गरेका थिए । यसले चुनावी अभियानमा नयाँ ऊर्जा ल्यायो । बाइडेनको अभियानलाई साथ दिन ओवामाले वासिङ्टनमा खोलेको चुनावी अभियानको कार्यालय सामाजिक सञ्जालमा खोजेर हेर्नेको संख्या ३ दिनभित्रै २ करोड ५० लाख पुगेको थियो । बाइडेनको चुनावी अभियानमा सहयोग गर्ने भन्दै ४० हजारभन्दा बढीले आवेदन हाले ।

ओवामाले बाइडेनको चुनावी अभियानलाई नयाँ गति र ऊर्जा दिए । सामाजिक सञ्जाल, भिडियो सन्देश, र्‍याली, म्यासेज र टेलिफोनमार्फत बाइडेनको पक्षमा माहोल बनाए । यस अभियानले चुनावका लागि चन्दा पनि सङ्कलन गर्‍यो ।

ओवामामार्फत सङ्कलित रकम बाइडेन प्रत्यक्ष सहभागी भएको भन्दा धेरै भयो । ओवामा आफैँले मतदाताहरूलाई टेलिफोन गरेर बाइडेनलाई मतदान गर्न आग्रह गरे । उनले तटस्थ तथा व्यावसायिक संस्थाहरू पनि परिचालन गरे ।

ओवामाले उत्साही भिडहरूलाई ऊर्जा दिए । आफ्नै सक्रियतामा साना दाताहरूबाटै १० करोड अमेरिकी डलरभन्दा बढी चन्दा बाइडेनलाई संकलन गरिदिए । उनले रणनीतिक रूपमै रिपब्लिक बाहुल्य क्षेत्रहरूमा आफ्नो सक्रियता बढाए । जस्तै, जर्जिया लगायतका क्षेत्रमा मतदाताको मानसिकता बुझी ट्रम्पसँग टाढा बनाउने अभियान चलाए । यो रणनीति धेरै हदसम्म सफल भयो ।

शिकागो लगायतका शहरहरूमा ओवामाको टेलिफोन र म्यासेजले धेरै युवाहरूलाई डेमोक्रेटिक पार्टीमा मतदान गर्न अभिप्रेरित गरेको थियो ।

ट्रम्पले आफ्नो कार्यकालमा भएका सम्पूर्ण अनुसन्धानको पर्दापछाडि ओवामा रहेको, राज्यका संयन्त्रहरू आफूविरुद्ध प्रयोग गरेको, गुप्तचरनिकायहरू प्रयोग गरी आफूलाई काम गर्न नदिएको ठानेका थिए । ट्रम्पलाई ओवामाको बाह्य नेताहरूसँगको सम्बन्ध र चर्चा पनि मन परेको थिएन । त्यसैले उनले ओवामा कार्यकालका धेरै बहुराष्ट्रिय सम्झौताहरूबाट अमेरिकालाई हटाए ।

ट्रम्प आफ्ना पूर्ववर्ती ओवामाले आफूविरुद्ध वैमनस्य राखेकैले चुनावमा रुसी संलग्नता र त्यसपछिको सम्पूर्ण गतिविधिमा ओवामाको हात रहेको देख्थे । ट्रम्पले धेरैपटक ओवालाई सार्वजनिक बदनाम गर्ने र तुच्छ टिप्पणी लेख्ने गरिरहे । ओवामा भने ट्रम्पसँग सार्वजनिक जुहारीमा आएनन्, बरु चुनावबाटै पदच्युत गराउने मौका कुरिरहे ।

ट्रम्पको इरान आणविक सम्झौता, पेरिस वातावरण सम्झौतामा ओवामा वक्तव्यवाजीमा पनि उत्रेनन् । सामाजिक सञ्जालमा सार्वजनिक झगडा गरेनन् र प्रतिक्रिया पनि दिएनन् ।

यसपटकको चुनावमा पनि ट्रम्पले ओवामा आफूलाई हराउन सक्रिय हुन्छन् भन्ने त ठानेका थिए तर त्यो सफल नहुनेमा विश्वस्त थिए । उनी बाइडेनसँग भन्दा ओवामासँगै त्रस्त थिए ।

ट्रम्प आफू निर्वाचित भएदेखि नै ओवामाको लोकप्रियता र राज्य संयन्त्रमा उनको पकडले विचलित थिए । ट्रम्प युरोपेली साझेदारहरूसँग पनि ओवामाको जस्तो व्यक्तिगत सम्बन्ध नबन्नुमा पर्दापछाडि ओवामाले नै खेलिरहेको ठान्थे । आफ्नो निर्णय साझेदारहरूले नमान्दा पनि ओवामालाई नै सहयोग गरेको बुझ्थे ।

ट्रम्पले कार्यकाल समालेको सुरुवातदेखि नै उनले ओवामासँग विवादास्पद व्यवहार गर्न थाले । आफूप्रति बफादार हुन गरेको आग्रह अस्वीकार गरेपछि ओवामाले नियुक्त गरेका एफबीआई प्रमुखलाई हटाइदिए । ओवामानिकट नेताहरूको अन्य देशहरूको भ्रमणमा समेत आफूविरुद्ध षड्यन्त्र भएको ठान्थे । खासगरी फ्रान्स, जर्मनी र क्यानाडाले बेवास्ता गर्नुमा ओवामाको भूमिका देख्थे ।

विचारधारा र स्वभाव फरक भए पनि पूर्वराष्ट्रपतिलाई सम्मान गर्ने चलन पनि ट्रम्पले अन्त्य गरिदिए । राजनीतिक संस्कार धुमिल पारिदिए । रिपब्लिक राष्ट्रपति जर्ज बुशले आफ्नै बुबालाई चुनावमा हराउने डेमोक्रेटक राष्ट्रपति बिल क्लिन्टनको राहत वितरणमा साझेदारी गरेका थिए । क्लिन्टनसँग व्यक्तिगत सम्बन्ध राम्रो बनाउने र सम्मान गर्ने गरिरहे ।

ओवामाले बुशका धेरै नीतिहरू परिवर्तन गरे । उनको इराक र अफगान युद्ध मन पराएनन् । अमेरिकी आर्थिक संकट निम्तिनुमा दोषी महसुस गरे तर सार्वजनिक रूपमा कहिल्यै व्यक्त गरेनन् । बरु केही राय नै लिइरहे ।

ओवामाको लोकप्रियता मन नपराउने ट्रम्पले लामो समयदेखि व्यक्तिगत इख लिइरहेका थिए । सन् २०१० मा ट्रम्पले ओवामा अमेरिकामा जन्मेका होइनन्, उनको जन्मको प्रमाणपत्र चाहियो भन्दै अभियान चलाएका थिए । सन् २०११ मा ओवामाले ट्रम्पसहितलाई निम्ता गरेको भोजमा ट्रम्पको खिल्ली उडाइदिए । सबैका अगाडि खिल्ली उडाएको झोँकमा ओवामासँगको ट्रम्पको इगो बढेर गयो अनि आफू राष्ट्रपति बन्ने अभियानमा सामेल भए ।

यसपटकको चुनावमा पनि ट्रम्पले ओवामा आफूलाई हराउन सक्रिय हुन्छन् भन्ने त ठानेका थिए तर त्यो सफल नहुनेमा विश्वस्त थिए । उनी बाइडेनसँग भन्दा ओवामासँगै त्रस्त थिए । मौका कुरिरहेका ओवामा यसपटक ट्रम्पसँग राम्रै बदला लिन सफल भए ।

ओवामाकै रणनीतिक सक्रियतामा ट्रम्प अमेरिकी इतिहासमा दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालका लागि चुनाव गुमाउने तेस्रो राष्ट्रपति बन्न पुगे । चुनावी अभियानमा मात्र होइन, आफ्नो कार्यकालभरि नै ट्रम्पले ओवामाका नीतिहरू उल्टाउने र उनलाई अपमान गर्ने काम गरेका थिए । यसको राजनीतिक बदला लिन ओवामा निकै सक्रियताका साथ लागेका थिए ।

चार वर्षको अथक प्रयासपछि ओवामाले आफ्नो उम्मेद्वारलाई जिताएर ट्रम्पको अङ्हकार र आडम्बर ध्वस्त बनाइदिए । बाइडेनको आगमनसँगै ओवामा आफ्नै पदचापमा नयाँ प्रशासन चल्ने र उल्टिएका उनका नीतिहरू पुनस्थापित हुनेमा ढुक्क भएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार