चीनबाट राष्ट्रपति सि चिन फिङ र प्रधानमन्त्री लि खछ्याङपछिका शक्तिशाली पदाधिकारी रक्षामन्त्री वेइ हेङ्फे आइतबार नेपालको द्रूत भ्रमणमा आए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरे । तर, सत्तारुढ दलकै अध्यक्ष, त्यसमा पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध भएको पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले भेट गर्न पाएनन् ।

केही दिनअघि मात्र उनले भेटको वातावरण बनाउन नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीसमक्ष अनुरोध गरेका थिए । त्यतिले नपुगेर चीनसँग राम्रो सम्बन्ध भएका सभामुख अग्नि सापकोटा र उनका छोरा परराष्ट्र अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटा, चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के र लीलामणि पौड्याल समेतलाई परिचालन गरेका थिए । तर, चिनियाँ उच्च पदाधिकारीसँग भेटवार्ता गर्न प्रचण्ड सफल भएनन् ।

अझ भनौँ, चिनियाँले प्रचण्डसँग भेटघाट गर्न आवश्यक वा औचित्यपूर्ण ठानेनन् । अर्थात्, नेकपाका अध्यक्ष भए पनि प्रचण्ड चिनियाँ नजरमा भेटका लागि लायक भएनन् । अब प्रचण्डबिनै पनि चीनले नेपाल सम्बन्ध सञ्चालन गर्न सक्छ भन्ने सन्देश रक्षामन्त्रीको भ्रमणबाट स्पष्ट भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार